शान्ति सम्झौताको ११ वर्ष बित्यो । इतिहासलाई गम्दै वर्तमानसँग बात मार्दैछु, तर युद्ध र ‘शान्ति’ बीचमा मौसम भने चुनावको छ । मेरा अनन्य मित्र कमरेड केपीले भने- छोड्दिनुस् इतिहासका गन्थन’ । प्रचण्डपुत्र प्रकाशको मृत्यु सहज हो भन्ने मलाई अझै लागेको छैन, त्यसका दूरगामी र छुट्टै सन्देश छन् । शक्ति केन्द्रमा भनिएकाभन्दा नभनिएका, देखिएकाभन्दा नदेखिएका धेरै रहस्य हुन्छन् ।
Narendra-Pitterआग्रह, भावना र प्रदर्शन छोड्ने हो भने पक्ष र विपक्षमा आएका खुसी र पीडाहरू प्रचण्डसँग जोडिएका र वर्ग संघर्षकै अर्का रूप हुन् । प्रकाशको मृत्यु त एक बहाना हो, मलामी र सहानुभूति प्रचण्डसँगै हो । तरंगितहरूलाई नियालौं- बजार मिडिया, दिइएका समवेदनाका अर्थ, शक्ति केन्द्रसँग नजिकिने अवसर, स्वविज्ञापन, जनयुद्ध संस्कृति, नेता र चतुरेहरूका चर्तिकला, भावमय आवेगी नेपाली मानसिकता । भावनामा बग्ने मात्र छुट हुँदैन । इतिहास निर्मम हुन्छ । पीडाको मार्केटिङ हुनु हुँदैन । प्रचण्ड प्रकाशका पिता मात्रै नभई ११ हजार सहिद र आश्रितहरूका अभिभावक हुनुपर्छ । पुष्पकमल दाहाल साकार दाहालका पिता हुन् भने प्रचण्ड जनयुद्धका सुप्रिम कमान्डर । पुत्रशोक पक्कै महाशोक हो ।
दुःखका खबरहरू लस्करै पो आउन थाले । खुसीराम पाख्रिन गीत गाउँदागाउँदै ढले । सम्झन्छु- २०४० मा चितवन भण्डारा रामजी बर्तैालाको घर । डायरी पल्टायौं । अक्षरमा सजिएका जनगीतिमाला । प्रकाशनको सल्लाह गर्यौं । थप दुई गीत- ‘मामाजीकी रहली बडबिडी कोठियाँ’ र ‘दुःखमा त्याग्जी तै ला ला’ भण्डारामै लेखिए । पुस्तकको नाम ‘आँसुको भाका’ जुराइयो ।
नरेन्द्र आरडीका नाममा प्रकाशकीय लेख्दै प्रकाशनको जिम्मेवारी लिएँ । गोरखपुर भारतबाट छापिएको ‘आँसुको भाका’ उनको पहिलो प्रकाशन बन्यो । जनयुद्धलाई भावमय बनाउँदै पाख्रिनले गाउँबस्ती चहारे । सांस्कृतिक ब्रिगेड नै तयार गरे । जनगीतिमाला आँसुका भाका बनेर गाउँदागाउँदै सहिद पिता खुसीराम पाख्रिन मञ्चैमा ढले, जिन्दगानी बित्यो । उनको मृत्युको खबर प्रकाशको झैं मिडियामा भाइरल हुने छैन, न पार्टीको एजेन्डा नै त्यस्तो बन्नेछ । मृत्यु र शक्ति पात्रबीच पनि साइनो हुन्छ । एउटा अविरल यात्री, एउटा जनकलाकार मर्यो- कालजयी गीत रचेर स्वरलिपि छोड्दै ढल्यो ।
चुनाव नियाल्दै जनयुद्धको मचानबाट इतिहासकै दुर्बिनले उत्तरतर्फ नियाल्दै गर्दा आफैंले छिचलेका चुरे, पार गरेका नाका, गजधम्म रहेका महाभारत, चुम्न खोजिएका हिमाल चुचुरा, हिस्स परेका गोली, झुक्किएका बम गोला, चिहानबाट कुर्लिएका सगोत्रीका चिच्याहटले अझै केही सोधिरहे झैं जिस्काइरहे झैं लाग्छ । हो, कमरेड केपी-इतिहास मुर्दाको कथा हैन्, जसलाई तपाईं, म र ऊ वर्तमानलाई उपभोग गरिरहेका छौं । बरु चुनावी याममा इतिहास काउसो बनेर सन्दर्भहीन मानिन्छ । इतिहास सम्झनुको अर्थ अर्काले गरेका गल्तीबाट उम्कने र अर्काले पाएका अनुभूतिलाई सित्तै हासिल गर्ने हुन्थ्यो ।
