देब्रेचश्माले दिदीलाई नियाल्दा
Narendra Jung Peter·Friday, May 31, 2019 कृतिशेष समाजकै दिदी नर्वदा सर्मा खनाललाई आर्यघाटमा अन्तिम प्रणाम गर्दा अनेकौँ भाव तरङ्गित छाल झै आए र बिलाए । यसैपनि घाटमा मान्छेले स्वमृत्यूवोध गर्छ । जलिरहेका चिता सामने आफ्नै पनि निर्मम समीक्षा गर्छ । मृतकको स्तरसंगै मलामी भावुक, चिन्तक मात्रै बन्दैन् उस्को, आफ्नो र मानव समाजबारे गम्भीर भएर सोच्दछ पनि । लहरै लास जलिरहेका थिए, त्यसमध्य समाजकी दिदी नर्वदा पनि ज्वाला बनेर दन्किरहेकी थिईन् । हैन् ..हैन् –उनको शरीर मात्र जलिरहेको थियो, उनको कृतिशेष भने भरभराँउदो थियो । चिताका लप्का धुवाँबनेर आकासपथमा लागीरहँदा त्यसले दिईरहेका सन्देश र शिक्षा भने –मानिसको जिवन खाना, बच्चा पैदा गर्न र मर्न मात्रै हैन् यसलाई सार्थक जीवन वाँच भन्ने चिताको चित्कार सन्देश बनेर गुञ्जिरहेझै लाग्थ्यो’ । मान्छेकोे जन्म कुन कूल, परिवार र समाजमा जन्म्यो भन्ने उस्को नियन्त्राणमा हुँदैन् तर जीवनकर्मको पूर्ण जिम्मेवार र अधिकार भने उहीसंग रहन्छ । जस्को जीवन कृति बन्यो, त्यही कृति अव कृतिशेष मात्र भयो । यो छोटो लेख ब्यक्तित्व समीक्षा हैन्, त्यही व्यक्तित्व ग्रन्थको एकाधपाना मात्र हो–यो स्मृतिसंमान । दिदी प्रणाम । एउटा पूर्णमान्छे बन्न विताएका क्षण, भोगेका पल, खितखिताएका हाँसो, झरेका आँशु, मित्र र विमित्रसंगका तितामिठा अनुभव, पाएका र झेलेका मानसिक यातना, गर्नु परेको संघर्ष, चित्रमय बुनिएका काल्पनिक सपना, च्यातिएका पोट्रेटहरु, गरिएका कल्पना, एकान्तमा ऐनासंग गरिने संवादहरुको संगालो नै त एउटा पूर्णमान्छेका कथा र ब्यथा बन्ने गर्छन् । तत्कालीन समयको प्रतिनिधी एउटा सार्थक मान्छेको भोगाईका जीवन इतिहासलाई सर्न्दभ सामाग्री बन्छ । कतिपय अवस्थामा स्वयं पात्रले आफैँसंग रहेको अन्तरनिहित शक्ति पनि थाहा पाउन सक्दैन् भने अत्यन्तै अन्तरङ्गमित्रले पनि उस्का दिल र दिमागको भेउ पाउनै सक्दैन् । एउटा ब्यक्तिवाट व्यक्तित्वमा फेरिएर अव भने जीवन शेषकृतिमा रहनु भएकी दिदी नर्वदा पनि त्यस्तै हुँन् । नर्वदा दिदी ब्यक्ति एक, व्यक्तित्व अनेक थियो । लोकतन्त्रवादी, शिक्षिका, साहित्यश्रष्ठा एवं अभियन्ता र समाजसेवा । उनको मूल परिचय समाज सेवा नै हो । समाजसेवा भनेपछि अहिले रवाफिलो व्यवसाय बनिरहेको समयमा होची दिदीको अग्लो सामाजिक–कद नेपालगंजको त गहना मात्रै हैन् गौरवता नै थियो । अनुकरणिय शिक्षा बन्यो । एक ‘कुलिन’ परिवारमा जन्मिएर घुम्टोमा कैद संस्कारवाट सडकमा निक्लनु एक अविवाहित महिलालाई तमाम प्रतिकूलतासंग जुझ्नु सामान्य चुनौति थिएन्, होला । समाजको औँला निस्ठठूर भएर ठडिन्छन् । सुन्दरता र आर्दशका परिभाषा पनि आफू अनुकूल व्याख्यागर्दा सोही मानकमा दागरहित हुँनुँ चानचुने विषय थिएन् । उनले सांसारिक