पाँचखाल र नव–नगरपालिका सपना
हे मानव श्रेष्ठजन, तपाईं भन्नुहोला – तँ किन एउटा सानु भूगोलबारे यसरी चर्चा गर्दैछस्’ बात लगाउन पनि सक्नु होला । मेरा जन्म कोख र मातृभूमि यही हुनुपर्छ भनेर दरखास्त हालेर हैन । पहिलो पदचाप जुन धरतीमा प¥यो, रक्तपिण्डले गर्भबाट झर्दै माटो टेकेको थलो हो यो । त्यही मातृकोखलाई सदा नमन गर्ने कारण नै यस लेखको आधार हो । मैले तारावाजी लै लै र हुकुत्ति बासुत्ति खेलेको थलो हो, भमरकोट । पुलली बनाएर खेलेको छु, डण्डीबियो, लुकाछिपी खेलेको छु । घाँस दाउरा गरेको छु र दवदवे हिलोमा असारे गीत गाउँदै गोरु साएको छु । बिहेमा सिलोक भट्याउँदै जुहारी खेलेको छु । भगवतीको जात्रा गएको छु । डाँफे र झिगुमा पौडी खेलेको छु कयाँ घट्टमा मकै पिँधाएको छु । नदी सुके, घट्किए, बिहा वफे पार्टीमा फेरिए, दवदवे हिलोमा बेठी लगाउने रोपाई, यी सबै अब सन्तानलाई सुनाउने कथा बने पाँचखालका ।
हँ, त यही भमरकोट …. जहाँको त्यही थियो, कालान्तरमा पाँचखाल पो बन्न पुग्यो । कोट त्यही, मौलो त्यही, चन्देनी त्यही, त्यही डाँडाले दुरदराज नियाल्ने गर्विला पहाड त्यही, जागृति पुस्तकालय त्यही, चण्डेनी स्कूल त्यही, अम्वाका बोट त्यही, थाकलका ड्याङ त्यही तर भमरकोट चाहिँ पाँचखालमा फेरिने नियति । पाँचवटा गाविसको ४५ वडालाई १७ वडामा फेरिएका पाँचखाल, हुक्से, अनेकोट, देवभूमि वालुवा, साठीघर भगवती अब पाँचखाल नगरपालिका वार्ड नं .. भन्दै ठेगाना, लालपुर्जे मोठ, सरकारी ढड्डा सबै ठेगाना फेरिनेछन् ।
हुन सक्छ … तिमी र तिमीहरु, हामीहरुका पनि अब ठेगाना फेरिए होलान् । मेरो र तिम्रो जन्मथात कहीँ कतै एकवित्ता पनि फेरिएको छैन् तर अब ठेगाना भने फेरिएको हुनेछ । त्यसैले तिमीसँग अब म केही कहन्छु । सुन्नैपर्छ तिमीले, तिम्रा पुस्ताले, हाम्रै पुस्ताले । हुन सक्छ, यो हुक्सेली दुलालपुत्रसँग तिम्रो आग्रह होलान्, उसका वैचारिक आस्थासँग विमति होलान् । महान समरयात्रा क्रममा पीडा पाएका, भोगेका पनि हौँला … र हौला । तर, परिवर्तनको महासमर तिमी–हामी सबैले कष्ट भोग्नै पथ्र्यो, भोग्यौँ … भोग्यौ । सुन… मेरा आफन्तजन, अब केही तिमीसँग बात कहन्छु, सुन …, सुन्ने धैर्यता राख त । विमति राख्ने अधिकारको कहाँ पो सम्मान गरेको छैन र ! मैले । हो, तिम्रै नाममा अहिले यो चिठी कोर्दैैछु ।
तिमी अहिले एकाएक गाउँलेबाट नगरवासी दरियौ । न तिमी फेरिएका छौ, न तिम्रो औकात, सोच्ने तरिका, नाता, गोता, चालचलन, भूगोल, केही पनि नफेरिई तिमी र म एकाएक नगरवासी कसरी भएछाँै हँ ! सुत्दा गाउँले थियौँ बिउझिँदा त सहरिया । हे पलाञ्चोकी माई …..कुन ‘ग्रहदसा सप्रेर’ हामी नगरवासी भयौ ? कसका कृपाले ? हे माई भगवती । संरचना त्यही, आँठा लागेका गाउँ र वडाका सीमाना भत्केका मात्र । हाम्रा भूगोलमा राँटा कति मेटिए, कति नयाँ आँठा लागे । खुम्चेका मन, साँघुरिएका दिमाग, भत्केका आदर्श, लिलामीमा चढेका स्वाभिमान, नाफा खोज्दै भड्केको हाम्रो मानवता, तँ को होस्को जवाफ नपाएर रन्थनिएको युवा । हामी केमा गाउँलेबाट सहरिया बन्यौ त ? भन्छन् सहरमा ठूलो बजार हुन्छ, त्यहाँ किन्ने र बेचिनेहरुको भीड लाग्छ, नाफा