बाँकेमा कांगे्रस गाईको पुच्छर समातेर बैतर्नी तर्दै छ । वाम गठबन्धनलाई शान्ति सम्झौतामा गिरिजाबाबुका मूल सहयोगी कृष्ण सिटौलालाई हराएर बैतर्नी तर्न त्यही गाईपुच्छर मुक्ति मार्ग बनेको छ ।
अब इतिहास, युद्ध र ‘शान्ति’ का बात मारौं । नेपालगन्ज विद्रोही भूमिको फेदी र प्रवेश द्वार थियो । जनयुद्धको अध्ययन-अनुसन्धान, नयाँ प्रयोग गर्न चाहानेको मूल द्वार बन्थ्यो । देशीविदेशी र विभिन्न उद्देश्यका अध्येता र उपदेशकहरूको घुइँचो नै लाग्थ्यो । शान्ति सम्झौतालगत्तै भएको एउटा अन्तक्र्रिया कार्यक्रममा भारतीय सर्वोच्च अदालतका वरिष्ठ वकिल कोलिन गोन्जालेजले अहिलेको अवस्थाको पूर्वसंकेत गर्दै त्यहाँ एउटा कार्यक्रममा भनेका थिए, ‘जति नेपालको नयाँ संविधान बन्न समय लम्बिँदै जानेछ, त्यति नै सत्ता गुमेका शक्तिहरू विभिन्न बहानामा सक्रिय हुनेछन् र त्यो सत्ताको टकराहटमा देखिनेछ । नेपाली जनताले बगाएको त्यही रगतले लेखिएको संक्षिप्त संविधान नै लेखेमा युगान्तकारी दस्ताबेज बन्न सक्नेछ, तर त्यो लक्षण भने म देख्दिनँ । जति ढिलाइ गर्यो, सबै प्रवृत्ति सल्बलाउनेछन् र परिवर्तन उपहास बन्न सक्नेछ ।’
त्यसबेलासम्म राजतन्त्र भए पनि गणतन्त्र र सुधारवादीहरूबीच सहकार्य बढ्दै थियो । परिवर्तनका आवेग तीव्र थिए । विद्रोहीहरूमा चौतर्फी महत्वाकांक्षा र उपभोक्तावादको आक्रमण सुरु भएर सिंहदरबारको म्याराथुन थेग्नै नसक्ने आकांक्षाले पीडित मात्र थिएनन्, गुरिल्ला, जनसेना र कमिसारहरूमा छूतका रोग प्रस्ट देखिन्थे । मध्यमखाले नेतामा ह्याङओभर र दम्भ छताछुल्ल भइरहेका थिए ।
द्वन्द्व पर्यटनको विदेश सयरले क्रान्तिकारी ऊर्जा र आदर्श गलित पारिँदै थियो । नाफाका जिन्दगी बिताएर आएकाहरू नै अर्को परीक्षा उपभोक्तावादको सामना गर्दै थिए । सत्ता सोचका टकराहटले परिस्थितिमा जटिलता थप्दै जाँदा कोलिनको ११ वर्षअघिको भनाइ परिवर्तनलाई कसरी स्विकार्ने भन्ने र पक्षधारिताको प्रश्न त्यसैबेला गम्भीर विषय बनेकै थियो भन्ने हुन्छ ।
मंसिर ५ मा शान्ति सम्झौताका ११ वर्ष पूरा भयो । नेपाली राजनीतिका हुने र देखिने सबै कुरा अब छर्लंग भइसके । सरकार र सत्ताबीचको बुझाइ अन्तर छुट्ट्याउन र खुट्ट्याउन माओवादी त्यसबेला चुकेकै हो । यो अवधि द्वन्द्वको अग्रगामी व्यवस्थापनभन्दा पनि शक्तिहरूबीच शीतयुद्ध र मौन टकराहटमै बित्यो ।
