बहसमा नेपाली मिडिया
बहसमा नेपाली मिडिया गतहप्ता नेपाली मिडियामा एककित्ताका स्कुल अफ थट मानिने हिमाल मिडियाका कनकमणि दीक्षित, मिडिया एनजियो फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालसँग यस पंक्तिकारलाई एउटै मञ्चमा बोल्ने अवसर काभ्रे टाइम्सले दिलाइदियो। जीवन र जगत्प्रति हेर्ने, बुझ्ने, ग्रहन गर्ने र दृष्टिकोण निमार्ण गर्ने हाम्रा आ–आफ्नै मूल्य, मान्यता र आदर्श छन्। मणिकूलका कनक सर, सम्भ्रान्तवर्गको बौद्धिक व्यक्तित्व हुनुहुन्छ। दुईदशकदेखि सम्पादकीय पोलिसी साक्षी रहेको हिमाल र संविधान–सभाको चुनाबी पूर्व नतिजा ठम्याइमा उहाँको कुलीन परिवारको आँकलनको छाप थियो। अझ उक्त कार्यक्रममा पंक्तिकारले उठाएको मिसन जर्नालिजममा आफ्नो सक्रियता र अभियानबारे आत्मास्वीकृति जनाएर त्यो कित्ताको हाकाहाकी बौद्धिकको छाप छोड्न भने उहाँ चुक्नुभएन। मुलुक परिवर्तनको ऐतिहासिक खतरामय मोडमा उभिएको बेला नेपाली मिडियामा पनि सूचना, कु–सूचना, भ्रमित सूचना र प्रायोजित सूचनाहरूको एक–आपसमा टकराहट भैरहँदा सामान्य जन वास्तविकता पहिल्याउन रुमल्लिइरहेको छ। यदि बजार मिडियामा मात्र भर परेर अहिलेको अग्रगमन, शान्ति र सबिधानबारे कुनै धारणा बनाउन पर्यो भने विगत चुनाबताका राजज्योतिष र गह्रुंगा मिडिया विश्लेषकले परिणामको ठोकुवा गरेर जसरी झुक्किए, कालान्तरमा पनि त्यस्तै ठगिएको महशुस गर्नै पर्छ। धरातलीय यथार्थ र परिवर्तनको सुनामीले नछोएका अभिजात र विदेशीहरूले जसरी विगतमा धारणा बनाए र, हिस्स परे त्यस्तै हुनसक्छ। फेरि अहिले कैयौं विज्ञापन समाचार र विश्लेषण बनेर आइराखेका छन्। विज्ञापनले कर्पोरेट मिडियामा पारेको असरबारे अझै स्वतन्त्र अध्ययन नेपालमा भैसकेको छैन। विज्ञापनका स्रोतहरू पनि सीमित भएको र सरकारी विज्ञापन–नीति नभैरहेको अवस्थामा जे–जस्ता उद्देश्य भए पनि विदेशी दाताको प्रत्यक्ष वा परोक्ष आश्रय लिएर जिउन नेपाली मिडियाउद्योग बाध्य छ। अहिले त झन् सम्पादकीय–कक्षमा व्यवस्थापकीय हस्तक्षेप र बजारको दबाब बढेपछि सम्पादकको भूमिकासमेत नागरिक प्रवक्ता र जुझारु पत्रकारहरूको अभिभावकभन्दा पनि व्यवस्थापकमा बदलिँदा स्वयं मिडियासमेत बहसमा पुगेको हो। समाचारका विषय, प्रथमिकता र त्यसभित्र लुकेको आशयको पनि गम्भीर अध्ययन हुन नसकिरहेको बेलामा समाचारको भिडन्त र लुकेको नांगो यथार्थका रूप र शैली हेर्दा विगतको द्वन्द्व अहिले मनोयुद्धमा फेरिएको, योद्धाहरू बदलिएका र मैदान फरक भएको देखिन्छ। अहिले कर्पोरेट मिडियाको ठूलो हिस्साको समस्या र बिडम्बना भनेकै आफूलाई उद्योग, मालिकलाई उद्योगपति र कार्यरतहरूलाई मजदुर नसोच्नु नै हो। जब पत्रकारहरूले आफूलार्ई ह्वाइट लेबर मान्दै श्रम–सम्मान गर्न होच्याएको ठाने, तब आर्कषक तलब, सुबिधा, मिडिया ग्ल्यामर र विचाररहितको व्यावसायिकताको मागले स्वसेन्सरशीप लगाइदियो। त्यसैले प्रेस–स्वतन्त्रता र