सहिदलाई पत्र
सहिदहरुले भन्छन् हामीलाई ! सही बाटो हिड्दैछौ कि भुल्यौ दाजुभाइ !! राज्यले मनाउने औपचारिक सहिद सप्ताहको आज अन्तिम दिन । हे, सहिद तिमीलाई फाँसी दिने लालमोहरिया महाराज अझै सहिद गेटमा तिम्रै टाउकामाथि विराजमान छन् । तिम्रै साथीहरु नवमहाराज बन्दैछन् । तब त कुनै बेला ‘हुँदैन बिहान, मिरमिरे पछि तारा झरेर नगए, बन्दैन् देश दुई चार सपुत मेरेर नगए’ लेख्ने उनै भूपि लेख्न विवश हुन्छन्– हे, मरेर सहिद हुनेहरु हो, बाँचेर त हेर, बाँच्न कति कठीन हुँदो रहेछ’ भनेर । यो अवस्थालाई संकेत गर्दै भद्रगोल जेलमा रहेकै बेला मोहनविक्रम सिंह पनि लेख्छन्, ‘सहिद मरेर गयौ, ठिकै ग¥यौ । बाँचेको भए तिमी पनि भूगोल पार्क त घुमिरहेका हुँदैनथ्यौँ, कतै ?’ यसै सन्दर्भमा सहिद दशरथ चन्दलाई एक पत्र लेख्दै ज्ञात र अज्ञात सवै सहिदप्रति नमन गर्छु । अति मान्यवर श्री म तिमीलाई कुन नामबाट पुकारौँ । तिम्रो माध्यम यस संसारका र मेरै देशका ज्ञात–अज्ञात सहिदहरुलाई यो पत्र हो । तिम्रा नाममा केन्द्रित हुनाका कारण जसले नेपाली समाजमा अत्यन्तै सचेततापूर्ण, योजनाबद्ध क्रान्तिको पहिलो सपना देखाउँदै ज्यूँदा र सचेत मान्छेलाई संगठित पार्दै कर्मको मूल्य हाँसी–हाँसी फाँसीमा लागेर ति¥यो र तिर्न हौस्यायो । ज्यूँदा सहिदका लागि तिमी आतंक बन्यौ, तर ज्यूँदा मान्छेका लागि अझैं प्रेरक हौ भनेर हो । यस दुनियाँमा तिमीलाई दशरथ चन्द भन्छन् । कुशल अभिजात इतिहासका व्यवस्थापकले भने तिम्रो राणाशाही विरोधी एउटा पाटोको मात्र चर्चा गर्छन् । नयाँ कुरा सनातनी समाजले पहिला पचाउँदैन्। जब चेतनामा हस्तक्षेप गर्छ, शासकहरु भूमिकामात्रै हैन सोंच नै ध्वस्त र नष्ट गर्न खोज्छन्, तब मौन समाजले चासो राख्दै जान्छ, चेत खुल्दै जान्छ अनि सामाजिक शक्ति बनेर पत्याउँदै र पचाउँदै जान्छन् । कालान्तरमा स्थापित सत्ता ध्वस्त बन्न पुग्छ । समाज त्यसलाई उपयोग र उपभोग गर्छ । त्यो सहिद देश, समय र समाजलाई दिएको उपहार बन्न पुग्छ । तिमी सुदूर बैतडा थियौ । ठकुरी वंशीय राणाका डोला । जुलियाका बन्न नसकेका पति । त्यसैले तिमीप्रति आग्रह भए । ठालू वंशमा तिमी ‘बौलाएको’ खुब चर्चा भयो । तिलस्मी कथा बनाइए । हितअनुसारका कथा रचिए । राम माया पोडिनीलाई तिमीले मेरो नाममा रोइदिनू भन्ने अनुरोधको कथनभित्रका सन्देश पानीपतिया हुने त्यो समाजमा मर्म खोट्याउन अभिजातहरुले चाहेनन् । तिमी त भारतीय नेशनल कन्फ्रेन्सको नागपुर सम्मेलनमा दीक्षित भयौ । शेख अब्दुल्ला र नारायण स्वामीसँग क्रान्तिका पाठ सिक्यौ । नेसनल कन्फ्रेन्सकै नेपाली नाम प्रजा परिषद् राख्यौ । एउटा सबै परिवर्तनका लागि ज्यान अर्पण चाहनेलाई एक इतिहासका कुशल व्यबस्थापक भएर एकजुट पा¥यौ । अभिजातहरु तिमी समाजवादी भएको, प्रजा परिषद्को मास्टर माइण्ड भएको, सशक्त क्रान्तिका लागि धर्मभक्तलाई लगाएर पहिलो राजनीतिक उद्धेश्यका लागि देशमा हतियार भित्र्याएको कुराको सविस्तार वर्णन गर्न कन्जुस्याई गर्छन् । जो तोपले गर्न सक्दैन्, त्यो मिडियाले गर्न सक्छ भन्ने कुरा भगतसिंहले कानपुरबाट प्रताप र दिल्लीको