खोज्न औकात अनुसारको सुक्रीविक्री हुन्छ । भन् …. गाउँले दाइभाई अब तिमी सहरवासी भएपछि के बेच्छौ ? के किन्छौ ? तिमीसँग लिलामीमा चढाउने के छ ? अस्मिता, स्वभिमान, सपना, चाहाना के बेच्छौ तिमी ? के मेरै गाउँ होइन किड्नी बेचेर घरमा जस्तापाता ठोक्ने या बुर्जा ठोकेको घर बनाउने ? के मेरै समाज होइन बम्बैमा आफ्नै चेली बेच्ने ? के मेरै समाज होइन काठमाडौं सहरमा गुण्डा निर्यात गर्ने ? भन …. । आज काउकुती लगाए तीन दिनपछि मात्र हाँस्ने, आज चिमोटेपछि हप्तादिनमा ऐया भन्ने मेरो समाजको संवेदना । अरुको चितामा सेकेको रोटी मिठो मान्दै हर्सुने । साच्चै काउकुती लाग्दैन, दुख्दैन र पोल्दैन हामीलाई । दिल र दिमाग या तुजुगमा या त सुविधामा या त बजारमा राखेका त छैनौँ हामीहरुले ? तुजुग देखाउन हामी के देखी के गदैर्नौ ! हामीलाई एउटै डर छ अर्काले के भन्देला भन्ने । उसैलाई देखाउन मलामीमा पनि तुजुग, विहा, ब्रतबन्ध, चाडपर्वमा पनि तुजुग । तुजुग देखाउने मौका मिलेन भने हामी आफै तुजुग देखाउने पर्व पनि सृष्टी गरिदिन्छौ, मृत्युभोज पनि तुजुग थलो बनिदिन्छ । अब त झन् सहर बनेपछि त त्यो बढ्ने छ नै । सबै रित्याएर तुजुग देखाउने, कर्म खोट भए शनिग्रह पन्छाउन् विज्ञानमा सवार हुने हाम्रो जात ।
पाँचखालका कथाव्यथा र गौरवता अझै जीवन्त कहने ७ दर्जन उमेर काटेका ८५ वर्षीय तरुण अझै ज्यूँदै छन् । पाँचखालको गौरवताका अनेकौ आन्दोलनका कथा छन्, त्यो रत्नप्रसाद लामिछाने जीवित एउटा पुस्तक हो, सुनौ । विर्ता विरुद्धको सङ्घर्ष, शिक्षामा क्रान्ति, राजनीतिक चेत, विर्तावाल र रैतीका संघर्ष, सामाजिक र साँस्कृतिक आन्दोलनहरु । के उमेरका तन्नेरी र अल्पायुमै चेतमा भने बुढ्यौली लागेकाले यो बुझन सक्लान् ? सलाम ८५ वर्षीय तन्नेरीलाई । अझ अहिलेको पाँचखालसँग शक्ति र क्षमता एकै ठाउँमा जोडिएको छ । गौरवशाली हिजो, जाज्वल्यमान वर्तमान, आशालाग्दो भविष्य जोडिएको छ । त्यसलाई राजधानीले सेपमा पारेको मात्र हो । हामीले बिर्सिदेओस भन्ने एउटा अदृष्य शक्तिले हामीलाई रिंगाइरहेको छ, आखिर त्यो के हो ? हामीसँग विगतको गौरवता, वर्तमानको शक्ति र भविष्यका योजना र सपनाहरु सबै छन् तर ढुंगाजस्तो देखिएको हिरालाई कसी लगाउने जौहरीको कमी छ । कस्तुरीले आफ्नै नाभीमा रहेको विना थाहा नपाएर वास्ना पछ्यादै भड्किरहेको जस्तो छ हाम्रा कथाव्यथा र नियति । अहिले तिमी–हामी गाउँलेबाट नगरवासी भएकोमा नाक घिरौला झैं फूलाएका छौँ । नियाल आफैलाई, आप्mनै भूमिलाई, आफैलाई हाक्ने नेता भनेका जिम्वाल, थरीलाई । म मेरै कथा भन्दै पाँचखालसँग बात मार्छु । झिगु र डाफेँसँग जुहारी खेल्छु । खहरे छहरे र पचवारघाटसँग दोहरी खेल्छु, पुरातात्विक र आराध्यदेवी पलाञ्चोकी भगवती र व्यापारी नाका हुक्सेसँग साउती गर्छु । के यही बाटो हैन, काजी भीम मल्लले तिब्बत सर गर्दा कुल्चेको ! हामी कुती यतैबाट लावालस्कर लिएर गएका हैनौ ? के यही बाटो हैन, मानव पैतलाले पहिलो पटक सरगरमाथा कुल्चिने तेन्जिङ्ग नोर्के शेर्पा हिँडेको ! हो, पाँचखालसम्म पुग्दा उनी आपूmलाई नेपाली नै भन्थे, रविको उकालो लागेपछि भारतीय प्रलोभनमा फसे । इण्डियन भन्न थाले आपूmलाई ।
