Sunday, June 16, 2019

आफ्नै गौरवताको बोझ

नेपाली इतिहासमा राज्यसत्ताको क्रमभंग गराउने जनयुद्ध कोसेढुंगा थियो। कम्युनिस्टहरूलाई विश्वव्यापी प्रतिकूलता भएको बेला सो विद्रोह राजनीतिक मात्रै नभई सामाजिक, सांस्कृतिक चोटिलो हस्तक्षेप र प्रहार पनि थियो। जब एकाध मान्छेले देखेका सपनालाई नैतिक पँुजीसहितको इच्छाशक्ति राख्न सक्ने नेतृत्वले अपिल गर्‍यो भने एकपटक समाज जुरुक्क उठ्न त सक्दो रहेछ, त्यसको प्राप्तिका लागि नयाँ इतिहास रच्न पनि सक्दो रहेछ। तर, फेरिएको अवस्थामा उपलब्धि बचाउन भने कठिन हुँदो रहेछ। माओवादी जनयुद्ध भारत र पश्चिमालाई घाँडो बनेको थियो। पहिला वास्तै गरेनन्। जब महत्व दिन थाले त्यो बेलासम्म नियन्त्रणबाहिर गइसकेको थियो। भारतको किङमेकर प्रान्त बिहार, यूपी र बंगालसम्म सीमा जोडिएको यस भूगोलमा भएको सम्पूर्ण क्रान्ति भारतले सहज मान्नै सक्दैनथ्यो। घटना नेपालको थियो, खैलाबैला भारतमा र पँुजीवादी संसारमा फैलिएको थियो। भारतको फैलिँदो माओवादी विद्रोह ध्वस्त गर्नु र सन्देश पनि उसलाई दिनु थियो। अरब सागरदेखि सगरमाथासम्मको रेड क्यारिडोर फैलिँदै गएको वाम विद्रोह ध्वस्त गर्नु थियो। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आन्तरिक ठूलो थ्रेटमा नक्सल आन्दोलन (माओवादी विद्रोह) इंकित गरेका थिए भने नेपाली जनयुद्धले भारतीय माओवादीको मनोबल बढाएको विश्लेषण थियो। सुरुवाती दिनमा भारतीय माओवादीले नेपालमा आएर सैन्य प्रशिक्षण ‘दिएका पनि हुन्’ भने भारतमा गएर नेपाली माओवादीले उनीहरूसँग सैन्य प्रशिक्षण पनि लिए। तर सत्ता-विश्लेषकहरूको जस्तो भारतीय सेनाले खम्पा विद्रोहीलाई जस्तै देहरादुनको चक्रतामा तालिम दिएको भन्ने नयाँ कथ्य रच्ने कोसिस मात्र थियो। जनयुद्ध ध्वस्त गर्न अमेरिका, पश्चिमा र भारत सबैको चासो र चिन्ता एक थियो भने रुकुमको खारा आक्रमण विफल भएपछि अर्को बाटो रोज्ने कि सखाप हुने ! माओवादीसामुन्ने चुनौती थपिँदै थिए। पार्टीमा आन्तरिक कलह बढ्दै जानु, पीएलएमा नयाँ भर्ती कम हुँदै जानु, आर्थिक क्षेत्र खुम्चिँदै जानु, विकास निर्माणका कार्य प्रभावित क्षेत्रमा नपुग्नु अनेक कारणले नयाँ नीति लिन पार्टी बाध्य हुँदै थियो। अमेरिकी सेनाको नेपाल उपस्थितिबारे एक साप्ताहिकमा बारबरा एडम्सले आफ्नो कोलममा लेखिन पनि। तब भयो ०५७ कै निरन्तरताको अर्को अभ्यास चुनबाङ बैठक। त्यसले नयाँ दिशा पक्रियो। वर्तमान बुझ्न र भविष्यको मार्गचित्र कोर्न इतिहास बोध दर्बिलो औजार हो । आग्रहबाट इतिहास बुझ्न सकिँदैन, न हिजोको शिक्षा लिन सकिन्छ, न भविष्यको