अर्जुनमा मिडियाशक्ति प्रयोग गरेझैं क्रान्ति, परिवर्तन र राजनीतिक अभियानमा मिडियाको के, कस्तो महत्व हुन्छ भनेर सेवासिंहको नाममा भारतको पटनामा रामवृक्ष बेनीपुरी सम्पादनको ‘जनता’ र कोलकोताको ‘इण्डिपेंडेन्स’बाट तिम्रा दूरदृष्टि देख्न सकिन्छ । तिम्रा बहानामा भन्नुपर्ने कुरा धेरै छन् । यो पत्र गंगालाल, शुक्रराज र धर्मभक्तलाई पनि हो । अझ नेपाली ज्ञात इतिहासका पहिलो सहिद आछाम बन्नीगढीका बाँकाबीर र भारतीय प्रथम स्वतन्त्रता संग्राम दबाउन गएका सैनिक लखन थापा फर्केर आउँदा महास्वप्नद्रष्टा बनेर सहादतको लामबन्दी बनेकालाई हो । दोस्रो विश्वयुद्धमा सहभागी सुवेदार जीत बहादुरको टुडिखेलको सहादतको सम्झना पनि हो । धेरैका नाम आदर्श र सन्देश एकमुष्ट सम्मान र सम्झना भनेर बुझिदिनुहोला । आजै यस पत्र सम्बोधन गर्दै आफैसँग, आफ्नै युगसँग बात मार्ने दिन जुर्ना कारण भनेको यो हप्ता मेरो राज्यले सहिद दिवस मनायो, तर राजनीतिक नेता कार्यकर्ताले त्यस सहादतको आदर्श कति पछ्याए ?! पछ्याउने वाचा बन्धन कति गरे भन्ने मुख्य कुरा हो । के परिवर्तनलाई संस्थागत गर्न नसक्ने हाम्रो समाज, सहादतको चिहानमा ठडिएर अग्लो देखाउने हाम्रा नेतागण र तिनै नेताका पछुवा हामीहरुलाई सहिद दिवस मनाउने, तिमीले कोरेको बाटो, देखाएका सपनाको हकवाला बन्छौं त ? कि स्वयम् हामी युगका हत्यारा बन्छौँ ? प्रिय सेवासिंह, हामीलाई– हाम्रो नकच्चरो समाजलाई, हामीलाई नेतृत्व गर्ने नेतागणलाई, परिवर्तन काउसो बनेको भीडमा फेरिदै गएको समाजलाई माफ गरिदेऊ । माफ गर ! मान्यवर, .... टापटुपे ज्ञान र हाटहुटे नेताले भरिएको हाम्रो समाजमा सहिद दिवस नभई तिम्रो सराद्धे मात्र हामीले ग¥यौँ, यो हप्ता भनेर । विश्वकै ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा टाउको निहु¥याउनुको अर्थ समाज यथास्थितिमा बस्न सक्दैन्, ज्यूँदा मान्छे सत्ताका आदेशमा लुरुलुरु हिड्ने, शक्तिले जे भन्छ खुरुखुरी त्यसलाई नै पालन गर्ने गर्दैेनन् । जुन समाज जति सम्पन्न छ, त्यसले त्यति नै मूल्य तिरेको हुन्छ । देशप्रेमीहरु, सामाजिक न्यायका पक्षपातीहरु त्यही आदर्श पछ्याउँदै सहादतको बाटोमा हिड्छन् र हाकाहाकी मृत्यू स्वीर्काछन् त्यस्ता महान् व्यक्तित्वलाई नमन गर्छन् । त्यहीँ पदचाप पछ्याउनेको भूमिका बन्दै अनि सत्ता फेरिन्छन् क्रान्ति बनेर । प्रिय दशरथ, तिम्रा त अनेकौं सुझाव, गुनासा मात्रै हैन हाम्रो युगले आदेशसमेत मान्नुपर्ने हो । तर सहिद दिवसलाई सराद्धेको रुपमा मनाउने हाम्रो संवेदनाहीन पिढीलाई माफ गरिदेऊ र नेपाली जाति एउटा अझैं ज्यूँदो छ भन्ने ज्यान भएका तन्नेरीलाई प्रेरक बन्नेछौ । यसले परिवर्तनका उपलब्धि संस्थागत गर्न जस्तोसुकै मूल्य पनि तिर्न आतुर छ भनेर युगलाई, भावी पिढीलाई पनि सन्देश छोड्न सक्छ । सहादतको समाधिमा सत्ता उत्सव मनाउनेहरुलाई भने पटक्कै दुख्दैन्, मृत्यु दिन उनीहरूलाई उत्सव हुन्छ । हरेक युगमा इतिहासले भने आफ्ना उत्तराधिकारी हिम्मती स्वप्नद्रष्टा, मानवतावादी ज्ञानीजन जन्माउँदै जान्छ । शोक र उत्सवलाई फरक पारेर हेर्ने गरेर नै भावनाका