Thursday, August 20, 2020

हाम्रा सोचका स्वामी हामी नै हौं त ?

जिज्ञासा र सूचनाको भोकले मान्छेलाई मानवमा फेर्छ तर मिथ्या सूचनाको छूत रोगले भने मानव कुन बेला दानवमा फेरिइसक्यो भन्ने पत्तै पाउँदैन। ०३६/३७ तिर चितवन भण्डारा स्कुलको चौरमा जोडीदार गणेश लोहनीसँग जीवन र जगत्लाई विज्ञानको नजरबाट हेर्नु, बुझ्नु र व्यवहार गर्नुपर्छ भन्ने घन्टौं छलफल हुन्थे। पुँजीवाद सबै चीजलाई किन्न र बेच्ने बजार हो। पुँजी र प्रविधिको घालमेल भएपछि मान्छेले के सोच्नुपर्छ भन्नेमा पनि बजारकै निर्देशन र नियन्त्रणमा हुन्छ। दिमागको किनबेच गम्भीर विषय हो। हाम्रा छलफलमा प्रविधिलाई वर्चस्वशाली समूहले कब्जा गरेपछि कुनै दिन यस्तो चिप्स मस्तिष्कमा घुसाइन्छ कि वास्तविकता र नांगो वास्तवकिता छुट्ट्याउनै नसकेर मान्छे रणभुल्लमा पर्नेछ। ग्रामीण क्षेत्र भए पनि चितवन आफैंमा प्रतिरोधी चेतको थलो थियो। चाल्र्स ववलेले सन् १८३७ मै कम्प्युटरको आविष्कार गरेर चौथो पुस्ता तयार हुँदा हामी भने त्यसको आकारसमेत देख्न पाएकाथिएनौं। पहिलो दशकमै इन्टरनेटको आविष्कार भए पनि टिम वन्र्स–लीले २०४५ साल फागुन २९ गते सार्वजनिक गर्दा १० वर्ष पहिलाको समय थियो त्यो। तर शक्तिले जहिले पनि सूचना कब्जा गर्दै युद्धमा भ्रम फैलाउँछ भन्ने कुरा भने वैदिक साहित्य महाभारतमा द्रोण हत्यामा–नरो वा कुञ्जरो वा अश्वस्थामा हतो हत’ भने बुझेकै थियैाँ। अहिले सूचना कारोबारमा फेसबुक नकारात्मक बहसमा छ। सोच्नुपर्ने भयो– हाम्रा सोचका साँच्चैका स्वामी हामी नै हौं त ? फेसबुक खोल्नेबित्तिकै तिम्रो दिमागमा के खेलिरहेछ ? सोध्छ। मन अस्थिर र अनियन्त्रित हुनेको स्थिति र परिस्थिति पनि नियन्त्रित हुन सक्दैन। हितका टकराहटसँगै सत्य पनि फेरिँदै जाँदा पार्टनर र एलायन्स फेरिँदै जान्छन्। अझ शक्ति केन्द्र ट्युटोमेसी (टयुटर डिप्लोमेसी) केन्द्रित छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसका विश्व प्रतीक हुन्। अरूले पनि पछ्याउँदै छन्। मनको बह कसैलाई नकह भन्ने सोच्दासोच्दै पनि स्टाटस धस्क्याउन पुग्छु। ट्वीट गर्छु। मन पराएका र नपराएका, आदर्श र कुरूप पात्रका सञ्जाल नियाल्दै सोच, भूमिका हेरेर धारणा बनाउँछु। ती जीवनका नयाँ मान्यता बन्दै भूमिकामा फेरिँदै जान्छन्। सोच्ने तरिका पुनर्विचार गराउँदै लान्छ र तरिका फेर्दै जाइन्छ। नयाँ तरिकाले सोच्न हौस्याउँदै जान्छ। तब सुन्दरता र कुरूपताको अर्थ फेरिँदै जान्छन्। दुरदराजमा रहेका बिछोडिएका बालसखा, तन्नेरी जोडीदार, सहयोद्धा पुनर्मिलनले हर्षित बनाउँछ। नयाँ ऊर्जाशील, विवेकवान् मान्छेसँग भेटेर जीवन संवाद, सम्पर्कको व्यापक प्लेटफार्म