विगतमा भएको समग्र हस्तक्षेपले देशलाई नयाँ अवस्थामा पुर्यायो । त्यो हस्तक्षेप यति जोडदार थियो कि त्यसले कसैलाई यस्थास्थितिमा रहन दिएन । पुराना सम्बन्धहरू तोडिए, नयाँ शक्तिको उदय भयो । परिवर्तनको वेगसामुन्ने पुराना शक्ति र सोचलाई प्रगतिशील देखिनु बाध्यता थियो, तर तत्कालीन विचार फेर्न सक्नेहरूले नयाँ अवस्थाको राजनीतिक चरित्र र संस्कृति भने स्विकार्न सकेनन् । बरु जसले सत्ता चरित्र फेर्न बाध्यकारी अवस्था सिर्जना गरेका थिए, तिनीहरू नै फेरिए ।
सनातनी सत्ताको अहम्मा चोट नपुगेसम्म जोसुकैको नेतृत्वमा सरकार बने पनि पाच्य भयो । जब सत्ताको चुरोमा प्रहार हुन थाल्यो तब पुरानो राजनीतिले सहेन । सोच फेर्न नसक्ने बरु, प्राप्त उपलब्धि गुमोस्, अधिनायकवाद लागोस्, तर सत्ता चरित्र फेरबदल नहोस् भन्नेमा शक्ति संघर्ष केन्द्रित भयो । यो वर्ग संघर्षकै अर्को रूप थियो ।
नयाँदिल्लीबाट प्रकाशित हार्डन्युज म्यागजिनसँग २०६५ साउनको अंकमा भनेको रहेछु- समग्र देश, पार्टी र माओवादी नेता र कार्यकर्तामा पलाएको, बढेको महत्वाकांक्षाको सकारात्मक व्यवस्थापन माओवादीका लागि आउँदा दिनमा सबभन्दा ठूला चुनौती रहनेछन्, तिनै परिवर्तनका लागि महत्वपूर्ण कार्य हुन् भनेर । त्यो अगस्ति महत्वाकांक्षाको सकारात्मक व्यवस्थापन गर्न नसक्दा शान्ति सम्झौता प्रभावित त बन्यो नै, पार्टी पनि चार टुक्रा भयो । जनयुद्ध छिचोले पनि मनोयुद्ध छिचोल्न भने सकेनन्।
त्यसले शान्ति सम्झौताको स्वामित्व लिन होस् चुनावमा समेत असर देखा पर्योथकित क्रान्तिकारीहरू पनि सरकार फेरबदलको खेलमा मात्र सामेल भएर सत्ता चरित्रको ध्यान अन्यत्र मोड्न चाहेनन् । भय र भ्रम छर्दै यथास्थितिमै सत्ता कब्जा गरेर प्रगतिशील एजेन्डा सकभर खारेज गर्ने, नसके ओझेल पार्ने भरमग्दुर प्रयास भए । सत्ताको चुरो भनेको कालाकोटे र खैराकोटे जर्नेलहरूको वास्तविक भूमिकामा रहन्छ । शान्ति सम्झौतासँग सरोकार राख्ने विषयहरूमा देखिएको न्यायालयको दोहोरो मापदण्ड र मध्यम वर्गलाई भ्रममा पार्ने मिडिया अभियान, धार्मिक, सामाजिक र सांस्कृतिक आवरणमा भइराखेका चलखेलहरू सबै सत्ता परिवर्तन विरोधमा नै केन्द्रित थिए ।
उनीहरूको मुख्य आशय कति, कसलाई उत्तेजना र भ्रम फैलाउन सकिन्छ भन्ने रह्यो । परिवर्तन सित्तै आएको हो भनेर मिथ्या इतिहासको व्यवस्थापन गर्ने खेल पनि खेलिए । सम्पूर्ण क्रान्तिलाई प्रस्थान विन्दु बनाएको शक्तिले कलामय भूमिका खेल्न, सहज, नरम र सम्झौताकारी बन्न सक्थ्यो । त्यस्तो चातुर्य देखाउँदै सचेत भएर जोगिन सकेन । विपक्षद्वारा गाल्ने, पगाल्ने र तोडफोड गर्ने कोसिस भए । आफ्नै अहम्को व्यवस्थापन गर्न सकिएन । कलामय भूमिका निभाउन नसक्दा जालमा पर्दै आक्रमणको शीर्षक दिँदै आफ्नै आदर्शभन्दा क्रान्तिको क्षतिपूर्ति भाव उर्लदै गयो। यसको उत्कर्ष अहिलेका चुनावसम्म पुग्दा देखा परे ।
