Thursday, May 7, 2020

दशैँ : केही अनुभूति र केही अध्ययन

दशै सुरु भो । हिन्दूको दशैँ ठूलो पर्व भए पनि नेपाली र बंगालीको त यो महान चाड नै हो । दशैका विविध पाटापक्षबारे छलफल गरौं । दशैंका मेरा अनुभूति अनेक छन् । बाल्यकाल, युवापना, जनयुद्धकालीन, अभिभावकका दशैँ र समग्रमा भन्दा फेरिँदै गएका दशैँका एउटै पात्रका भिन्नाभिन्नै अनुभूति र अध्ययन हुने नै भए । उमेर, अध्ययन र अभ्याससँगै पर्वका अर्थ र महत्व पनि फेरिँदै जाँदा रहेछन् । हामी धर्मसँग यति आतङ्कित छौँ । त्यसको आविष्कार, औचित्य र आवश्यकताको कुरै गर्न पनि चाहँदैनौ । धर्मका उत्पत्ति, त्यसको सामाजिक महत्व र साँस्कृतिक सम्बन्धबारे खासै चर्चा हुँदैन । यस लेखमा त्यो गम्भीर र अत्यन्तै ठूलो विषयमा बहस नगरी सिधै दशैँबारे मात्र केन्द्रित हुनेछु । बाल्यकालका दशैंः कमेरोले पोतिएको घरले दशैँको साइत जनाउँथ्यो । लामकानेको देशबाट (तिब्बत) थाक्सेले (तिब्बती) हुलका हुल भेडाच्याङ्ग्रा ल्याउँथे । त्यो हिमनदी जस्तो भएर हुक्सेबाट झर्दै रबी, ओपी हुँदै ‘नेपाल’ लाग्थ्यो । पहाडी गाउँले, त्यसमा पनि गरिवा छोरो । ज्यादै धार्मिक थिएँ... । शक्तिरुपा नवदुर्गाको महाभक्त । चिच्याई चिच्याई बाबाआमालाई धार्मिक ग्रन्थ सुनाउनु पर्ने, भाका हालेर सिलोक सुनाउनुपर्ने गाउँलेलाई । थर्काइन्थ्यो...पाखापखेरा । टिलिक्क कमेरोले टल्काको हाम्रो घरमा भने दशैँ चिची र नाना बनेर मात्र भित्रिन्थ्यो । नयाँ नाना, चाम्ला भात, च्यूरा र चिची त चाडबाड नै कुर्नैपर्ने । दशैँमा चचहुई गरेर पिङमा हावासँग बात मारिन्थे । रोटे, चर्खे, लिङ्गे पिङमा पालो कुर्नु औधि सकस । चाडबाडमा पनि बस्तुभाउ ब्रत नबस्ने क्यार ... । घाँस र सोत्तर दशैँलाई साँचेरै राखिने गरिन्थ्यो । भक्कुको राँगोको कोतमा बलि, दौतरीसँगका भेट र राम रमितो जात्रा बन्थे । टीकाको दिन निधारभरि अक्षता, कानमा सिउरिने जमरा, खल्तीभरि दक्षिणा .....। फुर्केर साथीहरुलाई दक्षिणा र नयाँ लुगा देखाउनै हतारो । आफैँ हे¥यो, दंग...आफैँ मख्ख । पाहुनाहरुको भीड, टीका लाउन दौडादौड । संसारकै सबभन्दा धनी आफनै बाउ, सबभन्दा ठूली कथाकार आफनै आमा । ओहो ! मेरो बालापनका प्यारा दशैँ । खुशी बेचेर सुुख किन्ने यो जमानामा ती अभाव र तनावबीचका चाडबाडका खुशी सम्झदा ...। अरुको एक थोपा आँसु र एक थोपा रगत अंशमा नपार्ने हुक्सेली जेठालाई मैले मान्ने गरेका ३३ कोटी देवीदेउताले दया गरेनन्, तब तर्क शुरु हुन थाले । विश्वासभन्दा तर्कले उत्तर खोज्न थाल्यो । मान्छे जब के, कसरी र किनको उत्तर खोज्न थाल्दो रहेछ अन्धविश्वास भत्किँदै जाँदा रहेछन् । तब त दशैँकी नवदुर्गा पनि आराध्यदेवीबाट मनमस्तिकमा खस्कँदै गइन् । उमेर बढ्दै जाँदा जिज्ञासाले कुतकुति लगाउँदै जाँदा तब दशैँ भन्ने धार्मिक पर्व नभई चाडबाडमा मात्रै खुम्चिदै गयो । अर्थ फेरिँदै गए । भाकल र बलि पनि बोझ लाग्न थाल्यो । राजनीतिक आवद्धता र सक्रियतासँगै पर्वहरुका बहुआयामिक पक्ष के हुन् ? सामाजिक र साँस्कृतिक महत्व के ? मन, मस्तिक र जीवनलाई त्यसले कसरी प्रभाव पार्छ भन्ने जिज्ञासा उठ्न थाले । पर्वका ऐतिहासिक पक्षले समाजमा पार्ने प्रभावबारे अध्ययनका तिर्सना