विरालीको शिकार यात्रा
आज पनि विरालीले त्यही गरी जो उस्का पूर्खाले युगौंदेखि गर्दै आएका थिए । वच्चाहरुलाई शान्त वस्न भन्दै आहारा खोज्न निस्केकी ऊ छिमेकीकै कुडे रित्याएर डम्डम्ती पेट हल्लाउदै आएर उनीहरु सामु ओकली दिई । छाद खाएर टन्न भए विराली सन्तानहरु । हुर्किसकेका सन्तानलाई आफ्नै सिप, सुझ वुझ जाँगर र शिकारमा भरपर्नुपर्छ, आमाको हैन् भन्ने अर्ती दिई उस्ले । त्यस्ता उपदेशहरु हरेक वाउआमाले आफ्ना सन्तानहरुलाई वर्षौदेखि दिदै आइराखेका छन् । आखिर उस्ले पनि दिने भनेको विराली वुद्धि नै त हो जो अरुलाई लागु हुदैन । कहिलेकाहीँ अरुजातले पनि पराइवंशका आनीबानी र व्यहोरा स्वीकार्दछन्, त्यो अर्कै कुरा हो । आज विरालीले सन्तानलाई पारखी र पौरखी बनाउन शिकारमा लगी । आमा पछाडि लाग्दै शिकारी बन्न तम्सेका उनीहरु दाँउनलाग्या बहरझैं ठिँह-ठिँह गरेरै तुजुंग झाडेर पछ्याउन थाले । हुनपनि अभिभावकका पिछा लागेका अवोध सन्तानका बुझाईमा आफ्नै बाउआमा दुनियाँकै सुझबुझ, पौरखी, बलिया र क्षमतावान् हुन्छन् भनेर सोच्नु अनौठो हुदैन । तर आमा भने चिन्तित थिई । पहिलोचोटि पारंगतपार्न सन्तानलाई लिएर शिकारमा जादैं थिई ऊ । दुश्मनसंग होसियारी गराउदैं भन्दै थिई - भुइमा हिड्ने कुकुरसंग र आकाशमा उड्ने चिलसंग पुर्खौली दुश्मनी कस्तो थियो, सुनाउँदै ज्यादै चुलबुल नगर्न सम्झाउदैं ल्याई । निस्पिmक्री छाउराहरु ठट्टा मानेर कुरा सुन्दै गए । कुकुर-विरालाबीच बापवैरी शत्रुता कस्तो हुन्छ बताउदै गई । ठुला र समझदार भईसकेका सन्तानलाई गौरवशाली अतित सुनाएर पारंगत पार्ने हरेक जाति झैं ऊ पनि सन्तानलाई स्मार्ट बनाउन चाहन्थी । दिल, दिमाग र पञ्जामा पुर्खौली तागत आएको थाहा पाएपछि एक्कासि आजैबाट ठुलो भईएछ झै उनीहरुलाई लाग्यो । शिकारको अर्थ मुसा भेटाउनु थियो । पर्वतराजलाई दोहोलो काढ्दै सुरुङयुद्धमै पारंगत मुसाहरु दुलाभित्र बस्दथे । त्यो दुलो नै भेटिएपछी ढुक्क भए । मुसीगन्ध थाहा पाएपछि सन्तानहरुलाई साउतिमार्दै भन्न थाली "चुप लाग्, होसियार बन्, मौका चुकाउनु हुदैन, बिजुली झैं चम्कनुपर्दछ, चट्याङ झैं पड्किनुपर्दछ, ..शिकार थलो आईपुग्यो ।" केही पनि नदेखेका उनीहरुले बुझ्न सकेनन्, उसको भनाईको मर्म थाहा पाउन भ्याएनन् । बाउ-आमाकै थाप्लोमा गिरखेलेका सन्तानले नबुझे झै यो उनीहरुलाई ठट्टै हुन सक्थ्यो । नत उनीहरुलाई शिकारीको पीडा नै थाहा हुन्थ्यो, नत कलानै जानकारी थियो, नत जिउदो शिकार नै पहिले देखेका थिए । उस्ले बिराली चाल बुझन, आफ्ना हरेक दाउपेच नियाल्न भन्दै शिकारको लागि तयार भई । जिउँदो पथ्थर झै अचल हुन अह्राउदै आफू धरापमा बसी । शिकारीको एकाग्रता, धैर्यता, संयमता आमालाई ब्यहारिक गुरु बनाउदै सिक्दै थिए बिराली सन्तानहरु । सामान्य हरकतले पनि मुसो दुलोबाट नआउन सक्थ्यो भित्र उनीहरु जान सक्दैनथे । अर्को तर्फ पहिल्यै दिन खाली हात र्फकन पर्यो भनेे निरास हुन सक्ने सन्तानका चिन्ताले आमा सताइएकी थिई । केहि बेरमै जखीमौलो मुसो गर्दन हल्लाउदै दुलो बाहिर निस्कियो । लाग्दथ्यो भरखरै ठूलो युद्ध जितेर आएको होस् अथवा नवप्रेयसी सामु ठूलै