तस्बिरै खिच्न । दरबारसँगको स्वत्वको टकराहटले कम्युनिस्ट फोबियाग्रस्त बीपीभ्राता गिरिजाप्रसाद कोइरालालाई पनि नयाँ ठाउँमा पुर्‍याइदियो। सामन्त टुट्न सक्छन् तर झुक्न सक्दैनन् भन्ने ज्ञानेन्द्र नजिर बने। पूर्वराजा ज्ञानेन्द्रले भारतीय राजदूत श्याम शरण र गिरिजाबाबुसँगको स्वत्वको टकराहटले राजशाही अहंकारले बुझ्न सकेनन्। जनयुद्ध र जनआन्दोलनको संयुक्त नेतृत्वले ०६३ वैशाख ८ गते भारतीय विशेष दूत कश्मिीरी महाराज डा. कर्ण सिंहको आदेश स्विकारेन। त्यसको दण्ड कलिलो गणतन्त्र र नवसामन्त काठमाडौंले न्यारेटिभ नै फेरिएर मधेस विद्रोहका रूपमा झेल्नुपर्‍यो। राजनीति विचारको खेल मात्रै नभई आवेगको कलामय नेतृत्व पनि हो। लोकप्रिय नारा र आवेगी भीड मनोविज्ञानलाई जनयुद्धको राप र तापको अहंकार कलाविहीन राजनीतिका कारण माओवादीले बुझ्न सकेन। उसका नारामा स्वयं खस्किँदै जाँदा नारा नै अपहरणमा परे। जनयुद्धको सुरक्षित अवरोहण गरे पनि उसलाई मनोयुद्धमा फसाएर त्यसको गुण ध्वस्त गर्नु साम्राज्यवादलाई आवश्यकता थियो। अहिले माओवादी विघटनलाई हेरेर बुझ्न सकिन्छ। घटनाक्रमको पनि सूक्ष्म अध्ययन गर्दै शक्ति राष्ट्र आफ्ना हितमा कसरी घटनाको व्यवस्थापन गर्दा रहेछन् ! एउटा ठूलो ग्रान्ड डिजाइनमा धोबीघाट जमघट भयो। आयोजक देखिए पनि प्रायोजक नदेखिएको त्यस भेलाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री त बनायो तर त्यो एकता एक हप्तासम्म पनि टिक्न भने सकेन। माओवादीले जनयुद्ध छिचोले पनि मनोयुद्धको धराप भने छिचोल्न सकेन। निजी पुँजीको विरुद्ध आफ्नै सम्पत्ति पार्टीकरण भएका थिए, सांस्कृतिक रुढिवादमाथि प्रहार भएको थियो, भुईंमान्छे र दलितका विषय आन्दोलनका सिरानमा थिए, उपभोक्तावाद, परिवारवाद, भ्रष्टाचार जेजेका विरुद्ध विद्रोह गरेको थियो, त्यसैको धरापमा फस्दै जाँदा पार्टी फुट्दै गए। शत्रु अन्यत्र रोज्नै परेन। स्वयं प्रचण्डलक्षित विस्फोटक एम्बुस कन्चनपुरमा थापियो। अहिले सत्ताको चरित्र फेरेको र हस्तक्षेपको राजनीतिले समाजमा पारेको प्रभाव, भुईंमान्छेमा पलाएका आत्मसम्मानको भोक र प्रतिरोधी क्षमता जनयुद्धको उपहार बने। इतिहास कहिलेकहीं ठट्टा गर्छ, कहिले निर्मम हुन्छ। अहिले भने पार्टी एकता, मिलन, समावेश भन्ने बहस चलेका छन्। प्रचण्ड नेतृत्वले एमालेसँग र बाबुराम नेतृत्वले उपेन्द्र यादवसँगको एकताको मर्म अझै बुझ्न सकेका छैनन्। उपेन्द्र पहाड चढेका हुन् कि बाबुराम तराई झरेका हुन् ! पार्टी एकता वा संयुक्त मोर्चा भनेको निल्ने वा पचाइदिने खेल हुँदो रहेछ। तत्कालीन नेकपा एकता केन्द्रमा