Sunday, May 10, 2020

भूमण्डलीकरणमा सूचनाशक्ति

भूमण्डलीकरणमा सूचनाशक्ति December 27, 2009 at 3:21 PM अहिले नेपालको राजनीतिक गतिरोध र विकसित अवस्थाबारे विभिन्न कोण र आशयबाट दुनियाँमै अनेकौं चासो बढेको छ, चिन्ता छाइराखेको छ । स-साना देशहरु पनि विश्व महाशक्ति र उदीयमान ताकतलाई उपेक्षा गर्न नसक्ने अवस्था आउनु भनेको नयाँखाले भुमण्डलीकरण नै हो । सूचना र सञ्चारको सीमारहित नियन्त्रणहीन पहुँच नै हो । यसको झझल्को छिमेकी मुलुकका सञ्चारमाध्यममात्रै होइन, पश्चिमा मिडियासमेतमा देखिएको छ । अहिलेको संवेदनशील नेपालको अवस्था द इकोनोमिक्स र द एसियन टाइम्सका विषयमात्रै अहिले बनेका छैनन्, ब्याकुलताहरु अनेकौं ब्लग र इन्टरनेट चौतारीहरुमा समेत देखापरिरहेका छन् । यो राजनीतिक गतिरोध कसरी तोडिनसक्छ ? र, कसरी मूल विषयमा केन्दि्रत हुनसक्छ भन्ने बिषय अहिले उठिराखेका छन् । विदेशी मित्रहरु र देशबन्धुहरुको च्याट, ब्लग र अनेकौं विद्युतीयपत्रमा आइरहेका भावहरु मूलतः यिनै हुन् । त्यसको जवाफ हुनजान्छ- विधिको शासन र विधि निर्माण गर्ने थलो संसद भएकाले उठेका र उठ्नसक्ने समस्याको निकास त्यसैलाई बनाउँ भन्ने र बहस त्यहाँ प्रवेश निषेध गराउनेबीचको टकराहट, र त्यो बढ्दै जाँदा बन्दै गएको संवेदनशीलता, सहमतिको राजनीतिको विमतिको दिशा पक्रिनु । संसद नै छलफलको सर्वाेच्च थलो हो भन्ने नै विश्वव्यापी मान्यता हो । यहाँ भने संसदमा विषयलाई प्रवेश निषेध गराएर समस्याको बिजारोपण गरिएको छ । राष्ट्रपति बहसनिषेध संस्थामा फेरिएर जनअभिमतकर्ताहरुको औचित्यमाथि प्रश्न र संसदको गरिमालाई लत्याएर यथास्थितिको पक्षपोषण भइरहेको छ । उनले ठीक, बेठीक जे गरेका हुन्, त्यो बहसहीन हुनसक्दैन भन्ने एउटा विचार र अर्काे त्यो बहसविहीन बनाएर मयार्दामा राख्नुपर्छ भन्नेबीचको टकराहट । अहिले समान्य देखिए पनि यो दीर्घकालीक महत्वको थियो र हो । तेस्रो विश्वमा पर्दापछाडिबाट चल्ने राजनीति र सामाजिक असन्तोषको आडमा पैदा हुने सैन्यसत्ता अथवा तानाशाहको उदय रोक्ने संवैधानिक अभ्यास पनि थियो । त्यसैले हरेक विषय संसदमा छलफल हुनसक्ने अवस्था सिर्जना गरेपछि यो गतिरोध तोडिनसक्छ । पार्टी र विचारधाराका आफ्नै सीमा र समस्या हुन्छन् । त्यसले स्वतन्त्रचेत र भूमिकालाई भन्दा पनि सार्वमौमिकता र आफ्नै प्रतिबद्धतालाई आफ्नै अनुकूलको ब्याख्या र व्यवहार गर्न बाध्य हुन्छ । अझ त्यसमा आग्रह थपिएपछि त विषय नै सिङ जुधाइ र जुँगाको लडाइमा फेरिन्छ । मिडियामा विकास भएको ब्लग र अनेकौं च्याट सम्वादले हरेक विषयको चासो, चिन्ता र भूमिकामा हरेकलाई आफ्ना धारणा राख्ने, मन र मस्तिस्क खोल्ने र निर्चोने अवसर दिएको छ । विकसित गतिरोध र सम्भावित धरापबारे बिदेसिएका नेपालीहरुले त जमेर यसलाई प्रयोग गरेर आफ्नो भावना पोखेका छन्, आफ्नो चिन्ता जाहेर गरेका छन् । भूमिका निभाउन खोजेका छन्, भाषा