Sunday, June 14, 2020

महामारीभित्रका महामारी

कोरोनाले विश्व नै संकटमा रहेकाले समग्र मानवजाति एउटै डुंगामा सवार छ। परमाणु बम र अन्तरिक्ष यान निर्माता शक्तिराष्ट्र मास्क, सेनिटाइजर, भेन्टिलेटरका अभाव, रित्ता डिमार्टमेन्टल स्टोर र ट्वालेट पेपर खोसाखोसमा बन्दुक चलाउनुपर्ने अवस्थाले पुँजीवादी व्यवस्थाको तस्बिर स्पष्ट पार्‍यो। पर्यावरणको बलात्कार गर्दै मृत्यु निम्त्याउनेका हविगत देखिए। कमजोरको स्वाभिमानमाथि सिकार खेल्नेहरूको घर र देशकै अवस्था छर्लंग भयो। महामारीले पनि सत्ताप्यास, भ्रष्टाचारी राजनीतिक संस्कृतिलाई नियन्त्रण गर्न सकेन। अहंकार र घमण्डी शासकहरु श्रीपेच ढल्काएरै आर्यघाट जाने सोच्दै गए। नेपाल गए कपालसँगै,बर्मा गए कर्मसँगै जस्तै प्रवासीलाई भयो। ठूला र शक्तिशालीले जे गर्छन्, ठीकै गर्छन् भन्ने सोचले अमेरिका, बेलायत, ब्राजिल र भारतले लिएको ढुलमुले नीति र नाजुक अवस्थाले ती देशमा मात्रै हैन विश्व समस्या पनि थपिदियो। ती देशले कुन मोडल लागू गर्ने छनोटमै अलमलिए,त्यही अनुसरण गर्नेको कन्तबिजोग हुँदैछ। महामारी, युद्ध र संकटले व्यक्ति वा राष्ट्र त घाइते हुन्छ, पीडा दिन्छ तर यसले मानव सभ्यता र समाजलाई भने जोडदार धक्का दियो। नयाँ प्रश्न, जिज्ञाशा र चेत पलाए। हजारांै वर्षदेखिको सोच, मान्यता, विश्वास, आस्था, अहंकार, भूमिका, पक्षधारिता र बहसमाथि हस्तक्षेप भयोे। कार्पेटमुनि थुप्रिएका समस्या छताछुल्ल भए। सबैको औकात, क्षमता र नियति छर्लंगियो। सुन्दरता र कुरुपताका अर्थ फेरिए। कारण र उपचार खोजिन थालिए। नवउदारवादको अमानवीय अर्थव्यवस्था नांगिएर राज्य व्यवस्थापक हैन अभिभावक बन्न अनिवार्य छ भन्ने निर्देशन दियो। उसकोे अमानवीय अनुहार खुल्यो। शक्तिराष्ट्रले हतियारमा खर्च गर्नुभन्दा शिक्षा र स्वास्थ्यमा खर्च नगर्र्नुको परिणाम देखियो। बहस नयाँ स्तरमा उठेर समाजवादको सान्दर्भिकता फेरि पुष्टि भयो। कोरोनाका मिस फायर गर्दै उग्रदक्षिणपन्थ मौलिक चरित्रमै देखिँदा वैश्वीकरण (ग्लोबलाइजेसन) स्थानीयकरणमा (लोकलाइजेसन) फेरिएर उत्तानु परेर महाशक्तिलाई सडकमा पछार्‍यो। स्थानीयकरणका सँगै प्रवासी अपमान र तिरस्कृत मात्रै हैन असुरक्षित बने, अन्धराष्ट्रवादको बिगबिगी बढ्यो। खुसी बेचेर सुख खोज्ने मनोभाव भत्काइदियो। वैज्ञानिक जानकारी कसैको कम, कसैको धेरै हुनसक्छ। धेरै भयो भने अति राम्रो। महामारीले जाति, धर्म,राजनीतिक सीमा सबै भत्काइदियो। चर्च, मस्जिद, सेनेगाङ, गुम्बा र मन्दिर बन्द गरिए। अर्थात् भगवान् छुट्टीमा र विज्ञान कार्यक्षेत्रमा खटियो। शक्तिको सम्पत्तिा नै विश्वास हो। यस्तैबेला मुर्खतामा पनि आवेग थपिए ‘शक्ति’ बनिदिँदो रहेछ। जागृत समाज भने शक्तिसँग जहिले पनि प्रश्न गर्छ। विश्वासले नै सामूहिक आत्माबल जगाउँछ। हरेक सेनापतिको सबभन्दा ठूलो बल र हतियार उसमाथिको विश्वास हो। नियत नाप्ने तराजु प्रत्यक्षमा देखिने