Monday, April 20, 2015

अभिभावक गुमाएकै हो माओवादीले ?

मृत्युमा कोही पनि भावनारहित निष्ठुर हुन सक्दैन, तर इतिहासबोध भनेको निर्मम हुने गर्छ। त्यो कुरा सूर्यबहादुर थापाको मृत्यु सन्दर्भमा पनि लागू हुन्छ। सोच्न पुग्छु- खोकु-छिन्ताङ आँखीसल्लाका १५ परिवार, मुसुरियाका आठ र दोरम्बाका २१ परिवारले कसरी सम्झिए होलान् ! त्यसैबेला डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री थापाको मृत्युलाई अभिभावक गुमाएको रूपमा लिए। अझ दिनानाथ शर्माले एक कदम अगाडि बढेर थापालाई सधैंका प्रेरणाका स्रोत भन्नसमेत लजाएनन्। त्यसमा कति कूटनीतिक भाव थियो, कति राजनीतिक र कति कम्युनिस्ट विचारकेन्द्रित रह्यो? के माओवादीले एउटा अभिभावक र सधैंको प्रेरणाको स्रोत गुमाएकै हो त ! माक्र्सवादी विश्व दृष्टिकोणमा वर्ग पक्षधारिता पहिलो प्रश्न हुन्छ। तर राजनीति र कूटनीति कुनै गणितीय सूत्रमा चल्दैनन्। ती समय, परिस्थिति र शक्तिसन्तुलनले तय गर्ने, त्यसैअनुसार चालिने आवश्यकताले निर्धारण गरेको कलामय भूमिका मात्र हुने गर्छ। के डा. भट्टराई र शर्माका भनाइ एउटा औपचारिक श्रद्धाञ्जली वा कूटनीतिक अभिव्यक्ति मात्र थिए त? त्यसभित्र सिद्धान्त, दर्शन, राजनीति र इतिहासको स्मरण केही थिएन र? थापालाई फर्केर हेरौं पाँचौंपटक थापा प्रधानमन्त्री भइसकेपछि दोस्रो शान्तिवार्ता जटिल बनिरहेको थियो। केही विश्वास, केही समझदारी र केही सकारात्मक पहल लिएका लोकेन्द्रबहादुर चन्दलाई विस्थापित गर्दै थापा सरकार बनेलगत्तै ०५८ असार १२ गते भोजपुर, कुलुङका अनिल गुरुङको हत्या र हापुरे वार्ताको अनौपचारिक तयारी र अभ्यास भइरहेको थलो नेपालगन्जनजिकै साउन २५ गते कैलालीको मसुरियामा आठजना माओवादीको हत्या भयो। त्यसले आशालाई निराशातर्फ र परिणामलाई आशंकामा धकेलिरहेको थियो नै। ०५८ भदौ १ गते वार्तास्थल दाङको हापुरेमा अघिल्लो दिनभन्दा त्यस दिन वातारवरण एकाएक फेरियो। सादा पोसाकका मान्छेका चाल, चलन र चेहराले भिन्नै जनाउ दिइरहेका थिए। हामीसँग सञ्चारसाधन थिएन। अघिल्लो दिन साँझै माओवादी वार्ताटोली प्रमुख डा. भट्टराईसँगै झन्डै तीन किलोमिटर पश्चिम गएर बाहिरी सम्पर्क जोडिएर फर्केका थियौं। त्यस दिन पनि निर्धारित समयमै नेपालगन्जबाट सरकारी वार्ताटोली र सहजकर्ता हेलिकोप्टरबाट हापुरे पुगे, तर उनीहरूको देहभाषाले भने नयाँ सन्देश दिइरहेको थियो। नियमित औपचारिकता निर्वाह गरेर खानापछि वार्ता सुरु भयो। हापुरे श्वेतभवनभित्र वार्ता चलिरहँदा एकाएक रेडियोबाट समाचार सुनियो- रामेछाप दोरम्बामा सेनाले माओवादी नेता बाबुलाल लामा, अम्बिका दाहाललगायत २१ जनाको हत्या गरेको कुरा। घटनाबारे लेखेर एउटा चिट डा. भट्टराई र कृष्णबहादुर महरालाई पठाएँ। दोरम्बाका कारण दोस्रो शान्तिवार्ता टुटेको थियो। सरकारी वार्ताटोली कानुनी नेता डा. प्रकाशचन्द्र लोहनी भए पनि वास्तविक निर्णयकर्ता भने कमल थापा थिए। यसै पनि कम्युनिस्ट बैरी थापाको छिन्ताङ घटनाको दाग त उनीमाथि थियो नै, पाँचपटकको उनको प्रधानमन्त्रीकालमा कानुनी र गैरकानुनी राजनीतिक हत्याको लामो शृंखला रहेको छ। उनको पछिल्लो कालखण्ड दुईपटकको प्रधानमन्त्रीकालमा