ह्यापपी लुतेपर्व टु यु
आज साउने संक्रान्तिको महत्व लुते पर्व भएर झन बढेको हो । संसारभरका सवै लुतेलाइ महान लुतेपर्वको शुभकामना ! ह्याप्पी लुतेपर्व टु यु । लुतो कन्याउनुस् संसारकै परम र चरम आनन्द लिनोस् । अझ अरुका दिमागमा सुकेलुतो सल्काइदिनुस् अनि हेर्नुस् दुनियाँका रमिता...तमासा । कन्याउ ! कन्याउ …! लुतो, मस्त कन्याउ ! चिलायो भने कन्याउनै पर्छ या सिंगौँरी खेल्नै पर्छ । आफैले गुप्ताङ्ग कन्याउन सकिएन भने ढोके, हुक्के, छातेलाई कन्याउन लगाऊ । एक हुल लुतो कन्याउनेको जयगान गाउने भीड तयार गर, अनि देखाऊ …तमासा र लेऊ जिन्दगीका मजाहरु । “खुजुली का कहानी गजब होता है, खुजुली देवका शक्ति भी गजव” । सवैले एकअापसमा शुभकामना लिँउदिँउ -ह्याप्पी लुतेपर्व टु यु’ अरूले सल्काइदिएको लुतो कन्याउने महान लुतेहरूले सार्वजनिक थलोमा कन्याउँदै गरेको देखया छैा ? सभा होस् या सम्मेलन, दरवारी होस् खरदारीकै सामुने लुतो कन्याएर मख्ख पर्नेहरूको वखान माहाविदुषकहरूले पनि गर्नै सक्दैनन् । जब वैरीसँग लड्न भिड्न सकिदैन्न तब उसका सामु पुगेर कन्याइदिन थालेपछि शक्तिशाली लाजले भुतुक्क भएर कुलेलम ठोक्छ । लुतो कन्याई गाण्डिव धनुभन्दा पनि शक्तिशाली बाण हो । कन्याउन र कन्याइदिने कला नै लुते महात्म्य हो । पाहारिलो घाममा डिलमा बसेर आउँ परेको बेला कन्दै आची गर्नु र सुके लुतो कन्याएको जस्तो आनन्द मलाई पनि आजसम्म अरु कुनैकार्यले मज्जा दिएको नै छैन् । शक्ति हत्याउन, मोहनी लगाउन, अरुको हुर्मत काढ्न लुतो सल्काई दिनुपर्छ । ऊ कन्याउँदै रहन्छ, आफनो काम फत्ते । आज साउने संक्रान्ति । आज हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने कृषि पर्वको अर्को पाटो लुतो फाल्ने पर्व परम्परादेखिकै चलनको महत्व र महात्म्य भने अपरम्पार छ । कृषि पर्व भए तापनि म अहिले भने लुते महात्म्य नै कहन्छु । लुते महात्म्यको राष्ट्रिय महत्व अहिले झन बढेको छ । लुतो कन्याउन थालेपछि पहिलाका सबै कुरा सहजै बिर्सिइन्छ । सिद्दान्त, आदर्श, प्रतिबद्धता, सगोत्रीका चिहान, गरेका कबुल, देखाइदिएका सपना, दर्शन, साहित्य, राजनीति र संगठन भन्ने कुरा सबै बिर्सँदा न उदेग लाग्छ, न दुःख । वाचावन्धन विर्सन लुतो कन्याउनु सवैभन्दा उम्दा उपाय हो । चिलाउँदा कन्याउनु नै पर्छ । तब बिजुलीपानी तन्काउदा बिर्सन नसकिने कुरा पनि लुते देवताको शरणागत भएपछि छुमन्तर हुन्छन् । कन्याउँदाको मजा सुके लुतो लागेकालाई मात्र थाहा हुन्छ । लुतो सल्काइदिने महाकला हुन्छन् । अझ लुतो दिमागमा सल्केपछि त लुतेहरु चाणक्य, म्याकावेली र बीरवलभन्दा पनि चतुर बन्छन् । लुते देवताको गाली आराधना गर्ने चाडवाड नै लुतो पर्व हो । समय फेरियो,चलन फेरिए । पात्रका चरित्र पनि फेरिए । केही राजनेता, गालीपण्डित र केही मिडिया भने सदाकाल लुते पर्व मनाइरहेका हुन्छन् । यो पर्व गाली पण्डितको योग साधना गरेर नयाँ र कलामय गाली आविष्कारको गौरवमय दिन भनेर पनि बुझिन्छ भने चाकर र भगतरामहरू मालिकका दुश्मनलाइ गाली गरेर भित्रिया बन्ने चाडपर्व पनि हो । इष्ट र दुष्ट छुट्याउने लुते पर्वनै फलानालाई गरिने गाली गालीशास्त्रको पहिलो प्रयोगशाला बन्यो । लुतो त्यसै लाग्दैन् लुतो लगाइदिने लुते देउता हुन्छन् । अक्करमा लुतो सल्केपछि आफैँले आफ्नो सार्वजनिक बेइजत गर्नु परम धर्म र कर्म बन्नपुग्छ । गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय र थातथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ । अझ फत्रक्कै भए गुप्ताङ्गै झर्न पनि सक्छ । सँइन हुनसक्छ । सँइनलाई अाजकाल त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाज घिन मान्नै सक्दैन । पर्दैन । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउँ भन्दा पनि दिनको चैन र रातको निन्द्रा हराइदिन्छ । त्यसैले लुतेहरु सार्वजनिक थलोमा जाने, भाग लिने औकात राख्दैनन् । तब लुतो नलागोस् भनेर लुते देवता पुज्न चलन चलेको हो । त्यसैले साउने संक्रान्तिमा पुर्खादेखिका जाने जतिका गाली बक्दै लुतो फालिने गरिन्छ, । लुतो फाल्न सात थरीका जडीबुटीका सार्दम जोर्नु पर्छ । त्यसको आयुर्वेदिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाडे उनिँउ र सल्लाको दियाले काठको अर्थ के हुने हो कुन्नि ? त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो .....लुते लै जा है फलाना ….. मेरो लुतो लैजा भनेर जाने जतिको गाली फलाक्यो, चिच्यायो । जानेजतिका गाली फलानालाई फलाक्यो । मुखको तितो फाल्दै चिच्यायो र बैरीलाई सल्काइदियो । फलानो भनेको पुस्तौनी शत्रु वा हेपिएका जाति हुने गर्छन् अथवा अर्काको हुर्मत काढेर आफ्नो औकात बढाउन लुतो सल्काइदिने पर्वमा गाली गर्ने खलपात्र बनाइएका हरेक मनुवाका गाली खाने फलाना भने हुन्छन् । लुतोको शक्ति अपरम्पारछ । लुतो सल्केको मान्छे सामने कोई पनि भद्र मान्छे बस्न रुचाउदैन् । कन्याउन थालेपछि ऊ त लाज, घिन हराएको वेसर्मी बनीदिन्छ । उसको चर्तिकला देखेर सामने बस्ने लजाउँदै कुलेलाम ठोक्छ । लुतो कन्याई दिएपछि सामनेको माईक टाइसन र दारा सिंह पनि विना गालीगलौच भागी हाल्छन् । सारिदिनुस्, मजा लुट्नुस । जति चिलायो, त्यति मजा । जति कन्यायो, त्यति नै हाइसन्चो । लुतो कन्याउने मजा, चाप्लुसी र चाकडीका शब्द कोरल्दाको छुट्टै मज्जा ….. भिन्न खालको । अर्काको खिसीट्युरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मा विज्ञापन गर्नुभन्दा पनि औधी सन्तुष्टी ... क्या ! गाली पण्डित र भगतरामको महान र पवित्र दिन, यो शक्तिसाधना पर्व हो । आलोचना भन्नुस्, गाली भन्नुस्, गाली सामर्थ्य नै पर्वको ऐतिहासिकता झल्कन्छ । प्रभूको दुश्मन अगाडी गएर लुतो कन्याउनुस वा वैरीलाइ गाली गर्नुस त्यसले हुजुर खुशी भएर दाशको भाग्य नै खुल्छ । कन्यायो…. कन्यायो, आहा…..आफैलाई रक्तमुच्छेल पार्यो । चिथर्यो, कोपर्यो, घायल बनायो... कोपरेर पनि कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । आफनो हुर्मत आफैले काढेर सर्वाङ्ग सडकमा दिगंवर बन्नुको मजा कुन तराजुले तौलेला र ! महा एलर्जीका रुप र तरिका अहिले फेरिए । लुते पर्वका बैरीहरु स्केवियन लोसन र मल्हम पनि निक्लिसके । हामीसँगै सिकेर अंग्रेजले गालीमा मनका भडास छताछुल्ल गरेपछि कसैले पनि बौलाउन पर्दैन भनेर गालीगलौच गर्ने स्वतन्त्रताको हाइडल पार्कलाई बनाइदियो । अझ जुकरवर्गे फेसबुके पार्क र ट्वीटरजस्ता सामाजिक सञ्जाल सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको साउने संक्रान्तिको लुते पर्वलाइ कुरिरहनै पर्दैन । संसारको महान गाली पण्डितहरु कोई सिद्दान्तको नाममा, कोई विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने साँस्कृतिक आराधनाको पहिलो पाठशाला लुते पर्व नै थियो र हो भन्न अव हिच्किचाउनु अब पर्दैपर्दैन् । अाउनुस हुर्रेहुर्रे गर्दै लुतो फालैाँ, लुते पर्व मनाँउ । ह्यापपी लुतेपर्व टु यु
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home