परिणाम र व्यवहार हुन्। असफल शासक भने नक्कली शत्रु खोज्दै जोगिन चाहन्छन्। दोष अरूमाथि थोपरेर निहुँ खोज्दै चोखो बन्न खोज्छन्। पुराना बहस खारेज गर्दै समस्यालाई ओझेल पार्ने कोसिस गरिन्छ। दोष अर्काको टाउकोमा थोपरेर समस्या धकेलेपछि पहिलेका कुरा बिर्सिइन्छ भन्ने मान्यता राखिन्छ। तर समय र संकट भने सत्ता र शक्तिले सोचेझैं सधैं हाँकिदैन। हरेक घटनापछि कारण र उपचार खोज्न थालिन्छ। नयाँ प्रश्न, जिज्ञाशा र चेत जन्मन्छन्। तर केही बाक्लो छाला भएकालाई भने बिर्सने रोगले सताउँदा नयाँ कुरा सोच्नु आतंक बन्छ। नेपालले महामारीमा पनि महाशक्तिको कपी गर्दै जाँदा होसियारी बन्न सकेन। यसै पनि डिसेम्बर ०१९ मै कोरोना देखिइसकेको थियो। सन् २० को सुरुसँगै महामारीका खबर छयासछयास्ती भए। समयमै नियन्त्रण उपाय सोचिएन। समय घर्केसँगै महामारी आफैं खतम हुन्छ भन्ने शक्तिराष्ट्रका नीति पछ्याउनुको दण्ड अहिले भोगिरहेका छौं। विश्व स्वास्थ संगठनका महानिर्देशक ट्रेडोस अधनोम घेब्रेयसुसले कोरोना महामारी कहिले सकिन्छ भन्नेबारे भविष्यवाणी गर्नु हतार हुन्छ भन्दै यो महामारीले कुनै पनि दिशा लिन सक्छ भनेका छन्। दक्षिण एसियामा युनिसेफले पाँच वर्षभन्दा कम उमेरका बालमृत्युको ६ महिानामा पाँच लाख आंकलन गर्‍यो। माघको पहिलो साता देखिएको कोरोना बिमारीको दुई महिनापछि मात्र अर्को थपियो। तयारीको प्रशस्त समय थियो। टेस्टको व्यापकतासँगै आकडाको विश्वसनियता हुन्छ। क्वारेन्टिन त यातनाकेन्द्र हैन मृत्यु केन्द्रमा फेरिँदा अब संक्रमितका साथै मृत्यु संख्या मात्र गनिनेछ। कोरोनाकालमा १२ सयभन्दा धेरैले आत्महत्या गरे। पोष्ट–कोरोनाकालमा अझ मानसिक रोग बढ्नेछ। जीवन रोज्ने कि जीविका भन्ने प्रश्न उठ्दैछन्। हंगर भाइरसको उत्पात हुँदैछ, आदेशले नियन्त्रण हुनेवाला छैन। मध्यम वर्गको अस्तित्व संकटमा छ। असक्षम, गरिब, मजदुरको जीवन के हुन्छ ? जिन्दगी बाँचेर बाँच्ने लकडाउन आफैंमा उपचार हैन, यो त सावधानी र महामारीको चेन टुटाउनु मात्र हो। अब जताततै नागरिक आवाज सडकमा छताछुल्ल हुँदैछन् तर प्रधानमन्त्रीको अजिम्मेवारी सदनको भनाइ सदनमा प्रहसन बन्यो। लकडाउनको रक्षा गर्न सरकार असफल भयो। सरकारसँग योजना, व्यवस्थापन र सपना देखिएन्। अल्पसूचनाका आधारमा लकडाउन त चैत ११ बाटै गर्‍यो जुनबेला संक्रमितको संख्या तीन मात्र थियो तर लकडाउन लड्खडाउने काम भने सरकारले नै सुरु गर्‍यो। सडकमा वेसाहारा मानव–ताँती देखापरे। लकडाउन उपचार नभई महामारीको चेन काट्ने उपाय मात्रै हो। यसैबेला अध्यादेश ल्याउने, विरोधी पार्टी फुटाउने षडयन्त्रमा लाग्ने, पार्टी गुटबन्दीका भेला गर्ने, मन्त्री र सांसद रातिराति आफ्ना जिल्लावासीलाई बस र ट्रकबाट राजधानी बाहिर पठाउन थाले। यसैबेला ओम्नी प्रकरण देखापर्‍यो। सेनाले ल्याएको उपकरण पनि महँगोले गर्दा विवादमा तानियो। कोरेन्टिन यातनागृह र मृत्युकेन्द्रमा फेरिए। मरेपछि