पार्टी ‘एकता’ मिलन कि मिश्रण
शक्तिले मैमत्त हुँदा र स्वार्थले घेरिँदा मान्छेको विवेक कसरी गुम्छ भन्ने घतलाग्दा कथा महाभारत ग्रन्थमा छन्। युद्धका सुरुवात, घात, प्रतिघात, दाउपेचका कलामय प्रस्तुति त छन् नै, तर आफ्नै गौरवता धान्न नसक्ने यदुवंशीका कथा त शक्तिमैमत्तको सुन्दर चित्रण हो। शक्ति शालीन हुँदैन। दम्भी भएकाले हेप्छ। कालान्तरमा सोही हेपाइ उसैको पनि सर्वनासका कारक बन्न पुग्छन्। दुश्मन त बैरी–कोखमा जन्मनै नपर्ने, दम्भी आफन्त नै पर्याप्त हुने। मनोयुद्धको खतरनाक धरापमा परेको नेपाली कम्युनिस्ट आन्दोलनमा विकसित घटनाक्रम भएको छ – मैं तो डुवा सनम, तुमको भी लेकर, जहाजको भी डुवाएगें। यो माओवादी आन्दोलन र अहिलेको सरकारी नेकपालाई ठ्याक्कै लागु हुन्छ। एमाले र माओवादीको पार्टी एकता नभई मिलन मात्र भएको थियो मिश्रण भएकै थिएन्। मानसिक बिरामी जस्ता एकापसका आरोप भुल्नै सकेनन्। गुटमा सामान्य हेरफेर भए पनि पहिलाका एमाले र माओवादी अहिले पनि समूहगत भिन्नै देखिँदै गए। धाँजा अहिले झन् फाट्दै गएको मात्र हो। ‘एकतामा’ दुवैका इतिहास एक अर्का हकवाला बन्छन्। तर ‘जनयुद्ध’ सम्झने कुनै कार्यक्रममा भने अधिकांश पूर्व एमाले नेता समावेश नभएर सन्देश दिई नै रहेका थिए। मिलन र मिश्रण फरक कुरा हुन्। मिलनमा आआफ्नो अस्तित्व र संस्कृति सुरक्षित हुन्छ भने मिश्रण एकापसमा अन्तरघुलन हो। नेकपा ‘एकताको’ अवस्था नियाल्न दुवै अध्यक्षको अभिव्यक्ति मात्रै हैन ‘ट्र्याक टु डिप्लोमेसी’ ईश्वर पोखरेल र जनार्दन शर्माको सक्रियता र भनाइ पनि नियाल्नुपर्छ। पार्टीबीच एकापसमा बैंक जस्तै मर्जर हुने प्रक्रिया चलेको छ। जब पुरानै तरिकाले एकअर्काको स्वार्थ रक्षा हुन सक्दैन्, प्रतिस्पर्धामा टिक्न सक्दैनन् तब शक्ति र स्वार्थले मर्जरकोे विकल्प रोज्छ। मिलनमा स्वत्व रक्षा महत्वपूर्ण हुन्छ भने मिश्रणमा विचार, आदर्श, मूल्य र इतिहास एकापसमा घुलमेल हुन्छन्। रासायनिक मिश्रणविनाको भौतिक मिश्रण दीर्घकालीन हुँदैन। हाइड्रोजन र अक्सिजनको मिश्रण पानी बन्छ तर चिनी र पानी अन्तरघुलनको सर्वतमा चिनीको रूप फेरिन्छ, पानीको स्वाद पनि। त्यस्ता भौतिक मिश्रण पनि विशिष्ट अवस्थामा अलगिन सक्छन्। स्वत्वका टकराहट बढ्दै जाँदा पार्टी मर्जर पनि टुट्न सक्छन्। नेपाली कम्युनिस्ट आन्दोलन स्वत्वलाई विचारको लेपन लगाएर जोड्ने र तोड्ने अनेकौं घटनाबाट घायल छ। अर्कातर्फ भिन्न पहिचान र शुद्धताका नाममा सानै कोटरीको सर्वोच्च बन्ने रोगले पनि सताएकै छ। एमाले माओवादीको मिलाप कम्युनिस्ट दायित्व र समाजवादी लक्ष्यले नभई शक्तिआर्जन र गुट व्यवस्थापनका समस्याले उत्प्रेरित थियो। शक्ति आर्जनका लागि वाम जनमतलाई आवेगमा ल्याउनु नै पार्र्टी ‘एकताको’ मर्म थियो। अहिले भने वैचारिक एकता नभई परिस्थितिले सिर्जना गरेको ‘एकतालाई’ धान्न फलामकै च्यूरा चपाए झंै भइरहेको छ। सिद्धान्त, नीति, विचार, कार्यक्रम, संगठन, रणनीति र कार्यनीति सबै हिसाबले सुस्पष्ट र सुदृढ रूपमा संस्थागत गर्ने