स्वछन्दताको सिमाङ्कन कोर्न सकेन। दाताहरूको एजेण्डा सौन्दर्यकरण गर्न विवश पनि बनेपछि समाचारका विषय, प्राथमिकता र त्यसभित्र लुकेको आशयको पनि गम्भीर अध्ययन हुन आवश्यक हुन जान्छ। त्यसैले मिडिया बहसविहीन हुनसक्दैन। हामीलाई न त भेनेजुयलामा कर्पोरेट मिडिया खेलको बारे सामान्य अध्ययन गर्न पनि वार अन डेमोक्रेसी उपलब्ध छ, न त मिडियाको खेलबारे एडबस्टर्स पत्रिका नै सर्वसुलभ छ। हरेक उद्योगले नाफा खोज्नु स्वभाविक हुन्छ भने नाफामा नैतिक आर्दशको माग गर्नु मुर्खता पनि। राज्यको लगानीबाहेकको मिडिया खैरातमा चल्ने र आर्दशकै गीतमात्रै गाउने संस्था हो भनेर सोच्नु पनि भुल हुन्छ। कर्पोरेट मिडियाको सफल प्रयोग गरेर विश्वव्यवस्थामा दबाब राख्ने पात्र हुन् अस्ट्रेलियन रूपर्ट मारडाँक। अझ उनका छोरा जेम्सले भनेको कुरा यहाँ उल्लेख गर्न प्रासङ्गिक हुनेछ —व्यापार घाटाको लागि हुँदैन। मान्छेलाई उत्तेजना चाहिन्छ, विज्ञापन जति कामोत्तेजक हुन्छ, मिडिया–कार्यक्रम पनि त्यत्तिकै लोकप्रिय हुन्छ । अहिले महत्वाकांक्षा, भोग र भोकले सताइएको नेपाली बजारमिडिया रूपर्ट मरडाँक र भ्वाईलेतो चमारो वार अन डेमोक्रेसीको फ्युजनमा रहेर कनफ्युजनमा परेको छ। रूपर्ट, मिडियाका बेताज बादशाह बने भने ला प्रेस्ता नामक मिडिया सीआईएले खडा गरिदिएर चमारो निकारागुवाकी राष्ट्रपति पनि बनिन्। कर्पोरेट क्यापिटलिजमका सर्वाधिक दुर्गन्धपात्र विश्व–मिडिया बादशाह मारडाँकले बेलायती शासनव्यवस्थामा हाली–मुहाली गरेको थ्याचरकालमा उनको इशाराबेगर त्यहाँ केही चल्दैनथ्यो भने टोनी ब्लेयरको दुई कार्यकालको श्रेय उनैलाई दिइन्छ। जब आग्रह सूचना बन्छ, विज्ञापनको दबाबमा समाचार रहन्छ, आस्था आग्रह बनेर न्युज मिनिफ्याक्चरिङ हुनथाल्छन् तब सामान्यजनलाई सूचनाको हक स्यालको सिङ बन्नु अनौठो हुँदैन। बजारमिडियाको सार्वजनिक चरित्र अहिले कर्पोरेट हित र योजानासँग चलेको छ। आधारभूत वर्गको सामान्य विषय अंश बनेर आउन सक्छन् तर, विज्ञापनमाथि उनीहरूको दबाब र अघोषित दान दिन नसक्दा उपभोक्तामात्र बन्दछन्। द्वन्द्वकालमा अभिजातवर्गको हितमा प्रत्यक्ष असर पुगेपछि सङ्क्रमण–कालमा उनीहरू बौद्धिक कसरत गर्नथाले। अग्रगामी परवर्तन उनीहरूलाई काउसो बन्थ्यो भने रुमानी प्रगतिशीलहरूको छिटै मोहभङ्ग हुनु स्वाभाविक हुन्थ्यो। तब, उनीहरूले या त मारडाँकको बाटो रोजे या त चमारोको। त्यसैले विदेशी एजेन्सी र आईएनजिओहरू अहिले बजारमिडियाका आशलाग्दा र ठूला प्रायोजक बन्दै बहसका कारखाना पनि भए। अहिलेको मनोदशा तयार गर्ने खेलमा यो अवस्थालाई अग्रगमनतिर डोर्याउने कि यथास्थितिमै रुमल्याउने अथवा प्रतिगमनतिर धकेल्दै द्वन्द्व निम्त्याउने भन्ने कुरा हरेक मिडियाको भूमिका र दाताहरूको आशय बुझ्न गाह्रो पर्दैन। http://yosataa.com/index.php?link=news-detail&id=955
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home