अहिले नगरपालिका बनेको पाँचखालसँग के थिएन र छैन् ? हनुमानको अन्तरनिहीत शक्ति जाम्वुवानले सम्झाएपछि लंका दहन गर्न सकेको थियो, तर आधुनिक जाम्बुवान अहिले हामीसँग छैन, हामीले हामीभित्रै हाम्रै थलोमा खोज्नुपर्छ । ०७ सालमा क्रान्तिका विगुल पूर्वबाट फुकिँदै आउँदा यहीँका जिउँदा मान्छेले अगुवाई गरे । बोल्ने औजार खेताला र हली थिए काले थिङ र आइतसिङ दनुवार र दशरथ मिजार अर्थात. हिजाका जिम्वाल, थरी, द्वारेका हली गोठाला । ओछ्यान मुताइदिए ठालुहरुलाई । के रत्नप्रसाद लामिछान, पुष्पराज ढुंगाना, कवि, भाषाविद् एवं साहित्यकार कृष्णप्रसाद पराजुली, कवि एवं लेखक गोपाल पराजुली, अहिले आदर्श प्रहरी अफिसर बनेका रमेश खरेल, संवेदनशील अवस्थामा गृह प्रशासनको नेतृत्व गर्ने सचिव जर्नादन नेपाल ….. यी सबै नयाँ पाँचखाल नगरपालिकाका गहना हैनन् र ? के पाँचखालकै गौरवता हैनन् र !
कुनै दिन पाँचखालले भक्तपुर तरकारी बेडाएर साग लान्थे, सुकाउँथे, अनि तरकारी बनाउँथे । अहिले भने काठमाण्डूलाई तरकारी र गोरस् धान्ने मुख्य थलो भएको छ । यसको लागि ठूलो मुल्य तिर्नुप¥यो । झिगुखोला जलाधार क्षेत्र एकातर्फ मरुभूमिकरण तीव्र भयो भने इसिमोड प्रतिवेदनमा सार्कको सबभन्दा प्रदूषित खोला ठहरियो । यदि यो उपत्यकाको अल्पकालिक र दीर्घकालिक जल नीति (कोसीबाट सुरुङ वा लिपm्ट आपूर्ति) नभए यो काकाकुल वस्तीमा फेरिनेछ र मरुभूमिको नगरपालिका बन्नेछ । सम्भावना छ, राजधानीको जनघनत्व र बढ्दो सहरीकरणले बाह्य रिङ्गरोडको आवश्यकता, त्यसले पाँचखाल छुनैपर्ने अवस्था, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र मात्रै हैन् दीर्घकालीक कोशी योजनाको जलमार्गको उपयोजन, खहरेदेखि छहरेसम्मको झिगुखोला जलाधार क्षेत्रका सपना देख्ने, सम्भावना र चुनौती व्यहोर्ने नयाँ बनेको नगर नेतृत्वको । आशा र विश्वास गरौँ त्यसको लागि जनविश्वास प्राप्त नैतिक पूँजी र इच्छाशक्तिको राजनीतिक नेतृत्व ।
फेरि बिर्सन नहुने एउटा लोककथा छ – त्यही पचुवारघाट हो जहाँ झिगु र रोशी कोशीको दोभान । कोशीसँग वर्षे भेल बनेर एकपटक झिगु छोरी माग्न गएको रहेछ । उसले कोशीलाई छेकेर भनेछ –‘मलाई तिम्री सुकन्या सुम्पिदेऊ, नत्र अघि बढ्न पाउँदैनौँ’ । अविरल बग्ने भोटेकोशीको महानता हेर त … झिगुलाई हिउँदमा वरियात लिएर आउनु है भनेर विदा गरेछ । छोटो बढेपछि हेर खहरे कसरी गडगडाउँदो रहेछ, हो त्यही झिगुखोलालाई अझै बात लागेको छ, कमिलाले अब त्यही डाँफे र झिगुलाई मुतिदिन्छ । खै घट्टहरु ? झरनाहरु ? खै देउसी, भैलो भजन, श्लोक र दोहरे गीत ? गिदाङ्गेका घन्कने स्वरहरु, ती आँशु कविहरु … ।
अन्तमा, गाउँबाट नगरपालिका बन्दा भूगोलमात्र थपिएर हुँदैन उसको हरेक पाटापक्षमा स्तर विकास गर्न पनि पर्छ । दायित्व, आदर्श र महानता नगर गहना बनाउन सक्नुपर्छ । उदयमान नगरपालिकाहरुले अन्यत्र दुनियाका सम्पन्न र साँस्कृतिक धनाढ्य नगरपालिकासँग मितेरी बढाएर सम्भावना चुम्न सक्छन् । के त पाँचखालका उम्दा सन्तानहरुले नगरपालिका बन्दा त्यसको मानसिक तयारी त गरेका छन् ?
www.kavretimes.com.np/पाँचखाल-र-नव-नगरपालिका-स/