हजारभन्दा बढी माओवादी मारिएका छन्। प्रजातन्त्रीकरण अभ्यासमा ०३६ को जनमत संग्रहमा उनको अहं भूमिका अझ नजिकबाट नियाल्ने पञ्चनेता नवराज सुवेदीलिखित पुस्तक नै काफी रहन्छ। जनमत संग्रहमा बहुदल पक्षमाथिका आक्रमण र बीपी कोइरालाको आमसभामा हस्तक्षेप त उनकै बहीखातामा जान्छ। राजनीति र कूटनीति राजनीतिमा कूटनीति र औपचारिकता हुनु सामान्य कुरा हो। राजनीति सीधा नभई बक्ररेखामा यात्रा गर्छ। सरल र शिष्ट भाषामा गम्भीर र असहमतिका कुरा पनि भन्न सकिन्छ, गरिन्छ। राजनीति दर्शन, विचार र सिद्धान्तले निर्देशित गर्छ भने कूटनीति भनेको तत्कालको शक्ति सन्तुलनले दिशा-निर्देशन गर्ने दाउपेच, अभ्यासमा हुने गर्छन्। राजनीतिक वातावरण सपार्न जटिल अवस्था आयो भने त्यस्ता गम्भीर प्रकृतिका विषयमा मौन भएर वा औपचारिकतामा मात्र सीमित भएर पनि धेरै कुरा भन्न सकिन्छ, तर 'अभिभावक' र 'सधैं प्रेरणाका स्रोत' नै भन्नुपर्ने अवस्था माओवादी नेतृत्वमा अहिले कसरी जन्मियो? यो पक्ष भने वैचारिकरूपमै गम्भीर छ। हुन त सिद्धान्त, विचारको राजनीति अन्त्य भएर सुविधाको राजनीति र त्यसैअनुकूलको आचरण मौलाइरहेको बेला व्यक्त भएका यस्ता धारणा कति आपत्तिजनक छन्, संवेदनशील छन्? त्यसले समग्र संगठनको भूमिकामा पार्ने असर, वैचारिक मार्ग-निर्देशनमा पार्ने असर मूल्यांकन कसरी गर्ने भन्ने भिन्नै विषय हो। दुई अति दुवै अतिले कति खती हुन्छ भन्नेबारेमा इतिहास सम्झौं। वैचारिक शुद्धताको नाममा तत्कालीन चौथो महाधिवेशन अर्थात् अहिलेको माओवादी मूल स्कुलिङका तत्कालीन महासचिव निर्मल लामाले २०३६ मा मनमोहन अधिकारीको माक्र्सवादी, सहाना प्रधान नेतृत्वको पुष्पलाल समूहलगायत पाँच वाम पार्टीको आन्दोलनमा पञ्चायतविरुद्धको मोर्चा बनाएकोमा दक्षिणपन्थीसँग कार्यगत एकता भनेर आलोचना मात्र भएन, महासचिवबाट समेत हटाइयो पनि। लामाले एउटा अर्को प्रसंगमा नेपाली मनपर्ने नेतामा बीपी कोइराला भनेकोमा आलोचनासमेत खानुप:यो। अहिले त अर्को अति 'अभिभावक' र 'सधैं प्रेरणाका स्रोत' पो भन्न पुग्यो, महापञ्च खेलाडीलाई माओवादीले। कसरी बुझ्ने थापालाई? मृत्यु जीवन समीक्षा हो। मानिससँगसँगै रहने भनेको छाया मात्रै हैन, उसको पृष्ठभूमि नै मुख्य कुरा हो। छायालाई त प्रकाश चाहिन्छ तर पृष्ठभूमि भनेको जीवन समीक्षा बन्छ, जिउँदा पनि मर्दा पनि। जब एक मान्छे व्यक्तिमात्र नरहेर समयको संघारमा इतिहास पात्र पनि बन्छ, तब उसप्रतिका धारणा बेक्तिने पात्र र संस्थाको मूल्यांकन पनि हुने गर्छन्। भावनामा बगेर वा तत्कालीन राजनीतिले माग गरेको सुविधा र आवश्यकताअनुसारको धारणा बनाउन कसैलाई पनि अनुमति र छुट हुँदैन। नेपाली राजनीतिमा दिवंगत थापा एउटा सामान्य पात्र मात्र नभई उनी सातदशकको सत्ता राजनीतिको प्रवृत्ति र केन्द्र पनि भएकाले उनका मृत्युमा बेक्तिने भाव पनि राजनीतिक संस्कृतिमा सामान्य अर्थ मात्रै राख्दैन। माओवादी वा समग्र नेपाली कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आन्दोलनलाई दिवंगत थापाले के-कस्तो अभिभावकत्व दिए ! के र कसरी प्रेरणाका स्रोत बने? सत्ताबाहिर हुनेबित्तिकै 'विद्रोही' देखिने र सत्ता प्राप्ति