परिचय नै जीवन्त पार्टीको एकता हो। तर सरकारी नेकपाको पार्टी र सरकारमा त्यस्तो छनक देखिँदैन। विरोधको घेराबन्दी फैलँदो छ। पार्टी व्यवस्थापन कमजोरीले प्रतिरक्षा घेरा खुम्चिएर साँघुरो हुँदै गएका छन्। हेपिएका र सार्थक भूमिका नपाएका कार्यकर्ताले सरकार र पार्टीलाई आवश्यक सहयोग गरेका छैनन्। संगठन अकर्मण्यतामा फस्दा समाजवादी नारा त समात्नु तर व्यावहारिक पक्ष पक्रन नसक्नाले पार्टी र सरकारको विचार र भुइँसँगको सम्बन्ध टुट्दै छ। भावना, आग्रह, आशंका, स्वत्वको टकराहट, कूटनीतिक दाउपेच र गुट रक्षामा उल्झँदा सरकारी नेकपाको ‘एकता’ अहिले त्यस्तै दलदलमा फस्यो। ऊ जति उम्कन खोज्छ त्यति नै भासिने नियति झेल्दै छ। लामो प्रयासपछिको सचिवालय बैठकले फेरि पनि निरन्तरता पाउन सकेन। केन्द्रीय समिति मात्रै हैन स्थायी समितिसमेत बेरोजगार छ। ‘एकता’ को १३ महिना बितिसक्दा राजनीतिक प्रतिवेदनसमेत प्रकाशित हुन सकेन। पार्टी खुम्चेर दुई अध्यक्षमा सीमित भयो। जहाजमा दुइटा पाइलट हुनै सक्दैनथे। भद्र–सहमति छरपष्ट भए। पार्टीभित्र चल्नुपर्ने बहस व्यंग्य र उखान–टुक्का बन्दै राजनीतिक बजारका ठट्टा बने। सांस्कृतिक र राजनीतिक समस्याको प्रशासनिक हल खोज्दा सुझबुझ रहेन। दण्ड र पुरस्कार पूर्ण असफल भयो। पुराना कुरा त तपसिलमा परेकै थिए, मिडिया, गुठी र विप्लव माओवादी नेता÷कार्यकर्तामाथिका इनकाउन्टर सदनमै गुञ्जिए। सरकारको स्पष्टीकरण आम जनताले पत्याएनन्। प्रतिरक्षामा पार्टीकै सदस्य नउभिँदा सरकार नैतिक संकटमा फस्यो। प्रधानमन्त्रीले रोस्ट्रमबाट फिर्ता आउनु र सरकारी विधेयक फिर्ता लिन विवस हुनु भनेको संसदीय अभ्यासमा ठूलो झट्का हो। एकीकरणको वर्ष दिन नाघिसक्दा न ‘एकताले’ पूर्ण रूप पायो, न केन्द्रीय कमिटि बैठक नै बस्न सक्यो। सचिवालयको वैधानिकता समेत अध्यक्षहरूमा खुम्चिन पुग्यो। त्यसले पनि एकापसमा सार्वजनिक कटाक्षको रूप लिइसक्यो। आश र त्रास झाँगिदै जाँदा गुटको रडाको, पुराना गुट भत्किने र नयाँ समीकरण फेरिनाले पोलिटब्युरो बन्न सकेन्। एकताले पुराना आग्रह भत्काउने माग गर्छ। तर समय घर्कंदै जाँदा भद्र–सहमति समेत तोडिए। बन्दकोठाका सहमति सतहमा छरपष्ट भएर त्यसको असर सरकारी कामकाजमा पर्न गयो। यतिबेला दुईतिहाइ बहुमतको सुगमताको सरकार भए पनि उसको नैतिक हैसियत सदन र सडकमा बबुरो नै देखियो। अंकगणितीय दम्भलाई मण्डलाले कन्तबिजोग पारिदियो। मर्जरमा भनेको पच्ने र पचाउने अभ्यास हुने गर्छन्। ‘एकताका’ लोकप्रिय नारा लम्पट कार्यकर्तामा आवेग भरिदिने शक्ति–सुरक्षा इतिहासका नजिर हुन्। पच्ने र पचाउने खेल ‘एकताको’ भद्र सहमतिसँग जोडिँदै आचरणमा देखिन्छ। संगठनमा व्यक्तिन्छ। इतिहास नियालौं–राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस बने पनि राष्ट्रिय कांग्रेसले प्रजातान्त्रिक कांग्रेसलाई पचाइदियो। मुक्तिमोर्चालगायत मिलेर बनेको नेकपा मालेमा झापाली विद्रोहीले उनीहरूलाई खासै महत्व दिएनन्। गुटसंर्घषमा मदन भण्डारीको उदयपछि मात्र झापाली वर्चश्व