अझै सरकार र सत्ता बुझ्ने र त्यसको चरित्रै फेर्ने वा सनातनमै रहन दिनेबीचको अन्तर्संघर्ष र निकास सहज र सरल रेखामा देखिँदैन । शान्तिपूर्ण निकास दिने भनेको प्रगतिशील चरित्र किटान गर्ने संविधानले नै हो । अहिले सरकार मैमत्त भएको छ, टेको ककसले लगाएका छन् प्रस्टिँदै छ । संविधानको मर्म र दिशानिर्देशको ख्याल चुनावसम्म पुग्दा र गठबन्धनको नयाँ अभ्याससम्म नियाल्दा यो ऐतिहासिक दस्ताबेज महत्वहीन भएको छ ।
शान्ति सम्झौताको ११ वर्ष बित्दा अवस्था यस्तो छ कि एकले अर्कोलाई निषेध गरेर जान पनि नसक्ने निकास पनि दिन नसक्ने भएर अझ अन्योल भएको छ । त्यसैले कोलीन गोन्जालेजको ११ वर्ष पहिलाको कथन अहिले पनि झलभली याद आइरहेको छ । चुनावमा देखिएका अनेकौं पक्ष नियाल्दा गम्भीर सामाजिक टकराहट संसदीय व्यवस्थामै फेरि सैद्धान्तिक बहसमा पुग्यो ।
के परम्परागत संसदीय व्यवस्थाले अग्रगमनको वास्तविक नेतृत्व गर्न सक्षम छ ? संसदीय प्रजातन्त्रका सीमा, समस्या र बाध्यता के हुन् ? संसद् प्रगतिशील हुन्छ कि यथास्थितिको रक्षक ? कि नयाँ चुनौतीको हल गर्न व्यवस्थामै नयाँ तरिकाले सोच्नुपर्छ ? कि भगवान् भरोसे मान्दै जाँदा यसैगरी सुध्रिएला ? सबै प्रश्नको विश्वसनीय जवाफ दिनु अब कसैको चासोको विषय रहेन ।
अन्त्यमा न काल आएको छ, न गोली दाग्या छ ! कति साथी जिउँदै ढल्दैछन् । म भने एक मचानमा बसेर इतिहास केलाउँदै युद्ध र शान्तिको चस्मा लगाएर चुनाव नियाल्दै छु । दुस्मन खित्खिताएर चुनाव बनेर हाँस्दै छ । यो सुविधाको राजनीतिको मौसम हो । मेरो र सुशील कोइरालाको सहरमा कांगे्रस गाईको पुच्छर समातेर बैतर्नी तर्दैछ ।
वाम गठबन्धनलाई शान्ति सम्झौतामा गिरिजाबाबुका मूल सहयोगी कृष्ण सिटौलालाई हराएर बैतर्नी तर्न त्यही गाईपुच्छर मुक्ति मार्ग बनेको छ । जनयुद्धका दोस्रा कमान्डर डा. बाबुरामलाई भवसागर तार्ने सत्कर्म कांग्रेसी काँध बनेको छ । अज्ञात समूह बम पड्काउँदै छ । त्यसको औचित्य पुष्टि गर्न कसैले जिम्मा नलिएर आफैंलाई अविश्वसनीय शक्ति सावित गर्दैछ ।
फेरि साहित्यकार सरला रेग्मी र खेम थपलियाको गिरफ्तारी सुन्दैछु, रिपोर्टिङमा गएको पत्रकार समाचार छाप्न नपाई गिरफ्तार पर्यो भन्ने सुनिन्छ । चुनावी मञ्चबाटै कमरेड प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै जनकलाकार पाख्रिन ढलेछन् । अन्तिम गीत जाग युवा भन्ने रहेछ । उनले संसदीय मञ्चमा गाएको युवा जागरण गीत कस्तो हो कुन्नि !
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home