Thursday, May 14, 2020

मनोयुद्ध र ला प्रेस्ता

Monday, February 8, 2010 मनोयुद्ध र ला प्रेस्ता शीतयुद्धको चरमकालमा अमेरिकी राष्ट्रपति जिमी कार्टर, इरानगेट काण्ड र इरान बन्धक प्रकरणले चर्चित कोन्ट्रा र निकारागुवालाई अझ चर्चामा ल्यायो । सान्डिनिस्टा क्रान्तिपछि सन् १९८४ मा निकारागुवामा डेनियल ओर्टेगा लोकपि्रय चुनावबाट निर्वाचित भए । आन्दोलनको मर्मअनुसार सान्डानिस्टा सरकारले समाजवादी योजना थालेपछि प्रतिक्रान्तिकारी कारबाही सतहमा देखिन थाल्यो । दक्षिण अमेरिकाको त्यो देशमा एकातर्फ छिमेकी होन्डुरसलाई बेसक्याम्प बनाएर सिआइएले कोन्ट्रा गुरिल्ला संघर्ष सुरु गर्‍यो भने अर्कातर्फ लोकपि्रय पृष्ठभूमिकी भ्वाइलेतो चमारोलाई उभ्याएर 'ला प्रेस्ता' नामक चर्चित पत्रिकालाई मनोयुद्ध चलाउने अभिभारा सुम्पियो । माइन्ड म्यानेजर बौद्धिकहरू मनोयुद्धका सिपाही बन्न पुगे । आफू कसरी प्रयोग भइएछ भन्ने त्यसका पूर्वसम्पादकले पछि मात्र थाहा पाए । पहिले अनेकाँै बुद्धिजीवीलाई विकासे, अधिकारकर्मी र व्यवसायीको आवरणमा सजाइयो । सिआइएकै बलमा पछि भ्वाइलेतो चमारो राष्ट्रपति बनिन् । मिडियालाई मनोयुद्ध चलाउने मारक औजारका रूपमा लिइन्छ । अझ हल्लैहल्लाको देश भनेर सोच्नेले चिच्याएरै काम फत्ते गर्ने मौका ढुकिराखेका हुन्छन् । तथ्यको अंशमा टेकेर तर्कखेलले योजना चलाउँछन् । सोहीअनुसारको लक्ष्य किटान हुन्छ । जहिले पनि विद्रोहबाट आएका शक्तिको कलाविहीन गतिविधि र पुरानो हयाङओभरले पनि शीर्षक दिने गर्छ । फेर्ने र फेरिने विषय नै यथास्थिति र अग्रगमनबीचको टकराहटमा लहडमै प्रगतिशील बनेकाहरू 'ओल्ड इज गोल्ड' भन्दै र्फकन सक्छन् । अहिले सूचना, कुसूचना, प्रायोजित सूचना र भ्रमित सूचना आपसमा भिडिरहेका वेला तथ्य फेरिँदा पनि आग्रही बतासे तर्कले क्षणिक भ्रम पैदा गर्छ । अभिजातवर्ग र उच्च मध्यमवर्गबाट आएका बुद्धिजीवीमा यथार्थपरकभन्दा पनि सुविधाअनुसार सोच्ने र कर्म गर्ने बानी परिसकेको हुन्छ । यही टेको लगाएर दाताहरूले ठडयाउँछन् र सिँगार्छन् । हरेक ठाउँमा चालु मिडियाबाटै सूचनाको हकबाट वञ्चित गराउने र भ्रमित गर्ने सिन्डिकेट चलेको हुन्छ । हाम्रोजस्तो मिडिया-साक्षरता नभएको देशका छापिएका सामग्रीलाई ध्रुवसत्य, रेडियो र टिभीका आवाजलाई ब्रह्मवाक्य मान्ने जनसंख्याको ठूलो हिस्सा रहेकाले मनोयुद्धको टार्जेट ग्रुप पनि त्यही रहने गर्छ । प्रायोजकको लगानी पनि त्यतै केन्दि्रत हुने गर्छ । मिडिया पाठक, श्रोता र दर्शकबाट भन्दा पनि दाताका भरोसा र बजारबाट नियन्त्रित हुने हँुदा 'जसको सिता खाई उसको गीता गाई' गर्न बाध्य हुन्छन् । जतिसुकै स्वतन्त्र र निष्पक्ष भने पनि तिनले दाता, बजार र विज्ञापनको दबाब झेलिरहनुपर्छ । विज्ञापन जसको, समाचारमा पनि उसकै रजाइँ हुन्छ । यो नेपालको पनि तीतोसत्य हो । टुट्न सक्ने, तर समयानुकूल बदलिन