मालेमा कमजोर बन्दै गयो। मनमोहन अधिकारीको माक्र्सवादी समूह एमालेले पचाइदियो। एमाले विभाजन र मिलनलाई संस्थापन पक्षले अझै मालेलाई ईश्याभावले हेर्छ। ०५६ विभाजित मालेका नेताले अहिले पनि उपयुक्त जिम्मेवारी पाएका छैनन्। अहिले एमाले माओवादी ‘एकता’ लाई पनि उसले एमालेमा विलयको अर्थबाट मात्र बुझेको छ, जसरी डा. बाबुराम भट्टराईलाई समाजवादी फोरमले। प्रचण्डको नेतृत्वमा अनेकौं पार्टीका नाम धारण गरिए पनि मशालको ह्याङ ओभर र संस्कृति रहँदै गए। निर्मल लामा र रुपलाल विश्वकर्माले प्रतिकारको कोसिस गरे पनि खासै सफल भएनन्। रुपलालले कम्युनिस्ट कित्ता नै छोडे। ‘जनयुद्ध’ कालमा पनि अन्य पार्टी वा व्यक्तिबाट ‘एकता’ गरेकाको हैसियत सीमित पारियो। ०६३पछिका ‘एकता’ र माओवादीमा सामेल भएकालाई ‘जनयुद्ध’ बाट आएकाले भाग खोज्न आएका अवसरवादी भनेर लखेटिरहे। विचारको बेमेलले मोहन वैद्य ‘किरण’ अलग भए पनि डा. बाबुराम स्वत्वका टकराहटले अलगिएका हुन्। उनले पनि फुटेर पार्टी बनाए। अपेक्षाको नतिजा पाउन नसक्दा फेरि उपेन्द्रसँग पार्टी मर्ज गरे। राप्रपा, राजपाको मर्जरका तिलस्मी कथा त अझ रोचक छन्। अहिले सरकारी नेकपा बन्दा प्रचण्डसामू ‘एकताको’ चुनौती भनेको इतिहास र स्वत्वको रक्षा हो। अहिले नेकपालाई समाजवाद, समृद्धि, एकता र कम्युनिज्म जस्ता शब्द लोकप्रिय ट्रेडमार्क बनेका छन्। कर्मसँग नजोडिएका शब्दको आलंकारिक महत्व भए पनि सार्वजनिक कुनै अर्थ रहँदैन। विशिष्ट क्षणमा गरिने सहमति र सम्झौताभित्र शक्ति सञ्चयको अदृश्य पक्ष हाबी रहन्छ। पच्ने र पचाउने खेल जोडतोडले चल्छन्। गुटको रक्षा नगर्ने हो भने गुटाधिपति स्वयंको पनि रक्षा हुँदैन। पार्टीको सर्वोच्चतामा धेरै दिनदेखि शिखरमा रहेका दुवै अध्यक्ष शक्ति–खेलका चतुर खेलाडी हुन्। दुवै टुट्न सक्ने तर झुक्न नसक्ने अवस्थामा छन्। त्यसैले शक्ति समीकरण र अंकगणितका खेलले गर्दा बालुवाटार प्रकरणमा महासचिव बचाउन दुवै विवस बने। घेराबन्दीमा परेको सरकारलाई गम्भीर विषय विषयान्तर गराउन नकारात्मक नै भए पनि विप्लव नेताको इन्काउन्टर, गुठी र मिडिया विधेयक सञ्जिवनी बन्न पुग्यो। उसमाथिका पुराना आरोप, दबाब, सडक र मिडियाले समेत बिर्सिन पुगे। जब पार्टीमा सिद्धान्तको राजनीतिको अन्त्य हुन्छ तब सुविधाका कलामय षडयन्त्र चालु हुन्छन्। कुनैबेला दायित्व र आवश्यकताले निर्देश गरेको एकता सुविधाको राजनीतिमा पुग्दा सोही मर्म थेग्न नसकेर मिलापमात्रै बनिदिन्छ। भावना, आग्रह, आशंका, स्वत्वको टकराहट, कूटनीतिक दाउपेच र गुट रक्षामा उल्झँदा सरकारी नेकपाको ‘एकता’ अहिले त्यस्तै दलदलमा फस्यो। ऊ जति उम्कन खोज्छ त्यति नै भासिने नियति झेल्दै छ। ‘एकतालाई’ दुईतिहाइको अंकगणितले नभई आश र त्रासको कमजोर बन्धनले मात्रै टिकाइरहेको छ। विरोधी शक्तिको डरले मात्रै ‘एकता’ जोगिइरहेको छ। यो समीकरण कुनै पनि बेला भत्कन सक्छ। धानको च्यूरा थुकले भिजेजस्तो फलामको च्यूरा भिज्दैन है।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home