बढ्दै गए । फिरन्ते जीवनमा कैयौँ वर्ष सगोलमा चाडबाड मान्न पनि पाइएन । परिवारले भने धार्मिक र साँस्कृतिक दुबैरुपमा मनाउँदै गयो । उनीहरुको खुशीमा मौका मिल्दा सहभागी बन्दै गइयो पनि । जनयुद्धकालीन समरयात्रामा भने दशै मनाइएन । ‘महाभौतिकवादी’ बन्ने होडै चल्यो । संसारै फेर्ने सपना थियो तर, के गर्ने ? चालचलन, मान्यता, विश्वासलाई हस्तक्षेपले मात्रै फेर्न सकिँदो रहेनछ । विचार फेर्न जति सजिलो, संस्कार र संस्कृति फेर्न भने औधि गाह्रो । शान्ति यात्रासँगै आदर्शका धरहरा एकाएक ढल्दै जाँदा चाडपर्वप्रति जनयुद्धकालीन मान्यता पनि ध्वस्त हुँदै गए । हाम्रा र आफन्तका अर्थ र मर्म फेरि अर्काेपटक फेरिए । पहिला टुटेका सम्बन्धहरु जोडिदै जाँदा सामाजिक दवाव झेल्न सकिएन । जति उचाईबाट जुन बस्तु खस्छ, त्यत्तिकै बेगमा गुल्टिदै जाँदो रहेछ । अनि हामी माओवादीमा बजारलाई प्रतिकार गर्नुको बदला आत्मसात गर्न पो होडबाजी चल्दै गयो । मेरा दशंैँहरु पनि यसैबाट अछुतो रहेनन् । मेरो नजरमा पर्व अक मैले बुझेको दशैँको चर्चा गरौं । मानव सभ्यता विकाससँगै हरेक पर्वका ऐतिहासिकता भएरै कालान्तरमा धर्म र संस्कृतिको रुप लिन पुग्छ । दशैलाई धार्मिक पर्वको रुपमा मात्रै नभएर यसका विविध पाटापक्ष छन् । पर्वसँग समाजको मनोविज्ञान, साँस्कृतिक, ऐतिहासिकता र आर्थिक सम्बन्ध जोडिएको मात्रै हुँँदैन, मनोविज्ञानको तस्वीर पनि खिचिरहेको हुन्छ । कृषि आधारित अर्थतन्त्र भएको समाजमा कृषिपात्रोे र मौसमी हावापानीले हाम्रा पर्व र उत्सवका तिथिमिति तय गर्थे । प्रकृतिसँगको पौँठेजोरी, द्वन्द्व र युद्ध, राजनीतिक गाथा र लोक मनोरञ्जनका सरोकार बन्दै पर्वहरुले निरन्तरता पाए र कालान्तरमा धर्म बन्दै सँस्कृतिमा फेरिँदै गए । विश्वास अनुसारको अर्थ लाग्दै जान्दै गयो । हाम्रा पुर्खाले महाआख्यानहरुको यति सुन्दर, कलामय र मनोवैज्ञानिक रुपमा प्रस्तुत गरे कि आख्यान, इतिहास र धार्मिक विषयबीच फरक छुटयाउनै मुस्किल पर्दैे गयो । पर्वको सुरुवातीकालको परिस्थिति, चेतनास्तर, सामाजिक द्वन्द्वको अवस्था, आर्थिक र सामाजिक सम्बन्ध, श्रमसँग सरोकार, युद्धका विजेता र पराजित शक्तिको रुपमा सुक्ष्म अध्ययनको आवश्यकता पथ्र्यो । कुनै पनि ऐतिहासिक घटनाले पर्वको रुप लिन लामो समयको साँस्कृतिक यात्रा पूरा गरेका हुन्छ् । कसैको देवता, कसैको राक्षस । जहिले पनि शक्ति चाकर खोज्छ । चाकरी बजाएर शक्ति हासिल गर्न सकिन्छ भन्ने चतुरेहरुले विभिन्न प्रकारको बलि सदाकालमा दिँदै आएका छन् । धर्म र संस्कृति एउटै नभए पनि धर्म संस्कृतिको आडमा मात्र जिउन सक्छ । यस उपमहाद्विपमा दशैँ, दशहरा, विजोया, आयुधपूजा नामक दशैँ पर्व आर्य÷अनार्य सभ्यताबीचको टकराहट हो । रावण र महिषासुरसँगको युद्वगाथा नै आगन्तुक आर्यहरुको दशैँ–महात्म्य हो । जित्ने देवता बने, हार्ने राक्षस । जित्नेको प्रशंसाको निरन्तरता संन्तान÷दरसन्तान गर्ने नै भए । देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यहरुको रैथाने अनार्यसँग भएका लौहयुगको युद्वकथा हो । महिषासुरलाई महामानव र देवता मान्ने अहिले पनि भारतमा असुरवंशीहरु प्रशस्तै छन् । फिरन्ते युगबाट कृषियुगमा पुग्दासम्मका