नसक्ने अभिजातवर्ग, आग्रही सोच एवं सक्रियताहीन नवधनाढयका विचार, अभियान र भूमिका घोलमेलबाट अहिले उग्रदक्षिणपन्थी सिन्डिकेट तयार भएको छ । मिडिया बजारमा उनीहरूकै हैकम चलेको छ । अहिले त्यसले छद्म नागरिक समाज र स्वतन्त्र मिडियाको अनुहारमा देखिएर उग्रदक्षिणपन्थको औचित्य साबित गर्ने कसरत गर्दै छ । पश्चगामी र यथास्थिति संसदीय राजनीतिज्ञहरूका विगत साक्षी हुँदा जनताको ठूलो हिस्साले उनीहरूलाई पत्याउँदैनन् । नागरिक आवाजको प्रवक्ता मानिने मिडियाले नै नैया खियाएर जंघार तार्ला र यसका लागि नेपाली 'ला प्रेस्ता' बनाउनुपर्छ भन्ने सोच विकास भएको हो । ००७ सालको परिवर्तन जसरी सहरियाले चालै नपाई र नपत्याउँदै आइलाग्यो, त्यसरी नै नेपाली अभिजात र उपबुज्रुकहरूले कल्पनै नगरेको गणतन्त्र पत्तै नपाई ह्वात्तै आइदियो । उनीहरू संघात्मक, धर्मनिरपेक्ष गणतन्त्र नेपालले वैधानिकता पाएको हेर्न र पचाउन तयार छैनन् । विगतमा फस्टाएको द्वन्द्व उद्योगलाई अझै भजाउन चाहन्छन् उनीहरू । आफूहरूलेे अनुमानै गर्न नसकेको चुनावी नतिजा आएपछि त झन् उनीहरू रन्थनिए । काठमाडौंलाई देश र पाइन्टबाबुलाई मात्रै जनता सोच्नेले परिवर्तनको सामाजिक नाडी छाम्न सक्ने औकात नै देखाएनन् । भविष्यवाणी र विश्लेषणले हावा खाएपछि उनीहरू झन् तिलमिलाए । हवाईरिपोर्टले लोप्पा ख्वाएपछि उनीहरूलाई दाताले पनि हकारे । जे, जसरी पनि आइलागेको अवस्था मौन स्वीकार गर्ने कि त्यससँग भिड्ने भन्नेमा उनीहरू धेरै दिन दोधारमै रहे । माओवादीविरुद्धको वीभत्सता प्रचार गर्ने होडबाजी चले पनि मूलतः यो अग्रगमन, शान्ति र संविधानविरोधी सक्रियताका रूपमा देखियो । परिवर्तनलाई नामकाजी बनाउने कि कामकाजी ? लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने ? शान्ति र संविधानको ग्यारेन्टी कसरी गर्ने ? यस्ता मुद्दामा माथापच्ची सुरु भएपछि यो छद्म टकराहट घनिभूत मनोयुद्धमा प्रकट भएको मात्र हो । निकारागुवाको इतिहास सात समुद्रपारिको भूगोल छिचोल्दै अढाई दशकपछि नेपालमा दोहरिँदै छ । यहाँ कोन्ट्राका अनेकाँै अभ्यास जनयुद्धअघि र पछि पनि भए । अहिले नयाँ खेल चालु छन् भने ला प्रेस्ता को बन्ने भन्ने होडबाजी पनि त्यत्तिकै चलिरहेको छ । उनीहरूको योग्यता माओवादीविरुद्धको वीभत्सता फैलाउनु, कार्यकर्तालाई निराश पार्नु, भ्रम छर्नु र अन्तरविरोध चर्काइदिएर पार्टीलाई विभाजनमा पुर्‍याउनुमा हुनेछ । यसबाट अर्काे भ्वाइलेतो चमारो त जन्माउने सपना पूरा हुन्छ भन्ने छैन । किनकि निकारागुवामै यो अभ्यासले हावा खाइसकेको छ भने कोन्ट्रा र भ्वाइलेतो चमारो त्यहाँ अब इतिहासका अर्का विभीषण पात्र बनेेका छन् । http://www.nayapatrika.com/newsportal/permalink/10975.html Posted by narendra jung peter at 12:37 PM No comments:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home