हुनेबित्तिकै दमनकारी देखिने थापाको राजनीतिक संस्कति र प्रवृत्ति रह्यो। अझ नेपाली सत्ता चरित्रको आमूल परिवर्तन गर्ने संघारको यस संक्रमणकालको जटिल अवस्थामा थापाको मृत्युलाई कोकोहोलो छोड्नु भनेको कूटनीतिक कला वा औपचारिकता मात्र हुँदैन। जहाँसम्म मालीगाउँको पछिल्लो सक्रियता, जमघट व्यवस्थापन र सहमति खोज्ने भूमिका देखा पर्‍यो, त्यसैलाई आधार मानेर मात्रै उनलाई अभिभावक भन्न एउटा कम्युनिस्ट पार्टीले कसरी सक्छ? उनको सकारात्मक पक्ष भनेको पछिल्लो परिवर्तनलाई विनासर्त स्वीकार्नु हो। जे, जसको मृत्युले पनि एकातर्फ मानव हृदयलाई भावनामय बनाउँछ भने अर्कोतर्फ इतिहासका नायक वा खलनायकको निर्मम समीक्षा पनि गर्छ। इतिहासले चिहान खोजेर, खनेर नायकलाई प्रेरणा स्रोत बनाउँछ भने खलनायकलाई दण्ड दिने गर्छ। त्यसैले भनिने गरिन्छ- इतिहासले मान्छेलाई छोड्दैन। यो न मरेका मान्छेका कथा मात्र हुन्, न चिहानघारीको यात्रा। दिवंगत थापा एउटा व्यक्ति मात्र नभएर समकालीन नेपाली राजनीतिको सत्ता चरित्र हो, सामन्ती राजनीतिक प्रतिनिधि पनि। सूर्यप्रसाद उपाध्यायपछि साउथ ब्लकले सबभन्दा भरोसा गरेको पात्र। त्यसैले इतिहासको कठघरामा उभ्याएर उनीप्रतिको धारणा बनाउनुपर्ने हुन्छ। भावना र विचार कम्युनिस्टहरूले धारणा बनाउँदा वर्ग पक्षधारितालाई मुख्य आधारमा बनाउँछन्। अहिलेसम्मको उन्नत राजनीतिक दर्शन भनेको माक्र्सवाद हो। त्यसका प्रयोग अभ्यासका विभिन्न चरण र रूपमा देखा परे। कतिपय सिद्धान्तको शुद्धताभन्दा कलाविहीन अभ्यास पनि बने र भावना नभएको हो कि? यसले विचारलाई समाजीकरण गर्न चुकेको हो कि भन्ने पनि बहस चले। त्यसका समर्थन वा विपक्षका विर्मश नै दुई शताब्दीका क्रिया र प्रतिक्रिया हुन्। विज्ञानका आँखीझ्यालबाट जीवन र जगत् नियाल्ने एउटा चस्मा मात्र हो, माक्र्सवाद। विज्ञानका अनेकौं शाखाको विकाससँगै दर्शनलाई पनि उन्नत गर्नु दर्शनशास्त्री र समाजशास्त्रीका सामुन्नेका चुनौती हुन्। सामाजिक मनोविज्ञानलाई राजनीतिको व्यावहारिक अभ्यासमा बिर्सन पुग्दा कम्युनिस्ट आन्दोलनले ठूला-ठूला धक्का पनि व्यहोनुपरेको छ। पुरानै तरिकाले विकसित सामाजिक चुनौतीको हल हुन सक्दैन। विचाररहित राजनीतिक अभ्यास अन्धो बटुवाजस्तो भएर गन्तव्यहीन बन्न पुग्दा इतिहास भने सामने ठिंङ उभिएर प्रश्न गरिरहन्छ। यो जिउँदोमा मात्र नभई चिहान खनेर पनि प्रश्न तेस्र्याइरहन्छ। हिजाका भूमिकालाई वर्तमानमा सान्दर्भिक गराउँदै भविष्यलाई जवाफ दिइरहनुपर्ने हुन्छ। माओवादी वा समग्र नेपाली कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आन्दोलनलाई दिवंगत थापाले के-कस्तो अभिभावकत्व दिए ! के र कसरी प्रेरणाका स्रोत बने? कुनै पनि वैचारिक, सैद्धान्तिक, सांस्कृतिक प्रणेता मात्रै अभिभावक बन्न सक्छ र सो व्यक्तित्वको आदर्श पछ्याउने गरिन्छ भन्ने गम्भीर सैद्धान्तिक प्रश्न हो। सातदशकको नेपाली राजनीतिमा समेत उनले अग्रगमनलाई के योगदान दिए? समयले खोजेको यही जवाफ हो। - See more at: http://annapurnapost.com/News.aspx/story/10715#sthash.iOLcAYdt.dpuf

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home