Monday, June 22, 2020

गद्दारी गर्ने पालो

वैदिक साहित्यमा कूल र लंकाध्वस्त गराउने रामभक्त विभीषण ठूला गद्दार थिए भने समकालीन इतिहासमा इराकी अहमद चलावी। समय, पात्र र भूगोल फेरिँदा पनि गद्दारका कथा भने रूप फेरिए पनि गुण फेरिँदैनन्। नयाँ अनुहारमा भिन्नभिन्न ठाउँमा विभीषण जन्मिरहन्छन्। युद्धमा हराउन नसकिएपछि प्रलोभनमा फसाएर विभीषण उत्पादन गरिन्छ। इतिहास पुरानो हुँदैन्। समय–सन्दर्भले थप अध्ययनको माग गरिरहन्छ। परिस्थतिअनुसार आफू ढल्ने कि परिस्थितिलाई विचारअनुसार ढाल्ने ! नेतृत्वसामु गम्भीर चुनौती बन्छन्। व्यवहारवादी बन्न सिद्धान्तको अन्त्य भनिए पनि फेरि हामी राष्ट्रवाद, स्वाभिमान, इतिहासका गौरवगाथा, वैदेशिक, सहयोग, भ्रष्टाचारविरुद्धका खेलभित्रका झेलका बहसमा छौं। बालुवाटार जमिनको दोहोरो न्यायिक मापदण्डले नेपाली समाजलाई हल्लायो। एमसीसी र लिम्पियाधुराले झस्काउँदै छ। एउटा विषय किनारा नलाग्दै अर्को विषयले साविक बहसलाई पचाइदिँदैछ। हरेक बहस सिर्जना गरिने समयले धेरै अर्थ राख्छन्। एमसीसी बहसले सरकारी नेकपा पार्टी र सडकका घेरामा परेको थियो, त्यसैबेला अख्तियारले दोहोरो मानकमा मुद्दा दर्ता गर्‍यो। यसै पनि तीन दशकदेखि बालुवाटार जमिन प्रकरण नेपाली सत्ताको कुरूप चित्र र चरित्र बन्दै गएको थियो। शक्तिका भाषा र भक्तिले गम्भीर विषयका बहस योजनाबद्ध विषयान्तर हुन्छन्। सत्ताधारीलाई सत्तामा रहिरहने र विपक्षलाई सत्ता भर्‍याङ चढ्ने सुविधाअनुसारका शीर्षक बन्दै चर्चा हुन थाल्छ। जब नेतृत्व आदर्शवादी भूमिकाबाट चिप्लन्छन् तब गद्दार र दलालले मौका पाउँछ। त्यसबाट कुनै पनि देश, समाज, सांस्कृतिक–इतिहास अछुतो रहेन। विश्वासमाथिको घात नै महागद्दारी हो। निजी स्वार्थ, सत्ताभोग, परिवार अति मोह वा आत्मरक्षाका भयले जन्मिने प्रतिक्रिया गद्दारीका मुहान हुन्। गद्दारले मौकामा चौका हान्ने मौका संक्रमणकालीन अवस्था, क्रान्तिकारी आन्दोलन चलिरहेका बेला, विदेशी हस्तक्षप वा सामरिक थलो बनाउन शक्तिराष्ट्र लागेको समयमा फक्रने मलिलो भूमि बनाँउछ। बहादुर र कायर, नायक र खलनायकका बीचमा सामान्य धर्सो भएजस्तै परीक्षा नदिईकन बहादुर बन्न पाउँछन्। जित र हारका बीचमा त्यति ठूलो अन्तर हुँदैन। आफ्ना जीवनका उद्देश्य कसैले पनि घाटे र ज्यानमारा बन्न नराखेजस्तै गद्दार र दलाल नै बन्छु भन्ने पनि कसैले सोचेको हुँदैन। संगीन मोडमा उनीहरूले खेलेका महŒवपूर्ण भूमिकाले बिक्रीमूल्य बढेको हुन्छ। गद्दारीको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम हुन्छ। इराकी अहमद चलावी धनी र पढेलेखेका अमेरिकी पीएचडी थियो। विद्वान् कहलिन्थ्योे। अमेरिकी सेनासहितै बादाद उत्रिएको प्रवासी इराकीमा अमेरिकाको सबभन्दा विश्वास पात्र उसैमार्फत अमेरिकी सत्ता र मिडियाले इराकी परमाणु बमको विश्वस्त थिए। अहिले न्युयोर्क टाइम्सकी जुडिथ मिलरबाहेक पश्चिमा मिडिया आत्मालोचनाको अवस्थामा छन्। अमेरिकी आक्रमणको मुख्य सहयोगी बेलायत थियो। चिल्कट कमिटीले सात वर्ष लगाएर इराक आक्रमणसम्बन्धी ६ हजार पानाको रिपोर्ट बेलायती संसद्मा पेस गर्दा त्यहाँ मारिएका आफ्ना सन्तान सम्झिएर अंग्रेजहरू रोइरहेका थिए भने दोस्रो विश्वयुद्धपछि सार्वभौम राष्ट्रविरुद्ध सहभागी