Friday, June 18, 2021

अदालत, विश्व अभ्यास र विश्वास

सरकारमाथि अविश्वास भए आन्दोलन जन्मिन्छ भने अदालतमाथि अविश्वास भए निराशा, अराजकता र द्वन्द्व फैलिन्छ विश्वासको संकट महासंकट हो । सरकारमाथि अविश्वास भए जनता सडकमा उत्रिन्छन् र आन्दोलन, विद्रोह तथा क्रान्ति जन्मिन्छन्, तर अदालतमाथि नै अविश्वास पैदा भए निराशा, अराजकता र द्वन्द्व फैलिन्छ । ढिलो न्याय दिनु, पेसी चढ्नु तर बहस नहुनु भनेको टुंग्याउनुको बदला टंग्याउनु हो । राजनीतिक विषयमा अदालत फसेर गन्जागोल बनाउन थालियो भने अदालतप्रति आशंका बढ्छन् । फैसलाको समय घर्काउनु रणनीतिको हिस्सा बन्छ । अदालतको गरिमा नै जनविश्वास हो । युगवाणी बनेर जनविश्वास बढाउने फैसलाले समाजलाई ऊर्जा दिन्छ । न्यायाधीश व्यक्ति नभएर च्याम्बरमा बसेपछि संस्था मानिन्छ । यदि पदासीन त्यस्ता कुनै व्यक्तिको भूमिका, आचरणको समय र समाजमा प्रश्न उठ्छन् भने संस्थाको मर्यादामाथि प्रश्न उठ्छ । संस्था सम्मानित भएर मात्रै पुग्दैन, त्यहाँका कार्यकारी पात्रको गरिमा पनि संस्थाको अपेक्षित आदर्शअनुकूल हुन आवश्यक हुन्छ । यदि व्यक्तिले संस्थाको औकात धान्न सक्दैन भने संस्थाको गरिमा त घट्छ नै, त्यसले समग्र व्यवस्था र समाजले नै कष्ट भोग्नुपर्छ । तब गरिमामय संस्थामा अयोग्य व्यक्ति पु¥याउने, पदासीन गराउने र सल्लाह दिने व्यक्ति पनि विवेकशील समाज र इतिहासमा दोषी ठहरिन्छन् । निर्णयको मसी सुक्न नपाउँदै बारम्बार निर्णय फिर्ता लिन बाध्य हुने अवस्था सिर्जना हुन्छ भने नैतिक रूपमा त्यहाँ टिकिरहन हुँदैन । अदालतका मान र मानहानिका विषय खोतल्दा भारतीय सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषणको भनाइ सान्दर्भिक हुन्छ– मान हुनेको पो मान राख्ने, निर्लज्जको के मान राख्नु ? सेवानिवृत्त हुनेबित्तिकै कुनै आयोग या मालदार ठाउँमा पाइने सम्भावित नियुक्तिले फैसलालाई प्रभाव पार्छ भने हामीले होइन, स्वयंले आप्mनै मानहानि गरिरहेको ठहरिन्छ। कोरोनाकालमा अझ संसारभरि न्यायाधीश र उनीहरूका भूमिकामाथि प्रश्न उठे । जुन देशमा न्यायिक–अर्धन्यायिक संस्था कमजोर हुन्छन्, त्यहाँ उनीहरू सरकारका गलत सोचलाई वैधानिकता दिने वा शासकका गल्ती, कमजोरी धोइदिने ‘ड्राई क्लिनर्स’ बनेका अनेकौँ उदाहरण छन् । कोरोनाकालमा कैयौँ शासकले अदालतलाई प्रभावमा पारेर सत्ता सुरक्षित गरे । शक्तिले सदन र न्यायिक संस्था प्रयोग गर्‍यो । तर, दुनियाँका केही न्यायमूर्तिले भने आफ्नै गरिमा उच्चासनमा पुर्‍याए । ब्राजिलको साओ पाउलो प्रान्तीय सरकारले राष्ट्रपति जैर बोल्सोनारोलाई कोरोना मापदण्ड उल्लंघनमा १०८ अमेरिकी डलर जरिवाना गर्‍यो । रिपब्लिकन नियुक्त बहुमत न्यायाधीशले (अमेरिकी सर्वोच्च अदालतका नौमध्ये ६ जना न्यायाधीश रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरेका थिए, तीमध्ये झन् तीन त स्वयं ट्रम्पले) अमेरिकी राष्ट्रपति ट्रम्पको चुनाव उल्ट्याउने