मशालले चौथो महाधिवेशन, सर्वहारा श्रमिक लिग, मसाललाई पचाएर माओवादी बन्यो। निर्मल लामा र रूपलाल विश्वकर्मा बाहिरिए। तर ‘महान् लक्ष’ बोकेका बाबुराम भट्टराई टिके। अहिले महागन्तव्य रोजे। खाराले दिएको शिक्षा र सन्देशले पुरानै तरिकाले नयाँ लक्ष्य पूरा हुँदैन भन्ने अठोटमा जनयुद्धका सुप्रिमो प्रचण्ड निचोडमा पुगेर नयाँ बाटो खन्न थाले। ढाडमा चढेर टाउकोमा हान्दै शान्ति प्रक्रियाका अनेकौं घुम्टी, कयौं संसदीय अभ्यास हुँदै बढे। अहिले केपी र प्रचण्डसँग पार्टी एकताको पच्ने र पचाउने नयाँ खेलको चुत्थो विकल्प थियो। मिलाप त भयो अझै एकता भने पूरा हुन सकेन। हुकुममा चलाउन अर्थात् बहस हुँदै नहोस् भनेर जम्बो कमिटी बने। यसरी एउटा महान् विद्रोहका नेता इतिहासमा कैद भए। अन्त्यमा, वर्तमान बुझ्न र भविष्यको मार्गचित्र कोर्न इतिहास बोध दर्बिलो औजार हो। आग्रहबाट इतिहास बुझ्न सकिँदैन, न हिजोको शिक्षा लिन सकिन्छ, न भविष्यको तस्बिरै खिच्न। १. आफ्ना औचित्य सावित गर्न नयाँ न्यारेटिभ तयार गर्न आवश्यक हुन्छ। प्रजातन्त्र र राष्ट्रियताका आवरण हुने गर्छन्। भयदोहनले मानसिकता तयार गर्नु र नयाँ कथ्यले औचित्य सावित गर्न कुशल तर्कबाज र सशक्त मिडिया चाहिन्छ। बीपीको अडिटवाद, राजा महेन्द्रको अराष्ट्रिय तत्व, माओवादीको गतिविधिका ‘वीभत्सता’ द्वन्द्वउद्यम, डा. कर्ण सिंह मिसन असफलता र काठमाडौंको वर्चश्ववादी नीतिको परिणाम मधेस विद्रोह, सरकारी नेकपाको ‘महान् एकता’, समाजवादउन्मुख र समृद्धिका नाराभित्रका नांगो वास्तविकता सहज र सरल तरिकाले मात्र बुझ्न सकिँदो रहेनछ। २. सार्कको ठाउँमा बिम्स्टेक, असलंग्नताको ठाउँमा इन्डो-प्यासाफिक एलायन्सले नेपाल अब पश्चिमा अर्थात् अमेरिकी हितका लागि तिब्बतको संवेदना र चीन घेर्ने नीतिकै हिस्सा बन्दै गएको छ। यसले शीतयुद्धको बेलाभन्दा महँगो मूल्य तिर्नुपर्ने छ। ३. द्यसंसारमा सानो देश, सानो आकारको अर्थतन्त्र भए पनि सामरिक महत्वको भूभागमा छ भने उसको आन्तरिक विषयमा पनि महाशक्तिको सरोकार हुन्छ। पार्टी र सरकारको सूक्ष्म व्यवस्थापनमा हात हाल्छन्। ४. विचारविहीन पार्टी बनाउन संगठन व्यक्तिकेन्द्रित गराइन्छ। प्रलोभन बाँडिन्छ। कमिटीगत प्रणाली ध्वस्त गरिन्छ। जम्बो कमिटी त्यसैका उदाहरण हुन्। ५. विचारका अगुवाले आफ्नै गौरवताको बोझ उठाउन नसके पनि आन्दोलन, क्रान्ति, विद्रोहले पारेको प्रभाव राजनीति र समाजमा अमिट छाप छोडेर अर्काे चरणको ऊर्जा बन्ने गर्छ। http://annapurnapost.com/news/129987

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home