Saturday, June 12, 2021

दिदीको घरमा भाइ पुग्दा...

विमलले मलाई दिदीको घरमा पुर्‍याइदिए । मलाई दिदीको गाँउ नौलो लाग्यो घर चिन्नै गाह्रो भो । आँगनपुग्ने बाटोभरी दुवो उम्रिएको । मूलबाटोको छेवैमा रहेको घाँसेबाटोले त्यहाँ थोरैमान्छे मात्र जान्छन भन्ने जनाउ दिईरहेको थियो । म धेरै वर्ष पछि त्यो घरमा पुगेको । त्यो विरानो बाटाले नै घर र घरमुलीका कथाव्यथा कहिरेका थिए । मनले सोचेको भएको कुरो , आज तिहार लिएर दिदीको पाहुना बन्दैछु । बुढीदिदीको प्रथम पुस्ताको म माइती । हुक्सेली दुलालका हामी चार सन्तान सानी दिदीले धर्र्ती छोडेको एक दशक पुग्न लागेको भाइ अमेरिका नेपालमा हामी दिदीभाइ । आँगन नपुग्दै गम्न थालेँ । घर अगाडि बडेमाका आँपका रुख हुन्थे । जामुन, अम्वा लटरम्म, भुईकटहर मगमग वास्ना, लोर्खकेको चिरिबिरी, गोठमा गाईभैँसी । खोरभरी बाख्रा, आँगनमा पाठापाठीको छुनुमुनु । भाञ्जाभाञ्जीको खिलखिलाहट । आँगना डिलमा झुल्ने जाई, मखमली र सयपत्रीका फूल । आँखाले सबै खोज्छ, केही भेटिन्न । यताउता नियाल्छु...निरास हुँदै आँगनतिर सुस्ताउदै खुट्टा बढछन्् । शिर कुल्चेर जन्मेकी हुक्सेलीकी छोरी कहाँ होलिन् ! कस्ती भईन होला ! एकाएक आँगनमा टुप्लुक जेठोलाई देखेपछि के सोच्दि हुँन ! के प्रतिकृया दिन्दी हुन् ! एकनास सोचिरहेको छ, झसँग बिँउतिन्छु । घरभित्र खासखुस सुन्छु । के वात मार्दै होलान ? यो बृद्दजोडीको दिन कसरी कट्छ होला ? अझ चाँडपर्व यो घरमा कसरी भित्रिदो हो ? के सपना देख्दा हुँन ? कसरी रुँदा हुँन्, कसरी हाँस्दा हुँन ! सोच्दैछु । एक्कसी दिदी भनेपछि त.......। दिदीभाइ मिलन विमल चलाख र व्यवहारिक छ । मैले थाहै नदिए पनि उस्ले खुसुक्क भन्या हुँनुपर्छ । छक्क पार्न खोज्या थिँए । म पुगेपछि दिदीको घरमा तिहार पुग्यो अरे । जेठो आँउने विश्वास थिएन, म बाँउठ्या मान्छे अरे । दिदी बलिन्द्रधारा भईन् । यमराज र जमूना सम्झिइन अरे । घर सुनसान, धुमधुम्ती बुढाबुढी मात्र । छोराका कुरागर्दै खुशी बेचेर सुख किन्न अम्रिका गा छ भने । दिदी हे, निष्ठुरी...तँ यो घरमा ५६ वर्षपछि तिहारमा पाइलो टेकिस् । सान्दिदी बितिहाली, म कति दिनकी हुँ र ! बाउआमा बितेपछि त पहिलो माइती तैँ होस् क्यार । यमराजले मलाई कहिले लानी हुँन् ! भिनाजुको ८४ पुजाको धोको पुगेको छैन् । उनको एकमात्र छोरा (मेरो भाञ्जा ) बिगार्ने (अधर्मी, बिधर्मी र राजनीतिकचेतको नसा पियाउने ) मै हुँ भन्ने ठहर उनीहरूमा अझै छ । लामो कथाब्यथा सुनाए । भिनाजुले सोधे— बाबु.... एकदिन राजने आउँछ नि है ! मैले उस्को, उस्ले मेरो अनुहार देख्न त पाउला नि हैन् ! भनिदेउन... बाबु, कुन पापीले मेरो टेक्ने लौरो चोर्‍यो ! कुन अपराधीले मेरो खुशी लुट्यो ! छोरो पक्कै आउँने छ उस्को मतिफेर्न पलाञ्चोक भगवतीको भाकल गरेका छौँ । भनन बाबु .....