उत्तराधिकारी र त्यसको अगुवाइ गर्ने अधिकार उनीहरुले राख्नेछन् । समय, आन्दोलनका चरित्र, इतिहासका व्यवस्थापकहरुका भूमिकासँगै शब्दका पनि सन्देश, मूल्य, आदर्शका अर्थ फेरिँदा रहेछन् । सरकारी घोषणाका हुलमा जसले, जसलाई जे जस्ता घटना र जुनसुकै प्रसंगमा मारेको वा मरेको होस्, सहिद घोषणा हुन थाल्दा वास्तविक सहादतको गरिमा अवमूल्यन भएको हो । कुनै बेलाका आदर्श व्यक्तित्व एवं स्वप्नद्रष्टा अभियन्ता पनि आफ्ना गरिमा थेग्न नसक्दा मर्नु र सहिद हुनमा सामान्यजनले फरक नमानेको हो । जसले सामाजिक विषमता र राज्यको दमनकारी नीतिको विरुद्ध सचेत बलिदानी दिदै सत्तालाई खुला चुनौती दिदा कानुनी वा गोप्यदस्ताद्वारा हत्या गराइन्छ, ती व्यक्तित्व मात्र सहिद हुने गर्छन् । जहिले पनि मान्छेका सपना, सोच र भूमिकाबाट सत्ता आतंकित भएपछि भौतिक शरीरलाई ध्वस्त गर्न सोच्छ । त्यस्ता हत्या गरिएका वा आफ्ना आदर्श, मूल्यमान्यताका लागि सचेत मृत्यूवरण गरेकालाई मात्र सहिद मानिन्छ । एउटा सत्ताको अन्त र अर्को सत्ताको थालनीसँगै नयाँ सत्ता हकवालाले त्यस्ता व्यक्तित्वलाई सहिदको दर्जा दिन्छन् । कुनै पनि सत्ता यथास्थितिको रक्षक हुन्छ भने क्रान्तिकारीले त्यसलाई हाकाहाकी तोड्ने गर्छन् । सुषुप्त चेतको समाजमा जागृति फैलिँदा ती क्रान्तिकारीलाई गाथगाथी ताक्ने, जनता भड्काउने वा आतंककारी भन्ने गरिन्छ । क्रान्तिपश्चात मात्र त्यस्ता स्वप्नद्रष्टा सहिदमा दरिन्छन् । नयाँ आउने व्यबस्था, समाज, राजनीति र सरकार सहिदको हकवाला बन्छन् । सहिद ज्ञात वा अज्ञात दुवैथरी हुन सक्छन् । राज्यसत्तालाई सिधा चुनौती दिने ‘अपराधी’ कालान्तरमा सहिदमा दरिन्छन् । इतिहास वर्तमानमा लेखिँदैन । वर्तमान त इतिहासको सन्दर्भ सामग्री मात्र हो । सत्ता हेरफेरपछि सरकारको ताल्चासाँचो लिनेहरु सहिदका पूर्वसाथी नै हुने गर्छन् वा हकदावी गरिरहेका हुन्छन् । आफ्नै आदर्श पुरुष वा सहयात्रीका भावना, सपना र प्रतिबद्धता अनुसार जब उनीहरु हाँकिदैनन् तब भूपि र सिंहका कविताले सान्दर्भिकता राख्छ । जहिले पनि सहिदका पहिलो हकवाला उनीहरुले देखाएका सपनाका कारिन्दा राजनीतिक पार्टी हुन् । त्यस समाजका जागृत युवा हुन्छन्। प्रिय सेवा सिंह, .... अहिले हामी जुन अवस्थामा बाँचेका छौं त्यो आदर्शको चीरहरण गर्ने समय बनाइदिएका छन्, अगुवाहरुले । त्यसैलाई पिच्च थुक्ने आँट गर्दैन मेरो समय र समाज । तमासा हेर्न वा आग्रह वा कुण्ठा वान्ता गर्न तिम्रा सन्तान अभ्यस्त भइसके । अस्तव्यस्तता छ । नवराजाहरुका कारण परिवर्तन अझैं संस्थागत हुन सकेको छैन । हाम्रा नसामा रगत हैन, पानी बगिरहेको छ झैं भएर जतिचोटी तिमी र सहिद वंशलाई सम्झिइन्छ, त्यति नै बेला हामीले आफैलाई अजाप्छौं र तिखार्छौं । कविताले अतालिएकाद्वारा मारिएका भारतीय कवि अवतार सिंह पास थप लेख्छन्– हम लडेगे अपने सजा कबुलने के लिए, लडते हुए मर जानेवालों की याद जिंदा रखनेके लिए हम लडगे साथी Read more at: https://dainikonline.com/story/23953/2020/1/30/article-narendrajang
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home