पाएपछि आफ्ना विचार, आदर्श, सपना साटासाट हुन्छन् नै। विश्वकै कुनाकाप्चासँग आफ्ना भावना सार्वजनिक गर्न कुनै मिडिया चाहार्नुपरेन भने सत्ता र शक्तिसँग आँखा जुधाएर विमति राख्न पनि समस्या परेन। सामाजिक सञ्जाल विपक्षको शक्तिशाली भूमिकामा हुन्छन्। मान्छेको सोच नियन्त्रण गर्न सकिन्छ भन्ने रूपर्ट मार्डोकलाई चुनौती बन्छ भन्ने लाग्या थियो। तर, थाहा नपाउनु र नहुनु भने हैन रहेछ। ‘ठुल्दाइले तिमीलाई नियालिरहेका छन्’ भनेर जर्ज आरवेलले १९८४ कृति लेख्दा सामाजिक सञ्जालले दुनियाँमा यत्रो हलचल मच्चाउला भन्ने कसैले सोचेका थिएनन्। वर्चस्वशाली समूह कसरी प्रविधि कब्जा गरेर मानिसको सोच्ने तरिकामा प्रभाव पार्ने मात्रै हैन, ऊ के सोचिरहेको छ ? सुन्दरता र कुरूपताका मान्यता के छन् ? कसरी हस्तक्षेप गर्न सकिन्छ भन्नेमा पनि छ। अझ शक्ति र प्रविधिको घालमेल भएर मिडिया सत्ताको मतियार हुन्छ भने तपाईंको दिमागको मालिक स्वयं बनिरहन सक्दैन। दिमाग कब्जा खेल भयावह हुन्छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नल (वासज) मा १५ अगस्तमा प्रकाशित खोजी पत्रकार न्युली पुर्निल र जेफ हरवित्जको– फेसबुकको हेट– स्पिच नियमहरू भारतीय राजनीतिसँग टकराउँछन्’ भन्ने लेखले विश्वव्यापी सामाजिक सञ्जालको विश्वास नै खज्मज्याउँदै नयाँ मिडियाको बहस छेडिदियो। यो पहिलो घटना हैन। बेलायती गार्जियनले पनि कसरी क्याम्ब्रिज डेटा एनालिटिकाले डेटा बेचेर दुनियाँका चुनावलाई प्रभाव पारिरहेको छ भन्ने छर्लंग पारेको थियो। सामाजिक सञ्जाल लोकप्रिय मात्रै हैन, कतिपय समयमा मूलधारका मिडियालाई चुनौतीसमेत बनेको छ। जबसम्म त्यो नाफा र स्वार्थको सत्ता सिन्डिकेटमा सामेल थिएन र हुँदैन तबसम्म भुईंमान्छेको समाचार मूलधारको बहसमा केन्द्रित गराउँदै लोकतान्त्रिक भूमिकामा पनि थियो र हुन्छ। वासजको लेखले भने गोपनीयताप्रति संवेदनशीललाई ‘विग ब्रदर इज वाचिङ यु’ मात्रै हैन, स्वयंसेवीलाई लम्पट बनाएर आफ्नै एजेन्डामा लतार्दै छ भन्ने पनि बनायो। अहिले सामाजिक हैसियत नाप्ने एउटा तराजु सामाजिक सञ्जालमा कसका कति फलोअर छन्, सेयर भयो, लाख कमेन्ट आयो भन्ने सोच पलाउँदै छ। भाइरल रोग डिप्रेस रोग बन्दो छ। उक्त खोजी पत्रकारितामा कसरी फेसबुकले संसारको चुनावलाई प्रभावित पार्छ ? फेसबुक (वाट्स एप, इन्सटाग्राम) किन घृणा र आक्रोशका सामग्री हटाउँदैन ? त्यसले समाजमा कस्तो असर पार्छ ? आवेग पैदा गरेर शक्तिको हित गर्छ भन्ने खुलस्त पारिएको छ। फेसबुक इन्डियाकी पब्लिक पोलिसी डाइरेक्टर अंकी दास– त्यस्ता सामग्री हटाइयो भने कम्पनीको व्यापार प्रबन्धनमा खराब प्रभाव पार्छ।’ फेसबुकले भारतीय चुनावमा बीजेपीलाई सहयोग गरेको थियो। स्वस्थ अभिव्यक्ति, पारदर्शिता र तटस्थताको पोल खोलिदियो म्युनिख विश्वविद्यालयमा डिजिटल राजनीतिक अध्यापक सहाना उडुपाले– राजनीतिक चुनाव प्रचारका लागि डेटा एनालिटिक्स कम्पनीको उपयोग गर्दा संसारमै विनाशकारी प्रभाव परेको छ भन्दै डेटा निगरानी, पुँजी र राजनीतिक शक्तिबीच मिलिभगतले लोकतन्त्रलाई नै गम्भीर क्षति हो। किनकि मतदाताका व्यवहारको स्वभाव पत्ता लगाइन्छ, षड्यन्त्र रचिन्छ, भविष्यवाण्ी गरिन्छ र नक्कल पनि गरिन्छ। यसै पनि अमेरिकी चुनावलाई असर पार्ने डाटा राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराएको भन्दै आलोचना खेपिरहेको फेसबुकलाई संसारकै ठूलो ‘लोकतन्त्रलाई’ कसरी प्रभाव पारेको छ भन्ने उक्त लेख वैश्विक सरोकार बन्न पुग्यो। आखिर मान्छेको निजी स्वतन्त्रता र वास्तविक लोकतन्त्र कसको नियन्त्रणमा छ ? हामी सही र सत्य नजिक पुग्नुभन्दा उत्तेजना र आवेगमा रमाउने रमिते समाजमा फेरिँदै छौं। कुन बेला हाम्रो सोचको मालिक को बन्ने होसै राख्दैनौं। गे लुइस डे बोर्ड (२८ डिसेम्बर १९३१–३० नोभेम्बर १९९४) ६० को दशकमै मिडियाका कारण संवेदनशील व्यक्ति पनि एउटा रमिते समाजमा फेरिरहेको भनिसकेका थिए, त्यसबेला न पाँचौं पुस्ताको कम्युटर थियो, न त इन्टरनेटको सीमारहित पहुँच। तमासे समाज सरोकारसँग जुझ्नेभन्दा छेउकिनारामा बसेर रमिता हेर्न रुचाउँछ। तमासाका प्रकारमा मास मिडिया तीमध्ये एक हो। गे बोर्डको मान्यतामा तमासे समाजको विशेषता नै असाधारण तर्कहीन भक्ति, उपभोक्तावादको वृद्धि गर्दै सोच्ने तरिकामा व्यक्तिलाई सामाजिक वा आर्थिक स्थितिको वास्तविक प्रकृति बुझ्नबाट रोक्छ। त्यो बजार अर्थतन्त्रको निरंकुश शासन भएर हो। हामी ‘पेसेवर’ मिडियाबाट निष्पक्ष, सन्तुलित र वस्तुगत जानकारीको अपेक्षा गर्छौं तर तथ्य यो हो कि सत्ताले पहिल्यै लिइएका निर्णयहरू निष्क्रिय प्रशंसकका लागि फेरि पनि त्यहाँ प्रस्तुत मात्रै हुन्छन्। मिडियाका प्रस्तुत छविले दैनिक हाम्रो जीवन र विश्वासमा प्रभाव पार्छन्। विज्ञापन नयाँ इच्छा र आकांक्षा उत्पादन गर्छन्। दृश्यले आफूलाई सकारात्मक, निर्विवाद र पहुँचयोग्य नभएको चीजका रूपमा प्रस्तुत पनि गर्छन्। गे वार्ड भन्छनः शासन गर्ने आर्थिक प्रणाली पृथकताको विकराल सर्कल हो। यसको प्रविधि पृथकतामा आधारित छन् र तिनीहरू समान अलगावमा योगदान गर्छन्। अटोमोबाइल्सदेखि टेलिभिजनसम्म र दर्शनीय प्रणालीले उत्पादन गर्ने सामानले पनि यसलाई ‘एक्लो भीड’ जस्तो परिस्थितिलाई सशक्त बनाउन लगातार हतियारको रूपमा प्रयोग गर्छ । डाटा व्यापार डाटा चोरीको लडाइँ र आक्षेप संसारकै राजनीतिक केन्द्रीय