तेरो त भाञ्जासँग सधैँ कुरा हुन्छ । सञ्चै त छ !’ मसँग कुनै जवाफ थिएन । मौन, मौन र सन्नाटा... उफ ! उहाँहरु कुरा भन्दापनि अनुहारका भावहरु टटोलदै थिँए । अनुहारमा मेघ आँउछन, जान्छन् । कहिले साउने भेलको झिँगु र डाँफे बनेर सुस्कुराँउछन र फेरी एक्कासी हिँउदे खहरे बन्छन् । मान्छेको आत्मावल आशा र विश्वास हो । विश्वासका आधार त आ-आफ्ना हुन्छन नै । दिदीले तिहारमा भाइ आँउछ भन्ने ढुक्क भएर मसला ल्याउनु भा रेछ । सेल पकाएर मखमली माला उनेर राख्नु भा रहेछ । बाबु साइतमै टिका लाउनुपर्छ । सवै तयार भयो । धेरैदिनपछि आज त तेल लाउनुपर्छ । जिउमा लाउन पर्दैन भनी तालुमा तेल ठोकिदिइन्, कानमा तेल हालिदिईन्, ढाका टोपी लगाइदिईन् । तेलको घेरोहालेर यमराजबाट जोगाइन् । जेजे थाहा थियो, त्योसवै कर्म गरिन् । जानेजति आशिष दिइन् । आशिषलाग्नेमा उनी ढुक्क थिइन् । भाइको सोच र विश्वाससँग कुनै अर्थ र महत्व त्यहाँ थिएन । भावामय क्षणमा उनको भातृ प्रेममा दख्खल दिन चाहिँन । हुँदैन थियो । भावना एउटा शक्ति हो । दिदी आज भाइटिका मनाउन पाँउदा मख्ख थिईन, उनको मख्खताले मपनि खुशी थिँए । गफ सुरु भए । पूर्खाका कुरा मलाईभन्दा दिदीलाइ धेरै थाहा थियो । स्वभाव वासँग ठ्याक्कै मिल्ने । म यि दुवैका स्वाभिमान रअहंकार कहिलेकहीँ छुटयाउनै सक्दिन । गरिवीमा हुर्केको जिन्दगी र अपमानित त्यही समाजलाई धेरैकुरा उनलाई देखाँउनु छ । झरिझट्ट गहाना सँधै लगाइरहन्छिन् । कुनबेला डाँका र गुण्डाले लुट्ने हुँन चिन्तत हुन्छु । आममान्छेजस्तै उनमा पनि जमिन र पैसाप्रति अति लोभ छ । हुँनपनि बृद्दकालको इन्सुरेन्स यो हो नै । सरकारमा भरपर्ने ठाँउ पनि छैन । परदेशी छोरोको भर छैन । भिनाजुको ८४को चिन्ता छ । ८४ धार्मिक चाहानाभन्दा हेपिएको समाजलाई तुजुग देखाउनु र पाटामा भोजगर्नु मूख्य चाहाना हो । समाज पढन श्रुति साहित्य र इतिहास दरविलो सन्दर्भ सामाग्री हो । दुलालवंश र लुईटेलवंशका कुरा चले । भमरकोट, बौवा, हुक्से र फेरी दुलालथोकको हुक्सेली दुलालका कथा सुनाईन् । त्यसमा उनका र मेरा बा, आमा कथाब्यथा इतिहासमात्रै थिएनन् ती हाम्रा समयका इतिहास पनि थिए। हुक्सेलीजेठाले कतीघाटका पानी खाए ? कति अपमानका हन्डर खाए ? कति चुलाका खाना खाए ? बाले सुनाउनु भएका कुरा सर्लक्क राखिन् । लुँइटेलकथा भिनाजुलेभन्दापनि दुलालपुत्रीले नै धेरै थाहा रहेछ, भनिन् । समय घर्केको पत्तै पाइएन । विमल लिन आइपुगे । ढोगीँ, फर्कीँ । मोटरसाईकल ओझेल नपर्दासम्म दुईजोडी निरास आँखाले हामीलाई नियाली रहेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home