जीवनयात्रा (विवाहित जीवन) नरोजेर समाजिक अभियन्ताको जीवन रोज्नका आफ्नै कथाव्यथा, अवस्था, मूल्य, मान्यता र आर्दश भएरै होला । एउटा फलाम स्पात बन्न कडा भट्टीमा खारिएको हुन्छ, चानचुने राप र तापले मात्रै बन्दैन् । सभ्रान्त खनाल परिवारमा जन्मेकी चेली समाजमा सर्वस्वीकार्य दिदी बन्ने यात्रा, कम चुनौति र सामान्य जोखिम थिएनन् होला । आर्थिक सम्पन्नताले मात्रै आर्दशको भूमिका तय गर्न सक्दैन् । हामीले धेरै कन्जुसराम देखेका छौँ । खुशी वेचेर सुख किन्नेहरु अथवा अरुका चिहानमा महल ठड्याउनेहरु यसै समाजमा वर्गेल्ती नै देख्न पाईन्छ । योवन, धन र शक्ति चञ्चल हुन्छन् तर चिरस्थायी भने हुँदैनन् । रहने भनेको कृतिशेष मात्रै चिरस्थायी हो भन्ने आत्मास्वीकार नै जीवनका कठिन मोडलाई सहज पार्न सकिन्छ । मेरो अध्ययन,सरोकार र सामिप्यता भने ‘एकयूगमा, एकदिन, एक पटक आँउछ’ भनेर यूगचेत ललकार्ने कबि गोपाल प्रसाद रिमालकी भाञ्जी र उहाकै सामिप्यतामा संवेदनशील भएकी साहित्यिक अभियन्ता नर्वदादिदीसंग रह्यो । त्यो ‘प्रयास साहित्यिक समुहको’ सक्रियताकालमा अझ झाङ्गियो । हामी प्रतिभालाई घरको चौखटबाट सार्वजनिक मञ्चमा निक्लन अनुरोध गर्थ्यौ, हौस्याउथ्यो, प्रेरित गर्थ्याै । मेरालागी देब्रेचश्माका आग्रह र सकृय राजनीति जीवनका साघुँरोपनाले केही समस्या त पथ्र्यो नै । तर, बाधक भने बनेन् । बन्दकोठामा डिप्रेसले गूम्सिरहेका कबि गायक प्रेमप्रकाश मल्ललाई निकाल्न कठिन थियो भने इन्द्रमणि मानव, नन्दराम लम्साल र सनत रेग्मीलाई एउटै मञ्चमा उभ्याउन पनि सामान्य कुरा थिएन । उर्दु र अवधी साहित्यलाई सतहबाट सनातनी मञ्चमा उतार्नु पनि फलामे च्यूरा चपाएझैँ हुन्थ्यो । अभाव र तनावमा रहेका कबि, गायक मल्ललाई आर्थिक सहयोग सहितको सार्वजनिक संमान हामीले दिदीकै संयोजनमा पुरा गर्यौँ । त्यो प्रेरणामय अभियानको अभिभावकत्व दिदीले निभाएको ‘प्रयासको’ संपति बन्यो । हामी बहुभाषिक, बहुसास्कृतिक गोष्ठी गर्थ्यौ, दिदीको सकृयउपस्थिति हाम्रा उर्जा बन्थे । समय र प्रतिवद्दताको अत्यन्तै खरो र ख्याल गर्ने दिदीको स्वभाव भिन्न बैचारिक आस्था र सक्रियता रहे पनि हाम्रा अभियानमा कहिल्यै बाधक बनेनन् बरु अनेकतामा एकता ‘प्रयास’ अभियानका साधक बने । आर्यघाटबाट फर्कदैगर्दा कृतिशेष अभियन्ता, विदुषी नवर्दादिदीलाई भन्न मन लाग्यो– हे, मनिषा... हरेक मान्छेका झै तिम्रापनि कानुनी र आर्थिक उत्तराधिकारी त होलान् तर के तिम्रा भावना, आर्दश, सपना र अभियानका हकवाला अब कोही रहलान् ! के उनका कानुनी र आर्थिक हकवालाहरुले उन्को स्मृति ज्यूदो राख्न एउटा आग्रहहीन र सन्देशमूलक प्रतिष्ठान मार्फत उहाँको शेषकृतिको निरन्तरता दिने प्रयास त गर्लान ! अन्तिम प्रणाम, अलविदा दिदी ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home