हुनुपर्यो, नेटवर्किङ हुनुपर्यो, प्रविधिज्ञान हुनुपर्यो, आग्रहहीन दृष्टिकोण हुनुपर्यो । भिजन र आउटलुक हुनुपर्यो । मिडिया उद्योग र आदेशले मात्रै 'दुनियाँले धारणा बनाउँछ र सूचना साम्राज्य चलाउँछु' भन्ने मान्यतालाई चुनौती दिएको यो अवस्थामा ब्लगलाई जमेर नेपालीहरुले पनि प्रयोग गरेर अहिले अनेकौं मठाधीशहरुलाई गम्भीर चुनौती दिइरहेका छन् । नाङ्गो वास्तविकता प्रष्ट्याउँदै देश दुनियाँलाई जानकारी साटासाट गरिराखेका छन् । जो, जहाँ, जसरी रहेपनि अहिलेको नेपाली राजनीतिमा आएको टकराट, त्यसले पैदा गरेको तरङ्ग र धरापबारे आफ्ना भूमिका निभाइरहेकै छन् । यो आधुनिक सचेतनता र मिडिया साक्षरता पनि हो । मिडिया मठाधीश र टाइकुनको नियन्त्रणबाट मुक्त हुन कैयौं मुर्धन्यहरुले पनि ब्लग र च्याटको सहारा लिइरहेका बेला प्रवासिएका सचेत नेपालीले पनि प्रयोग गर्नु भनेको सूचनाशक्तिले पैदा गर्ने तागतको क्रमसः हस्तान्तरण पनि हो । मान्छे आदेशले कहिल्यै पनि हाँकिँदैन । सोच बनाउँछ र भूमिका किटान गर्दछ । सोच्ने अभिभारा अरुलाई सुम्पेर आज्ञापालकमात्र बन्दैन भन्ने कुरा अहिले प्रवासिएका देशबन्धुहरुसँग जीवन्त सम्वाद गर्दाका अनुभूति हुन् । यो मिडिया -नेपालीपत्र) अन्तरसम्वाद पुल पनि भएकाले विदेशमा रहेका नेपालीजनसँगको भावना र विचारको साटासाटसमेत हो । आफूलाई पुनर्ताजगी पनि हो । त्यसैले धरातलीय सम्वेदनासँग जोडिन नपाएका तर सूचनासँग भने पलपल ताजगी बनाइरहेकाहरुसँगको अर्काे अर्थमा मिलन पनि हो । विभिन्न कालखण्डमा विभिन्न कारणले बिदेसिएकाहरुले विकसित अवस्थाका कार्य, कारण र परिणामको सूचनाबाट ताजगी त भयो, त्यसको अन्तरआत्मको संवेदनशीलता भने पछ्याउन नसकेको अवस्था पनि हुनसक्छ । सामाजिक उथलपुथलको विगत दशकले कैयौंको अवस्थामा प्रभाव पारेको र त्यो आग्रहको रुपमा मौलाएको र धारणा बनेको समेत हुनसक्छ । दोषी चश्माले विषयलाई आफूअनुकूल होस् भन्ने पनि चाहना राख्दछ । मानिस त्यही कुरा देख्न चाहन्छ, जो यसको चाहना होस् । संविधान बनाउने मिति गुजि्रदैछ । दलहरुबीच सहमति भन्दा नि विमति बढ्दो छ । सहिष्णुता र सहअस्तित्वलाई अगाडि बढ्ने आधार बनाइदैछैन । जटिलता बढ्दो छ तर कैयौं मान्छेहरु भने रमिते बन्दैछन् । पहिला रक्षामन्त्री सेनाको प्रवक्ता बन्थिन्, अब उनीहरुबीच पनि चीसो सम्बन्ध बढिराखेको छ । भारतीय सेनाको सेनापतिको फुली लगाएपछिका सेनापतिको चिम्सा आँखा अब चम्किएका छन् । उनलाई सनातनी बिँडो थाम्नुपरेको छ । सङ्घात्मक, धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र नेपालको मार्गचित्र कोर्न भिन्नाभिन्नै मोर्चाबाट सहकार्य गरेर निश्चित समयको सहयात्रासमेत गरेका पार्टीहरुबीच मीनपचाससँगै सबन्ध अझ चिसिएको छ । संसारैभरि छरिएर रहेका नेपाली र नेपाललाई माया गर्ने अनेकौं शुभचिन्तकहरुको अहिले एकैखाले प्रश्न छ- अब नेपालमा के हुन्छ ? के संविधान