पौरख देखाएको होस्, यदि हैन भने किर्ति राख्ने मैदान या पर्वतलाई छिया पारेर अर्को दुलो बनाएको होस् । मंसिरमा त मुसोले १७ बिहे गर्छनरे भन्छन् । हुन सक्छ नौलो दुलाहा बनि भर्खरै जन्तीबाट फर्केको किन नहोस् । जे होस् उसको चाल ढालले कुनै न कुनै गतिलै काम फत्ते गर्याजस्तो लाग्दथ्यो । ऊ किन आएको थियो को नी ! सेनापति झैं गरि्वलो बनेर यात प्रतिस्पर्धीलाई हाँक दिदैं अर्को मुसीहरण गर्ने उस्को सोच थियो अथवा गुम्स्याईबाट उक्ताएर सफा हावापानी खान निक्लिएको होस !! जे होस् । कुनैपनि दुर्घटनाले आफू आउने सूचना नदिएझैं मुसाको जीवनपात्रोमा पनि कहीँ कतै त्यसदिन दुर्भाग्य लेखिएको थिएन नत् उस्को दिल दिमाग नै त्यसका लागि तयार थिए । युद्धोन्मादले हौसिएको र विजयले पुलपुलिएको मुसीपुत्रलाई पहाड खोक्रो पारेको, मैदान चाल्नो बनाएको तागत त थाहा थियो तर बिरालासंगको पुस्तौनी वैरी र साँपहरुको कपटीचाल हेक्का राख्न भने सकेको थिएन । अभेद्ध मानिएका किल्ला दुलाभित्र पनि साँप पसेर बच्चा हसुरेको ख्यालै भएन उस्लाई । आज ऊ तिनै कुरा याद गर्न चुकिराखेको थियो । बिजयोन्माद चालढालले जुन झल्किराखेका थियो त्यसैले ऊ होसियार बन्न सकेको थिएन । काल उस्को बाटो ढुकिराखेको थियो, विराली उस्को व्यग्र प्रतिक्षामा आफ्नु पोजिसन सम्हालेर एम्बुस बसेकी थिई, विरालीपुत्रहरु मौनता साँध्दै मातालिला नियाली राखेका थिए । केहीवेर पहिलासम्मका मुसीपुत्रका चर्तीकला धरती गर्भमै थिए । शक्तिमातले चुकेको थियो ऊ । कहिले काहीँ चुक्नु भनेको उम्कनै नसक्ने - नभ्याइने कमजोरी भएझैं ऊ पनि अनिमन्त्रितकालको पाहुना बन्न जादैं थियो । मौका गुमाउनु मुर्खता सोच्ने कुशल शिकारी झैं दुलोबाट निस्पिmक्री निस्केको मुसोलाई विरालीले कसेर झापड हान्दै अचुक वार गरी । मातृ रणकौशलता र वंश शिकारकला नियाली राखेका विरालीपुत्रहरु आवेगमा आए, इशारा पाउने वित्तिकै होमिए शिकारमा । हरियो दुवे चौर खुला थियो, कतै झाडी त के बुट्यानसम्म थिएन, दुलो थिएन । एक निमेश पहिलोको दम्भकालमा फेरिएको थियो मुसाका लागि । दुश्मन मृत्युका लस्कर बनेर सामु थिए । खेलाउदै आहारा बनाउदै थिए । उसका पहाड चपाउने दाँत उनीहरुलाई टोक्नसम्म सक्दैनथ्यो । केहि छिन पहिला प्रेयसीले सुस्ताउन गरिएको आग्रह सोच्दै आफ्नै मुर्खतावाट पछुताउनु भन्दा विकल्प केहि थिएन उसंग । पहिलो झापडमै उसको होस् हवास र घमण्ड हरिई सकिएको थियो, दुलो र झाडी खोज्ने चेत उडिसकेको थियो । हरेक जीवात्माले धनन्जय रहिन्जेल बाँच्न कोशिस गर्ने - नसके सरल तरिकाले मृत्युवरण गर्ने कोशिस गरेझै ऊ पनि त्यसै गर्न थाल्यो । सन्तानलाई वंशगुण सिकाउन थाली बिराली । ऊ मुसालाई सुस्ताउन दिन्थी, दगुर्न - भाग्न दिन्थी, चल्न चटपटाउन दिन्थी, गुहृ्राउन दिन्थी । कहिलेकाहीँ न्वाँरनको बल निकालेर मुसो पनि टोक्न झम्टन्थ्यो । विरालीपुत्र रमाइलो मानेर हेर्दथे, शिकारको मनोभाव नियाल्दथे । ऊ सबैकुरा गर्न दिन्थी थकाउदैं तर उम्कन भने दिदैंनथी । उम्कन लाग्दा झ्याप पञ्जाले हान्थी, चिँचीँ गरेको मुसोलाई दाँतले च्यापेर बच्चासामुन्ने रमितामा राखिदिन्थी