विषय हो। चीनले फेसबुक बन्द गरेको छ। चिनियाँ कम्पनीले गोपनीयता चोरी गरेको भन्दै टिकटकलगायत धेरै एप्स भारत र अमेरिकाले हालै बन्द गरे। फेसबुक चरित्रका बीचैट जस्ता १० सञ्जाल चिनियाँ समाजमा विकल्पमा दिएको छ। तेलभन्दा महँगो डाटा भएको छ। जुन दिन क्याम्ब्रिज एनालिटिकाको भण्डाफोर भएको थियो, त्यसै दिन ‘द गार्डियन’ मा जुलिया कैरी बोङले डाटाको उपयोगले संसार त फेरिदियो तर फेसबुक फेरिएन भनिन्। राजनीतिक पार्टीलाई डाटा विश्लेषणले योजना बनाउन र वास्तविक मतदाता स्वभावको मनोवैज्ञानिक अध्ययन आधारमा मतदाताको स्वभाव फेर्न सकिन्छ भन्ने हो। कर्पोरेट हाउस र बजारलाई वास्तविक ग्राहकसँग सीधै पहुँचमा पुर्‍याउनु हो। डाटा एनालिसिस कम्पनी फेसबुक डाटाको माध्यम युजर्स प्रोफाइलिङ गर्छन्। युजरको व्यक्तिगत डाटालाई ध्यान दिँदै उसको राजनीतिक विश्वास र स्वीकार वा अस्वीकारलाई नियाल्दै सरोकारवालालाई बेच्ने गर्छन्। धेरै समय पुराना सोच ध्वस्त गर्ने नयाँ पोस्ट आएपछि फेरिएका धारणा सरोकारवालालाई उपलब्ध गराइन्छ। आरोपीका भनाइमा फेसबुककी पब्लिक पोलिसी डाइरेक्टर अंकी दास त्यही भूमिका निभाउँथिन्। अझ प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले त आरएसएस र भाजपा भारतमा फेसबुक वाटुस एप र इन्स्टाग्रामका नियन्त्रण गर्छन् भन्ने सार्वजनिक आरोप लगाउँदै कांग्रेसले फेसबुकलाई चिठीसमेत लेख्यो। अन्त्यमा, – अमेरिकी अश्वेत आन्दोलनका नेता माल्कम एक्स : मिडियाबारे तपाईं सावधान हुनुहुन्न भने मिडिया तिनलाई घृणा गर्न सिकाउँछ, जसलाई उत्पीडन गरिरहेको हुन्छ र तिनलाई प्रेम गर्न सिकाउँछ, जसले उत्पीडन गरिरहेका हुन्छन् भन्छन्। –अहिले सामाजिक हैसियत नाप्ने एउटा तराजु सामाजिक सञ्जालमा कसका कति फलोअर छन्, सेयर भयो, लाख कमेन्ट आयो भन्ने सोच पलाउँदै छ। भाइरल रोग डिप्रेस रोग बन्दो छ। –आलोचाात्मक चेतसहितको मिडिया चेतसहितको अध्ययनले भ्रमबाट जोगिन सकिन्छ। मिडियाका तकनिकी, कार्य प्रणाली र स्वामित्वका सोच र सम्बन्ध नियालिनुपर्छ। –सामाजिक सञ्जाल व्यवहार सोचमाथि प्रभाव मात्रै हैन, नियन्त्रण पनि जबर्जस्ती गर्दै छ। –के सोसल मिडिया एन्टिसोसल त बन्दै छैन ? – सडकका आवाज र असहमतिका स्वरलाई शक्ति प्रदान गर्ने सामाजिक सञ्जाल शक्तिसँगको अदृश्य सम्झौता गर्दा मौलिक चरित्र त गुमाउँदै त छैनौं ? –कमनसेन्स मान्छेको कब्जा भएपछि पुँजी र शक्तिको लालसामा मानवता बजारको लिलाम हुँदै गएको हो ? हामी ठूला प्रश्नबाट जोगिन र प्रोपोगान्डामा र कुतर्कका व्यापक सम्पर्क, ठूलो प्लेटफार्म कतै रमाउँदै त छैनौं ?

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home