कोरोना संक्रमित भनिएकाले जिउँदोमा उपचार पाएनन्। सरकारको नीति तथा कार्यक्रम र बजेटमा नयाँ एजेन्डा र नयाँ आशा जगाउन सकेन। संकटले अवसर पनि सँगसँगै ल्याएको हुन्छ तर मूलकर्तामा योजना र इच्छाशक्ति भने चाहिन्छ। जनता आश्वस्त र विश्वस्त तदर्थवादमा नभई योजना र कार्यक्रममा हुन्छन्। कोरोना राहतको प्याकेज आउँछ भन्ने आसमा रहेकालाई सरकारले निराश बनायो। अहिले खाइपुग्दो वर्ग आतंकित, मध्यम वर्ग अस्तित्व धान्न भयावह र निम्नवर्गमा त यसै पनि त्राहीमामको अवस्थामा छ नै। पर्याप्त समय हुँदाहुँदै योजनाहीन लकडाउनले घरफर्कने सडकमा मजदुर लर्को र सीमामा देश फर्कने प्रवासी ताँतीले समाजवादउन्मुख सत्ताको चित्र र चरित्र छताछुल्ल भएको छ। दिशाहीनताको सिकार र दुविधाग्रस्तताले न कोरोना नियन्त्रण गर्न सक्यो न घायल अर्थव्यवस्था सम्हाल्नै। अझ संसारबाटै ओइरिने प्रवासी मजदुर फर्केपछि अर्थतन्त्र कसरी धान्ने कुनै योजना नै देखिँदैन। दलाल प्रजाति र भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय संकल्प, संवैधानिक अंगको पूर्ण स्वायत्तता, सामूहिक सक्रियता, व्यक्तिगत जिम्मेवारको प्रतिबद्धता कतै देखिँदैन। विपत्तिमा भावना र आग्रहले हैन विवेकले काम लिनुपथ्र्यो। अहिले सत्ता केन्द्रिकृत त भएको छ तर बालुवाटारका सहयोगी वा सल्लाहकारमा कुनै पनि विषयमा राय बजार्ने रत्तिभर साहस देखिँदैन। प्रधानमन्त्रीको सदनको सम्बोधन ठट्टाको विषय बन्यो। सरकारसँग जिज्ञाशा उठाउन, विरोध गर्न, दबाब दिन, शंका गर्न, असहमति जाहेर गर्न नमिल्ने हुँदैन तर आलोचना र कमजोरी औंल्याउने व्यक्ति वा मिडियालाई बैरी सोच्ने सरकार अहिले मनोआनन्दमा रमाइरहेको छ। हुकम बजार्‍यो, पालनको आदेश फर्मायो, रैती प्रश्न उठाँउदैनन् भन्ने मिथ्या सोचमा छ। भोको पेट, अपमानित स्वाभिमान, अनिश्चित भविष्य, टुटेका सपना, ध्वस्त भएका व्यवसायी सधैं आदेशमा मात्र चल्दैनन्। सडकमा पोखिने आक्रोश सत्ताका डण्डाले मात्र नियन्त्रण हुँदैन। अहिले लकडाउन पालना सरकारी आदेशले नभई स्वमृत्यु डरका कारणले हो। जीवन या जीविका रोज्ने समयमा हंगर भाइरस (भोक) फैलिएपछि सबै नियन्त्रण ध्वस्त हुन्छन्। अनुशासन, धर्म, मान्यता, कानुन, सत्ताका नयाँ परिभाषा लाग्छन्। तब योजनाहीन सत्तामुनि जिउन अभिसप्त मानवले नयाँ मानक खडा गर्छ। अर्कोपक्ष छ–व्यक्ति, समाज र देशका जुझारु सशक्त अनुहार भूमिकामै देखिन सक्छन्। पुरानो मतभेद बिर्सिएर प्रतिकूल परिस्थितिसँग लड्न नयाँशक्ति एकाकार हुन सक्छ। सबैका औकात, हैसियत र मनका कुरा छरपष्ट भए पनि अहंकारले टुट्न दिन्छ, झुक्न वा पछि हट्न दिँदैन्। भ्रष्टहरू मौलाउने, अन्धविश्वास फैलिने र तानाशाह सुरक्षित हुने मात्रै हैन, समाजको चेतनाले फट्को मार्ने र संरचना नै भत्कने पनि यस्तै बेला हो।http://annapurnapost.com/news/158643

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home