‘हार्मलेस लालसलाम’ को युग
यो सबैको हुन चाहन्छ तर कसैको पनि हुन सक्दैन। कसैले पनि उसलाई न हिजोको आदर्शमा न नयाँ फेरिएको चोलामै पत्याउँछ। ‘हार्मलेस लालसलाम’ पैदा हुनुपहिला कम्युनिस्ट र कांग्रेस बन्न लालसलाम कमरेड र जय नेपाल दाजु भनेर मात्रै पार्टी सदस्यता पाइँदैनथ्यो। टिके र दयामा नभई पार्टीमा संगठित भएर आन्दोलनमा जोडिनु अनिवार्य हुन्थ्यो। राजनीति मात्रै हैन, जीवन र जगत्प्रति हेर्ने, बुझ्ने र व्यवहार गर्ने पुरानो भूमिका र आदर्श नै फेरिने माग हुन्थे। स्थापित सांस्कृतिक मूल्यको संघार छिचोल्नु पथ्र्यो। जन्मजात बनेका धर्म, जाति, भूगोलले बनाएका परिचय र अहमता त्याग्न सनातनी संघार काटेर मानवतावादी समाजमा प्रवेश गर्नुपथ्र्यो। आत्मिक उत्र्सग र स्वनिर्मित अनुशासन, स्वेच्छिक त्याग, स्वयंसेवकपना सदस्यताका मानक आधार हुन्थे। ती सबैको केन्द्रमा मानवता, भ्रातृत्व र समानताका लक्ष्य हुन्थे। अझ कम्युनिस्ट पार्टी सदस्य बन्नमा भौतिकवादी मान्यता, वर्ग संघर्षलाई केन्द्रमा राखिने, विषयको बुझाइमा द्वन्द्ववादी सोच, हरेक आन्दोलनमा प्रत्यक्ष वा परोक्ष सहभागिता अनिवार्य हुन्थ्यो। समाज विकास, इतिहास, साहित्य, संस्कृति, दर्शनका अध्ययन सामग्री बन्थे। उच्चता र हीनताबोधविरुद्धको मानसिक निर्मम संघर्ष हुन्थ्यो। यो हार्मलेस लालसलाम समाजको विकास हुँदै जानु पहिलेका कुरा हुन्। अब त सामन्तवादको संघार छिचोल्न सफल भएका नै नयाँ सामन्तमा फेरिँदै गएपछि अर्थको अनर्थ हुने नै भयो। हार्मलेस लालसलाम हानिरहित कम्युनिस्ट विचारधाराको प्रतीक हो। यो सबैको हुन चाहन्छ तर कसैको पनि हुन सक्दैन। कसैले पनि उसलाई न हिजोको आदर्शमा न नयाँ फेरिएको चोलामै पत्याउँछ। जो आफ्नैलाई हुन सक्दैन अरूलाई के हुन्थे ! संसारका सबै राम्र कुराको घालमेल गरेर अति सुन्दर रङ बनाउन चाहनेहरू बेरङ भइदिन्छन्। नयाँ हुन नयाँ तर्क त गढिन्छन् तर सबै आदर्श जोडेर नयाँ सिद्धान्त बनाउन पनि चाहन्छ, तर त्यो ठिमाहा सिद्धान्त कसैगरी, कतै पनि फिट भने हुँदैन। चालु बैठकसम्म पुग्दा प्राविधिक विषयमा छलफल गर्ने तर मूल विषयबाट ओझलिँदै सिद्धान्त बहसबाट तर्कने सरकारी नेकपा त्यही हविगतमा पुगेको छ। नाटकीय अवस्थामा राजनीतिक अभ्यास गर्न बाध्य छ। पार्टीका अभ्यास र संसद्को गतिविधि नियाल्दा क्रमशः आलोचनात्मक चेत नष्ट भएको चुप्पी र आज्ञाकारी समाज निर्माणका अभ्यास भइरहेको देखिन्छ। पार्टीभित्र जिज्ञासा र प्रश्न मारिँदै छ। पार्टी निर्णयहरू बहस र छलफलभन्दा निर्देशन (हुकुम, केन्द्रीयता वा ह्विप) लागू भइरहेका छन्। जुन समाज प्रश्नबाट तर्किन्छ, त्यो समाज ध्वस्त हुनबाट कसैले रोक्न सक्दैन। जिज्ञासा र आलोचनात्मक चेत नै समाज विकास हो भने जीवन्त पार्टीको आत्मा पनि। जिज्ञासा नै क्रान्तिको चेत हो। हार्मलेस लालसलाममा नेताका निर्णय अन्तिम हुकुम हुन्छन् तर प्रश्न उठाइनु लोकतान्त्रिक समाजको एउटा अंग हो ,जसले प्रश्न, जिज्ञासाको हत्या गर्छ, त्यसले अर्को प्रश्न पनि जन्माइरहेको हुन्छ। नेपाली जनमत वामढल्को छ, सरकार पनि ‘कम्युनिस्ट’ को छ। समाजवाद हुँदै साम्यवादमा पुग्ने