बन्दैन ? फेरि देश द्वन्द्वमा र्फकने नै भयो ? द्वन्द्वबाट जोगाएर शान्ति र सहमतिमा ल्याउन कसले के भूमिका खेल्नुपर्छ र के भए द्वन्द्वबाट जोगिनसक्छ ? र, भँड्खालोमा पर्दै गएको मुलुकलाई कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता, प्रश्न, जिज्ञासाहरु सर्वत्र उठ्ने गरेका छन् । ती ब्लगमा देखिएका छन् । च्याटमा छलफलमा उठ्ने गरेका छन् । बाहिर रहेर नेपालीहरुले चलाइरहेका वेभसाइटमा देखिएका छन् र अनेकौं फोरममा उठ्ने गरेका छन् । देशमा अग्रगमन र शान्तिका अभ्यास बढ्दै जाँदा आशङ्का, भ्रम र अविश्वास पनि त्यत्तिकै बढेर सहमति बिमतितर्फ बढ्दैछ । अर्कातर्फ भने त्यसलाई कसरी भाँड्न सकिन्छ भन्ने योजनाहरु पनि त्यत्तिकै बुनिदैछन् । अग्रगमन र शान्तिका अभियान, सोच र गतिविधिलाई कुनै न कुनै आरोप लगाएर र उत्तेजना छरेर अन्यन्त्र मोड्ने प्रयास पनि त्यत्तिकै हुँदैछ । विभिन्न काल र परिस्थितिमा बिदेसिएका देशबन्धुहरुलाई बदलिएको अवस्थाको जानकारी त भएको छ, तर त्यो कालखण्डमा परिवर्तनकालमा भने आफै भूमिकामा रहन पाउनुभएको छैन । त्यहाँको अवस्था, रहनसहन र सम्बन्धले सोच, विचार र भावनामा केही प्रभाव त पार्ने भयो नै । अझ हामीसँग हाम्रो पृष्ठभूमि, सोच र सँस्कृति पनि छायाँझैँ टाँसिएर सधै रहने भैगो । सूचना र सञ्चारले नजिक्याएको यो दुनियाँमा छिनछिनका खबर र खबरभित्र रहेका आशय, सङ्केत र सम्भावनाबाट कोही पनि टाढा नभएपछि संवेदनशील र जागरुक मान्छेहरुका विचारहरु सेन्सरहीन तरिकाले बाहिर आउने गरेका छन् । अहिले एकातर्फ सूचना, सञ्चार र यातायातले गर्दा दुनियाँ विश्वग्राममा फेरिएको छ भने अर्काेतर्फ आफ्नै देशका कैयौँ ठाउँ भने उत्तर र दक्षिण ध्रुवभन्दा पनि टाढा भएका छन । परदेसिएका स्वजनहरुसँग त अझ सेन्सरहीन बात मार्न पाइने अनेकौं टाँगनपत्रीहरु छन् तर त्यो अनुकूलता बहुसङ्ख्यक देशबासीहरुमा भने अझै बषर्ाँै टाढा छ । सम्पादनकक्षबाट गुजि्रन नपर्ने मिडियाको नयाँ संसार ब्लग दुनियाँ पनि उदय भइसकेको बेलामा अझै यहाँ भने कैयौँ गाउँठाउँमा हुलाकपत्रीले नै काम चलाउनुपर्छ । दूर क्षितिजबाट देखिने यर्थात र सतहमा छर्लङ्गिने वास्तविकतामा फरक हँुदोरहेछ । जहिले पनि यथास्थिति र प्रतिगमन अज्ञानता र सूचनाबिहीनतालाई शक्ति सोच्छ भने अंशलाई टिपेर भ्रमित सूचना बाँड्दै आत्मरतिमा रमाउँछ । अहिले बढ्दै गएको टकराहटलाई बुझ्ने सवालमा पनि यो लागू भएको छ । विचारणीय पक्ष के छ भने धरातलीय यथार्थसँग नजोडिएको संवेदनाले बनाएको सोचले आदर्श, कल्पना र सहित्य त बन्दोरहेछ तर त्यसले वस्तुगत पीडादायी अवस्थालाई सामना गर्ने आधार भने दिदोरहेनछ । विभिन्न कोणबाट अहिले आइरहेका र उठिरहेका चासो र चिन्तापछाडि कतिपय अवस्थामा या त आक्रोश, या त उपदेश बन्नुपछाडिको अवस्था पनि यही हो । nepalipatra eu & au

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home