भएकोमा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई सरापिरहेका थिए। सैनिक कमान्डरले उनलाई माफी माग्नसमेत भने। गद्दारलाई सत्ता रहिञ्जेल हाईहाई भए पनि कालान्तरमा थुथु गरिएर नकार पात्रका रूपमा सम्झिइन्छ। मान्छेको स्वभाव सनातनमा नरमेर विकल्प रोज्ने हुन्छ। तर कहिलेकाहीं त्यही स्वभाव राष्ट्रघात बनिदिएर गद्दार जन्माइदिन पनि सक्छ। पैतालामुनि कति जमिन धसिसक्यो पत्तै नपाउने शासकले आफैंसँगै देशै ध्वस्त गराउँछन् पनि। इराक, लिबिया, सुडान नियालौं। नमरिञ्जेल सत्तामै रहन चाहाने सद्दाम र गद्दाफीजस्ता शासकले गद्दार बन्ने र गद्दार जन्माउने कारक बन्दिन्छन्। बाथ पार्टीका सद्दाम हुसेनको लामो समय स्वेच्छाचारी शासनकाल चलाए। छोराहरूको उद्दण्डताले इराकी जनमत आजित बनेर विकल्प खोज्दै थिए। ९० को दशक कुबेत त बहाना थियो भने दोस्रो इराक आक्रमणमा महान् फारसी सभ्यतामाथि नै धावा थियो। अमरिकाले सद्दामलाई सत्ताच्युत त गर्‍यो तर बाथ पार्टी प्रमुख सद्दाम कुनै समय अमेरिकी भक्त मात्रै हैन, सीआईएका दस्ताबेजमा सन् १९५९ सम्म तलबदार पनि देखिन्छ। मोसोपेटामियाका आत्मा, फारसी सभ्यताका दस्ताबेज बागदादका पुस्तकालय र कला केन्द्र ध्वस्त पारिए। आखिर जसले चलावीलाई दालाल बनायो, उसैले नै हुर्मत लिँदै सन् २००६ मा रछ्यानमा फ्याँकिदियो। सन् २०१५ नोभेम्बर ३ मा उसको जनाजामा (मलामी) थोरै मात्र इराकी थिए, आँसु बगाउने नगन्य। १९ मार्च २००३ देखि २१ दिन चलेको आक्रमणका प्रमुख सूचनादाता र भीड व्यवस्थापन भने चलावी नै थियो। अहिले इराकी संसद् अमेरिका फिर्ता जा भन्छ। इराकी जनता सडकमा छन् तर अमेरिका – म फर्कन्न भन्छ। चलावीबारे बैरी लान्डो लेख्छन् ः अहमद चलाबी, होसियार, विश्वासघाती, इराकी शरणार्थीबीच लगातार षड्यन्त्र रच्नेवाला सन् १९९१ देखि सन् २००४ सम्म अमेरिकी इराकी नीति बनाउन ठूलो सहयोगी भयो। अर्का लेखक एवं निर्माता रिचर्ड बोनिन ः यो इराकी प्रवासी धेरै आकर्षक र पूर्णतया अनैतिक हो। यसको कुनै जनतामा आधार छैन तर सीआईए, अमेरिकी रक्षा मन्त्रालय र डिक चेनीसम्म यसको सल्लाहकार मानिन्छ। यो इरानी गुप्तचर संस्था प्रमुखसम्म पनि पहुँच राख्छ।’ इतिहासमै फर्कौं। तीन सय सेना मात्र रहेको अंग्रेज सेनापति क्लाइबले १८ हजार सेना रहेको सेनापति मिर जाफरलाई बंगाल नबाबको प्रलोभन दिएपछि उसले आफैंलाई हरायो। तर जो मान्छे आफ्नै देशलाई हुन सक्दैन त्यो अरूलाई कसरी हुन सक्ला ? सिराजुद्दौलालाई धोका दिई १८१४ मा नबाब बनेको मिर जाफरलाई ज्वाइँ मिर कासिमबाट १८१७ मा हत्या गराइयो हो, त्यस्तै नेपाली सेना पश्चिमी सीमामा लड्दै थिए, त्यही बेला गजराज मि श्र र चन्द्रशेखर उपाध्यायलाई घुस दिएर सुगौली सन्धि २३ फागुन १८७२ मा लेफ्टिनेन्ट कर्णल प्यारिस ब्राड्सले गर्‍योे। दलाललाई कालान्तरमा प्रभुले पनि नपत्याउने कुरा दिल्लीले कार्पेट ओछ्याउने लेन्डुप दोर्जेलाई इन्दिरा गान्धीको व्यवहारले जनाउँछ। जब निजी सचिव आरके धवनले लेन्डुप भेट्न पर्खेको धेरैबेर भयो म्याडम भन्दा प्रधानमन्त्री गान्धीको जवाफ थियो –जुन मान्छे आफ्नै देशका लागि हुँदैन, त्यो हाम्रो हितको कसरी हुन सक्छ ! समय छैन भनेर फिर्ता पठाइदेऊ।’ २६ अप्रिल १९७५ मा भारतमा विलय गराउने लेन्डुपको सन् २००७ मा कालिङपोङमा एक सय तीन वर्षको उमेरमा निधन हुँदा न उसको देश थियो, न नयाँ देशले उसको वास्ता गथ्र्यो, मलामीमा कुनै सिक्किमेली थिएनन्, न नयाँ पत्नी स्कटिस पत्रकार तथा साहित्यकार एलिसा मारिया नै थिइन्। गद्दारकै चर्चा गर्दा जापानी–दलाल चिनियाँ शासक वाग जिङ वेको चर्चा गर्नु आवश्यक हुन्छ। ऊ (१९४०–४४) सम्म चीनको शासक रह्यो। हरेक गद्दारसँग आफ्ना औचित्य सावित गर्ने तर्क भएजस्तै उसको पनि महान् एसियावादको पक्ष, कम्युनिज्म र चाङ काइसेकविरुद्ध तर्क थिए। तर ऊ आफ्नै मातृभूमिमा मर्न भने पाएन। उसको मृत्यु पनि जापानको नोगियामा १० नोभेम्बर १९४४ मा भयो। भारतमा गद्दार फणीन्द्रनाथ घोषले गवाही दिएपछि मात्र भगत सिंह, राजगुरु और सुखदेवको फाँसी भएको थियो भने प्रजा परिषद्बारे भेद खोल्ने शुक्रराज शास्त्रीकै भाइ वाक्पतिराज जोशी (रामजी जोशी) थियो। कांग्रेस र कम्युनिस्टहरूले गरेका आन्दोलन वा सशस्त्र संघर्षमा कैयन् गद्दार निक्ले। उनीहरूले सहयोद्धाको हत्या र गिरफ्तार गराए। कैयन् जनयुद्धका गद्दार त अहिले पनि सत्ता सुखभोग गरेर समयलाई जिस्काइरहेकै छन्। गद्दार सिँगार्न छवि निर्माणमा मानार्थ पीएचडी र ‘पुरस्कार’ का कथा संसारमै गज्जबकै छन्। ती सम्मान र पुरस्कारभित्रका रहस्य बुझिनसक्ना हुन्छन्। जहिले पनि नोबेल शान्ति पुरस्कार त विवादित नै छ। त्यस्तै इरिट्रियामा नयाँ चलावी खडा गर्न पालस तेस्फाजियोजिसलाई सन् २००३ मा जर्मनीको एक संस्थाले रावलो पुरस्कार दियो। पालस इरिट्रियाका युवालाई इथियोपियाको सहयोगमा विद्रोहमा उतारेर गृहयुद्ध भड्काउने व्यक्ति हो। मो. इब्राहिम स्थापित द इब्राहिम प्राइज फर एचिभमेन्ट अफ अफ्रिकन लिडरसिप पुरस्कार विवादित छ। जब हितअनुसारको अफ्रिकी नेता सन् २०१२÷१३ मा पाइएन तब कुनै अफ्रिकीलाई सो पुरस्कार दिइएन। संसारमै त्यस्ता दलाल र गद्दार उत्पादनमा पुरस्कार, एनजीओ फन्डिङ र बौद्धिक बहसका एजेन्डा सेटिङका यत्रतत्र देख्न सकिन्छ। नेपालकै द्वन्द्वउद्यम नियाले धेरैको जन्मकुण्डली ह्वाङह्वाङती हुन्छ नै। के गद्दारका पनि इतिहास हुन्छन् ? हो, पक्कै पनि गद्दारका पनि नायकसँगै इतिहास हुन्छन्। नायकले जब नायकत्व धान्न सक्दैन, व्यवहारवादी, परिस्थितिको अनुयायीका नाममा सुविधाको राजनीति गर्न थाल्छ तब गद्दारी यात्रा सुरु हुन्छ। नायक मरेर इतिहासमा सम्मानित हुन्छन् भने र गद्दारलाई सत्ता रहिञ्जेल हाईहाई भए पनि कालान्तरमा थुथु गरिएर नकार पात्रका रूपमा सम्झिइन्छ। जसका लागि गद्दारी गरेको हुन्छ, उसले नै अपमान पनि गर्छ। गद्दारीको सबभन्दा ठूलो दृष्टान्त भनेको समाजमा विचार र सपनाको आवेग बढाउनु तर व्यवहारवादी बन्ने नाममा कालान्तरमा त्यसैलाई अस्वीकार गर्दै आफैंलाई मुर्दावाद भन्नेहरू हुन्। हतियारको मालिक कोही पनि हुँदैन, चलाउनेको हुन्छ। खुसी बेचेर सुख किन्ने हुन् वा स्वाभिमान अर्पेर दलाली र गद्दारी गर्ने एकै वंशकै हुने गर्छन्। अहिले नेपालले विचार, व्यवहार, स्वाभिमानको महाभ्रष्टाचारीमा कीर्तिमान तोड्दै हितअनुसारका व्याख्या हुँदै भए। अब भने नेपाली ‘महान्’ गद्दारमा थप नाम कसले पो लेखाउला ? भन्ने मात्र हो। http://annapurnapost.com/news/148777

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home