सुदूर-लक्ष्य पनि छन्। तर भन्नु र गर्नु, हुनु र देखिनु भनेका फरक विषय हुन्। जे छैन त्यो देखाउनुपर्ने, जे छ त्यो छिपाउनुपर्ने भएकाले समयसँगै लालसलामका अर्थ पनि फेरिएका हुन्। जब नाम ट्रेडमार्क बन्छन्, उत्पीडित र उत्पीडकबीचको सम्बन्ध कमरेडको हुन्छ, राष्ट्रवाद र साम्राज्यवाद एकै थलोमा बस्न सक्छन्, स्वाभिमान र दलालले एउटै मञ्च प्रयोग गर्न सक्छन्, कसैले कसैको हानि गर्दैनन्, चित्त दुखाउँदैनन्, बाघ र बाख्रा एउटै घाटको पानी पिउन सक्ने अवस्था रामराज्यकाल आयो भनिन्छ तब हार्मलेस लालसलाम सबैलाई सहज र स्वीकार्य हुन्छ। बैरीले पनि जे नाममा सत्ता चलाऊ तर हाम्रो भनेजस्तो गरे हामीलाई स्वीकार्य छ भनिदिएकै छन्। साम्राज्यवाद, विस्तारवाद, भ्रष्टतन्त्र, धार्मिक रुढिवाद, एनजीओवाद, दलाल पुँजीवाद, चंखे, चतुरे र चाप्लुसबाजलाई हार्मलेस लालसलामले कुनै अप्ठेरो पर्दैन। तब सनातनी सिंहदरबार मक्ख पर्छ। साम्राज्यवाद, विस्तारवाद, भ्रष्टतन्त्र, धार्मिक रुढिवाद, एनजीओवाद, दलाल पुँजीवाद, चंखे, चतुरे र चाप्लुसबाजलाई ‘हार्मलेस लालसलाम’ ले कुनै अप्ठेरो पर्दैन। आन्दोलनका वाणी र सत्ता स्वरूपको मूल पक्ष भनेको पार्टीको विचार, नेतृत्व र मुद्दा हो। विचारसँग दर्शन, नेतृत्वसँग नैतिक पुँजीसहितको सामाजिक अपिल गर्न सक्ने इच्छाशक्ति र मुद्दासँग सामाजिक अन्तरविरोधलाई केन्द्रीकरण गर्दै सल्ट्याउने उपचार विधि हुन्छ। नेतृत्वको ज्यादा प्रशंसा गरिएपछि नेतामा ओभर कन्फिडेन्स पैदा भएर सिद्धान्त र आदर्शको सरोकार राख्दैनन्। सामूहिक निर्णय प्रक्रिया टुट्छ। नेताका भनाइ र निर्णयलाई कार्यकर्ताले देववाणी स्विकार्न थालेपछि पार्टी र सदनमा हुकुमी प्रथा (ह्विप) सुरु हुन्छ। आस र त्रासमा रहेका कार्यकर्ता अवसर गुम्ला कि भनेर सबै सोच्ने जिम्मा नेतृत्वलाई मात्र सुम्पिँदा सिद्धान्त, विचार, दर्शनमा आधारित राजनीतिभन्दा व्यवहारवादी सिद्धान्तका वकालत सुरु हुन थाल्छ। जब नेता दाता वा मालिकमा फेरिन्छन् तब पार्टी र सदनमा जिज्ञासा र प्रश्नको हत्या हुन्छ। हार्मलेस लालसलामका भाषा त पुरानै हुन्छन् तर परिभाषा भने फेरिएर भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी), क्रोनी क्याटिलिज्म (साँठगाँठवाला पुँजीवाद) अटोक्रेसी (मनोमौजी राज्य) डेमोक्रेसी र सोसिलिज्म अन्तरघुलन गराएर हाइब्रिड राजनीतिक संस्कृति सुरु हुन्छ। तब राजनीतिशास्त्र र इतिहास, कम्युनिस्ट आन्दोलनका धेरै शब्द या त खारेज हुन्छन् या अपहरणमा परेर पक्षकारहरूको विश्लेषण शक्तिको सुविधाअनुसार व्याख्या हुन थाल्छ। दिमाग कब्जा भएपछि शब्दका परम्परागत अर्थ, महत्व शक्ति र सन्देश पनि फेरिने नै भए। जसरी ठूलो शक्तिले मिलाप भएको सानो शक्ति पचाइदिन्छ, त्यस्तै शक्ति सिद्धान्तले पनि विरोधी सिद्धान्त हजम गरिदिएर लालसलामलाई हार्मलेस लालसलाममा फेरिदिन्छ। ट्रेडमार्कमा पार्टी रहेपछि कथन र झन्डामा मात्र सगेटिँदा ठिमाहा राजनीतिक संस्कृतिलाई आर्थिक सिद्धान्तले पचाइदिन्छ। सिद्धान्तहीन लोकप्रियतावादले लतार्दा सबैको हुने तर कसैको नहुने अवस्थामा पुग्छ। त्यो अवस्थामा पनि बुर्जुवा पुँजीवादको