आदि आर्यका उत्सवहरु कृषि अर्थतन्त्रसँग जोडिइसकेका थिए । त्यसैले मनसुनको अन्त, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फुर्सद पर्वयाम बने । खोलानाला र बाढी÷पहिरो टरिसकेकोले यात्रा सुगम हुन्थ्यो । कालान्तरमा आर्थिक उत्पादनको सम्बन्ध फेरिदैँ जाँदा र सूचना÷सञ्चारले अन्यन्त्रका आक्रमक संस्कृति झेल्न नसक्दा पर्वको अर्थशास्त्र कृषिपात्रोबाट बजार–सँस्कृतिमा फेरिँदै गयो । पुरानो छोड्न पनि नसक्नु, पूरै नयाँ पनि हुन नसक्नु अहिलेका पर्वहरुको मर्म हो । पर्वका बजार–अर्थशास्त्र भनेको अरुभन्दा कसरी उम्दा र भिन्न देखिाउनुमा रहन्छ । दशैँँका बम्पर उपहार, छुटका सामान, दिल र दिमाग छुने मनमोहक विज्ञापनले ‘ऋणा गरेर नि घ्यू पिउने’ मानसिकताले ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ पर्व–अर्थशास्त्र हो । दशैँको विचार÷दर्शन भनेको बलि चढाएर गरिने शक्ति उपासना हो । यसको साइनो सत्ता सस्कृतिसँग जोडिन्छ । हतियारमा साँध लगायो, युद्ध अभ्यास मनायो । सामन्ती युगका आर्य राजा÷महाराजाहरु दशैँमै युद्ध अभ्यास र युद्धअभियान चलाउँथे । युद्धले नरबलि त खान्छ नै । अझ तान्त्रिकहरुले ‘शक्ति पाउन’ कालरात्रिमा नरबलि पनि दिन्थे । नरदेवी त्यही उदाहरण हो । शक्ति हत्याउन प्रतक्ष्य वा छद्मयुद्ध आवश्यक हुन्छ । कोत गारतमा बलि दिएर, हतियार पूजा गरिनु भयातुर शक्तिशालीले हतियारमाथि स्वामित्व जनाउनु हो । भयको मनोविज्ञान नै शक्तिका उपासना हो । दशैंको सामाजिक उपहारमा खेती÷किसानीमा थाकेका किसानहरुलाई विश्रामयाम बनिदिन्छ । गरिबगुरुवाका बच्चाबच्चीलाई वर्ष दिनको चिची र नाना बनेर आउँछ । सामाजिक सद्भाव बढाउने, भेटघाट, रासरौस, मिठोमसिनो सगोलमा खाने, विरक्तिएको भ्रमित आफन्तिलो मनको कालोमैलो धुने, नाता सम्बन्धलाई उर्जा थप्ने, विगतको कटुता भुलाएर नयाँ सम्बन्ध सुरुवात गर्ने मौका दशैँ बनिदिन्छ । अन्तमाः देशमा लाहुरे बन्दै विदेश भित्रिने र शहर गाउँमा पस्ने, पुर्खौली थाँतथलो पुग्ने र मान्यजनको आशीर्वाद लिने अवसर बन्छ । उमेरमा यौवन साट्ने, साथसंगीसँग फेरि भेटघाट गर्ने, सम्बन्ध र भावनाको पर्वरुपी दशैँ सामाजिक सद्भावको मञ्च पनि हो । अहिले प्रविधि र सञ्चारको ब्यापकताले आस्था पनि प्रविधिमार्फत बजार–आध्यात्म फैलाउँदै दशैँलाई डिजिटल पर्व बनाउँदै छ । अझ जति मान्छे धनाढ्य वा शक्तिशाली बन्दै जान्छन् सोही स्तर घट्ला भन्ने आतंकले आध्यात्मपथ पछयाँउछ । जो जति शक्तिशाली छ, त्यत्तिकै धार्मिक र अन्धविश्वासी पनि हुन्छ । उनीहरु शक्ति उपासना गर्ने दशैँ साइत कुर्छन् भने नवधनाढ्यलाई चाडवाड तुजुग देखाउने थलो बन्छ । अझ शिक्षित रुढिवादी त नमूनै बनिदिन्छन् । दशैँ शक्तिशाली आर्यहरुको एउटा शक्ति उपासनाको पर्व थियो । त्यो कालान्तरमा धार्मिक चाडबाडको रुपमा विकास हुँदै यस उपमहाद्विपमा आर्य–सस्कृतिको अंग बनेर हिन्दूहरुको सवभन्दा ठूलो चाड बन्न गयो । दशैबारे मोदनाथ प्रसित संगैका विमर्शमा https://www.youtube.com/watch?v=7ik5PdrC7XU Read more at: https://dainikonline.com/story/15170/2019/9/30/dashain-narendra

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home