बिराली । भोकाएका पेटमा रसाएको ज्रि्रोले परमधामै जान डिलमा उभिएको आहारामाथि विरालीपूत्र मुख मिठ्याउदैं नजर गाढ्दथे । आमा थिई की सन्तानलाई बंशविद्यामा पोख्त गराउन मुसालाई मर्न पनि दिन्नथी- बाँच्न पनि दिन्नथी । तुरुन्तै आहारा पनि बनाउन सन्तानलाई अनुमति पाउदैनथे । अझ प्राणपखेरु नउडीसकेको मुसीपूत्र भने केहीवेर सुस्ताउन पाएको र रमिते बनेको काललाई देखेर ज्यानै बक्सीस पाएझैं चलमलाउथ्यो, केहीपरसम्म न्वारनको बल झिक्दै खुरुरुर दगुर्दथ्यो पनि । ऊ भने फेरि त्यही लिला दोहोर्याउँदथी । त्यो खेल देखेर रमाउदथे विरालीपूत्रहरु- जसरी लेण्टलस वटाटियसको अखडामा ग्लेडिएटरहरु आपसको तरवारयुद्धमा सकिंदा रोमन सुन्दरीहरु अट्टालिकामा बसेर खितखिताउदथे, ताली ठोक्दथे । रोमनसभ्यताले संवेदना रित्याउन जसरी अखडा प्रयोग गथ्र्यो अहिले पनि ऊ आफ्ना सन्तानलाई विभत्सताको प्रशिक्षण दिदैं थिई । विरालाहरुले मुसाखेल रोमनसंग सिकेको हो या रोमनहरुले विरालासंग !! यो प्रश्न अझै अनुत्तरित छ । यसरी विरालीले यस युगमा पनि आफ्नै दमखममा वाच्न सन्तानलाई शिकारीकलामात्र सिकार्यन क्रुरताको अभ्यस्त पनि बनाई । शिकारी र शिकारको माहात्म्य बताई । जोसका बेला होस हराएको मुसालाई सावधानी गुमाएकोमा मुर्खता सुनाई । पहिलै शिकार यात्रामा हौसिएका सन्तानलाई सावधान गराउदै भनी "शिकार गर्न ठूलो कुरा हैन त्यसलाई सुरक्षित यथास्थानमा पुर्याउन र भोजन गर्न ठूलो हो त्यो नै सफलता" । आफू भन्दा शक्तिशाली धरतीमा धेरै छन् । पशुजातिमा मान्छेसंग त डराउनु पर्दैन उनीहरुले तिम्रो शिकार खोसेर खाँदैनन् तर कुडेंमा जुठो हाल्या देखेमात्र लप्को लाउँछन् तर मार्दैनन् । उस्ले जोड दिदै भनि- मेरा प्यारा सन्तानहरु ! मुसाहरुमा त एकता हुदैन नै त्यसैले डराउनु पर्दैन । कसैलाई झुक्यायो, कसैलाई धम्क्यायो, कसैलाई छक्यायो, कसैलाई रामनामी ओडेको छु कण्ठी बाँधेको छु भन्यो भै हाल्छ तर कुनै पनि वेला पुस्तैनी शत्रु कुकुर झम्टेर आउनसक्छ, चिल उडेर आउनसक्छ - मलाइ चिन्त्ता लाग्ने तिमीहरु कसरी जोगियौला । विचारा मुसो .......धन्यबाद हाम्रो आहारा ....... (मुसोलाई देखाउदै) यही जस्तो मुर्खता नगरे .........दुर्घटना कराएर आउदैन है, त्यस्को सामना गर्न सचेत हुनुपर्छ । सुरक्षा भनेकै सावाधानी हो, प्रतिकूलताको प्रतिकार हो र समस्याको हल गर्ने पहल आफैले लिंदा सफलता पाईन्छ । शिकारलाई मौकै दिनु हुदैन झम्टिहाल्नुपर्छ । यसरी शिकारको व्याबहारिक सिको सिकाएर लोर्के सन्तानलाई आफ्नै पौरखमा शिकार गर्न, जोशमा होस् नगुमाउदै सुरक्षित रहने अर्ती र दिर्घायूको आशिर्वाद दिंदै बिछोडिएको ढाडे (बच्चा पाएपछि विराली र ढाडेको झगडा हुन्छ र छाउरालाई उसले आक्रमण गर्ने हुंदा ऊबाट विराली टाढिएकी हुन्छे) प्रेमी खोज्न अन्यन्त्र लागी । यसरी अहिले पनि विराली संस्कृतिले निरन्तरता पाउँदै गयो । मुसा शिकारको गुर सिक्दै विरालीपुत्रहरु मातृवियोगको गम र शिकार पाएको खुशीमा आफ्नो बाटोतिर लागे । हास्यव्यङ्ग्य नरेन्द्रजंग पिटर(नेपाल म्यागाजिन)
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home