अवस्थालाई सीधै स्विकार्न नसक्नु भनेको जनमतको भावना र पक्षधारिता हुन्। तब मात्र सबै वर्ग, चिन्तन र भूमिकापतिलाई पार्टीमा स्वागत गर्दै जानु हार्मलेस लालसलामको राजनीतिक संस्कृति बन्न पुगेको हो। जब शब्दशक्ति, शब्दसामथ्र्य, सन्देश र मर्म र भूमिका रहेनन् तब यो आम नीति बन्न पुग्यो। त्यसका असर क्रमशः देखा पर्दै गएर चालु केन्द्रीय कमिटीको बैठकका रूपमा देखियो। जम्बो कमिटी सदस्यले पहिलोपटक बैठकमा भाग लिन पाए पनि कमिटी चरित्र नभई माहाधिवेशनको जस्तो बन्यो। बहसमा संस्थागत भ्रष्टाचार मात्रै हैन, एमसीसी बहसले प्रभाव त पायो तर एजेन्डा बन्न भने सकेनन्। हामीलाई अमेरिकी सहयोग र सद्भाव आवश्यकता थियो र छ। तर, त्यसका लागि इन्डो-प्यासिफिक सैनिक प्याक्टमा नभई यूएसएडमार्फत नै पर्याप्त हुन्छ। एमसीसी सुरक्षा नीतिमा आधारित सम्झौता भएकाले यस भूसंवेदनशील मुलुकले थेग्न सक्दैन। हामी दुई विशाल देश र उदाउँदा महाशक्तिका बीचमा छौं। हाम्रो सुरक्षा असंलग्न परराष्ट्रनीतिले मात्रै गर्न सक्छ। एनसेल कर, यतीभित्रका रहस्यात्मक कारोबार र अभ्यास, भ्याट र बालुवाटारका उठतीले एमसीसी सहयोगभन्दा माथि रकम देशमै जुट्न सक्छ। तर हार्मलेस लालसलाम एउटा रहस्यात्मक अभियानमा लागेकाले महाकाली सन्धिभन्दा पनि यो कडा ह्विप (हुकुम) द्वारा तामेली हुँदै छ। उठेका स्वरहरू या त नत्र भनेमा दबिने छन् या तटस्थका सुख भोग हुनेछ या टिँटी फिस्स हुनेछन्। हार्मलेस लालसलामको राजनीतिक संस्कृतिको यो गुदी हो। मौलिक चरित्र गुमाएका कम्युनिस्टको हानिरहित लालसलाम अहिले वर्गबैरीलाई वीभत्स ‘सुन्दरता’ का महाकाव्य बनेको छ। इतिहासको कलामय व्यवस्थापन गर्न अंशमा टेकेर समग्रमा आक्रमण हुँदै जाँदा सेकुवा हसुर्ने तर रगत देख्न नचाहने महासाकाहारी समाजका लागि खेलमा झेल सहज भएको हो। सोच नै कब्जा गरेर खेलिने खेल भयावह हुन्छ। भ्रष्टाचार, वैज्ञानिक सोच र साम्राज्यवादसँग लड्ने कम्युनिस्ट र उदार प्रजातन्त्रवादीसँगको लडाइँ पनि लालझन्डेबाटै लडाउन पुगेपछि जहाँ तिमी युद्ध निर्यात गर्छौ त्यहाँ हार्मलेस लालसलाम उत्पादन गरेर लड्न सक्छौ भन्ने एमसीसीवादी, सिन्डिकेट भ्रष्टाचारवादी, द्वन्द्व व्यवसायी, कर्पोरेट राजनीति र नवसामन्तवादलाई सुन्दर विषय बनेको छ। सबैलाई मित्र र कमरेड देख्ने उदारवाद अझ राजनीतिमा खतरा हो। सबैका आआफ्ना पक्षधारिता हुन्छन्। वर्गीय समाजमा जो सबैको बन्न खोज्छ, ऊ कसैको पनि बन्नै सक्दैन। समय र पात्रका भूमिकासँगै अहिले शब्दका अर्थ पनि त्यसैले फेरिन पुगे। परिणाममा राजनीतिक लाभ हासिल गर्न खतरनाक तरिकाले शक्तिको दुरुपयोग हुँदा प्रायोजक देखिँदैनन्, आयोजक मात्र देखिन्छन्। निर्णय कहाँ र कसले कसरी लिइन्छ भन्ने कुरा उच्चाधिकारीलाई समेत पत्तै हुँदैन। मात्रै फैसला पढिन्छ र संसद् ह्विप (हुकुमु) मा तामेल गर्छ। आफ्नै इतिहाससँग आँखा जुधाउने शक्ति हराएपछि नयाँ इतिहास रच्ने त्यस्ताका कुरा कथा बन्छन्। त्यसैले हार्मलेस लालसलामले ‘लाली देखन मैं गया, मै भी हो गया लाल’ को हविगतमा पुर्याउँछ नै।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home