प्रयास खारेज गरिदिए । २८ जनवरीमा पाकिस्तानको इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अतहर मुनिल्हाले राजनीतिक बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसला दिँदै सरकारलाई भने– यो पाकिस्तानी अदालत हो, भारत होइन । उनको सो उक्ति विश्वचर्चित बन्यो । परवेज मुसरफ सैनिक तानाशाह बन्दा कैयाैँ गल्ती भए होलान्, तर पाकिस्तानमाथि नै गद्दारी नै गरेनन् होला । उनलाई सरकारी ‘प्रायोजन’मा इस्लामावाद विशेष अदालतमा ६ वर्ष चलेका मुद्दामा फाँसीको सजाय मात्र होइन, विदेशमै मरे पनि लासलाई फाँसी दिने अदालती फैसला भयो । तर, उक्त फैसलालाई गत वर्ष लाहोर हाईकोर्टले असंवैधानिक भन्दै उल्टाइदियो । प्रसंग भारतीय अदालतको : भारतीय सर्वोच्च अदालतका बहालवाला वरिष्ठ न्यायाधीशहरू जे. चेलमेश्वर, रंजन गोगोई, मदन बी. लोकुर र कुरियन जोसेफले १८ जनवरी २०१८ मा अदालतको भयावह चित्रण गर्दै संयुक्त पत्रकार सम्मेलन गरे । गम्भीर मुद्दामा सरकारी तजबिजमा फैसला हुनुमा मुद्दाको बेन्च तोक्न प्रधानन्यायाधीशको नियत र खेल देखिन्छ, भनियो । त्यस्तो संसारकै पहिलो पत्रकार सम्मेलनमा न्यायसम्पादनभित्रका खेल र झेलका रहस्य बहालवाला न्यायाधीशले नै खोले । चर्चित व्यंग्य कलाकार कुणाल काम्राले सरकार समर्थित पत्रकार अर्नव गोस्वामीको मुद्दामा अदालती तुरुन्तातुरुन्तैको फैसलामा प्रतिक्रिया दिँदै भने– अब भारतीय जनता पार्टीको बोर्ड सर्वोच्च अदालतमा टाँगिदिए भयो । उनको ट्विटर स्ट्याटस र व्यंग्यचित्रमा मानहानि मुद्दा चलाइँदा वकिल पनि नराख्ने, जरिवाना पनि नतिर्ने, मुद्दाको बहस सशरीर उपस्थित भएर आफैँ गर्ने भनियो । तर, अझै मागअनुसार मुद्दा चलेको भने छैन । वरिष्ठ वकिल प्रशान्त भूषणको न्यायिक ट्रायलजस्तो सामाजिक ट्रायलमा फेरिने आशंकाले कुणाललाई बन्द खाममा शपथ पत्र (एफिडेविट) पेसको आदेश भयो । न्यायिक अभियन्ता भूषणले पछिल्लो समयका क्रमशः रिटायर्ड चार पूर्वप्रधानन्यायाधीश भ्रष्ट थिए भन्दा उनलाई अदालतको मनहानिमा माफी माग्न भनियो । सो बहुचर्चित मुद्दा न्यायक्षेत्रमा अदालत, न्यायसम्पादन र न्यायाधीशका भूमिकाबारे देश, देशान्तरमा व्यापक चर्चा भयो । उनले माफी अस्वीकार गरेपछि हैरान भएको अदालतले एक रुपैयाँ दण्ड सजाय गर्‍यो । यदि दण्ड नतिरे तीन वर्ष वकालत गर्न नपाइने फैसला भएपछि सो रकम भूषणका मित्रले तिरे । राष्ट्रिय मानवअधिकार आयोगको रिक्त अध्यक्ष पद ६ महिना खाली राखेर त्यसमा प्रधानन्यायाधीश नियुक्त गरिने पहिलेको नियम फेरेर सरकारको अनुकूल फैसला दिने न्यायाधीशलाई सेवानिवृत्त हुनेबित्तिकै नियुक्त गरियो । सरकारअनुकूल हरेक फैसला दिने वा बेन्च तय गर्ने प्रधानन्यायाधीश रिटायर्ड हुनेबित्तिकै राज्यसभामा मनोनीत भए । सर्वोच्च अदालतको नेतृत्व फेरिनेबित्तिकै भने भारतीय अदालतको भूमिका फेरिएको न्याय क्षेत्रमा चर्चा छ । मुद्दा चलेको (२८ डिसेम्बर २००१) २० वर्षपछि १२७ जना सिमी कार्यकर्ता बेकसुर साबित भएर जेलमुक्त भए । पाँचजनाको जेलमै मृत्यु भयो । बाँचेका जेलमुक्तहरूको त जिन्दगी ध्वस्त भयो नै, मृत्यु भएकाले आफूलाई अदालतले निरपराध मानेको पत्तै पाएनन् । अहिले भने राजद्रोह र ‘गाई–गौगुन्डा’ मुद्दामा अदालत संवेदनशील देखिएको छ । अन्यन्त्र गाईले दूध, मासु र छाला दिन्छ तर भारतको ‘गौ–बेल्ट’ (उत्तर प्रदेश, विहार, महाराष्ट्र र गुजरात) र नेपालमा भने राजनीतिको भर्‍याङ बन्छ । जुन देशमा न्यायिक–अर्धन्यायिक संस्था कमजोर हुन्छन्, त्यहाँ उनीहरू सरकारका गलत सोचलाई वैधानिकता दिने सहयोगी वा शासकका गल्ती, कमजोरी धोइदिने ‘ड्राई क्लिनर्स’ बनेका अनेकौँ उदाहरण छन् के भारतीय न्यायालय आफ्नै लयमा फर्कियो ? विमतिका स्वर दबाउन राज्यविरुद्धको अपराधलाई नयाँ तर्क दिएर खारेज गरे पनि भिमा कोरेगाउँ मुद्दाका अनेकौँ प्राध्यापक, मानवअधिकारकर्मी, लेखक, बुद्धिजीवी, साहित्यकार, पत्रकार, दलित सक्रियतावादी वकिल र विद्यार्थीका मुद्दा अझै ज्युकात्युँ छन् । प्रख्यात विद्वान् नोम चोम्स्कीलगायत अनेकौँ नोवेल पुरस्कार विजेता र विश्वप्रसिद्ध विद्वान्को सार्वजनिक अपिल पनि सरकारले मात्रै होइन, अदालतले पनि अझै सुनेकोे छैन । इतिहास फेरिदिने फैसला : १) भारतकै इलाहावाद हाईकोर्टका न्यायाधीश जगमोहन सिन्हाको १४ जुन १९७५ को फैसला न्यायिक इतिहासमा संसारकै अद्भूत निर्णय थियो । राजनारायण भर्सेस प्रधानमन्त्री इन्दिरा गान्धी मुद्दामा रायबरेली चुनावमा गान्धीले सरकारी संयन्त्र प्रयोग गरेर चुनावी आचारसंहिता तोडेको कसुर अदालतले ठह¥यायो । जस्टिस सिन्हालाई अनुकूल फैसला दिन अनेकाैँ प्रलोभन र दबाब दिइएको भन्ने कुरा पूर्वकानुनमन्त्री अर्थात् राजनारायणका वकिल शान्ति भूषणले उल्लेख गरेका छन् । बहालवाला सरकार प्रमुखविरुद्ध अदालतबाट त्यस्तो फैसला अन्यन्त्र भएका छैनन् । पाकिस्तान टुक्य्राएर बंगलादेश बनाउने र सिक्किमलाई भारतीय संघमा गाभ्ने काम गरेर नायिका बनेकी प्रधानमन्त्री गान्धीलाई सडकले चुनौती दिँदा उनका रबर स्ट्याम्प राष्ट्रपति फकरुद्दिन अली अहमदले २५ जुन रातको पौने १२ मा संकटकाल घोषणाको अध्यादेशमा हस्ताक्षर गरे । २१ महिना भारतमा घोषित संकटकाल रह्यो । अहंकारग्रसित शासकहरू आफूमाथि परेको संकटलाई देशैमाथिको संकट भन्ने गर्छन् । २) लाल भयको आतंक : सिनेटर जोसेफ म्याकार्थीको योजनामा लाल आतंकको काल्पनिक भयदोहन गरेर अमेरिकी समाजमा समर्थन लिने सत्ता अभ्यासलाई त्यहाँँको सर्वोच्च अदालतका चौधौँ प्रधानन्यायाधीश अर्ल वारेनले एकपछि अर्को फैसला गर्दै शीतयुद्धको त्यो मूर्खतापूर्ण अभियानलाई अन्त्य गरिदिए । म्याकार्थीको सत्ताआतंक घुसपैठ सिद्धान्तको चपेटामा अल्बर्ट आइन्स्टाइन, जोसफ निधम, बर्टोल्ट ब्रेख्त, एलन गिन्सबर्ग, चार्ली च्याप्लिन, आर्थर मिलर, हावर्ड फास्ट, थोमस मान, ओट्टो क्लेम्पेरेरजस्ता अनेकौँ वैज्ञानिक, कलाकार, लेखक, नाटककार, संगीतकारसमेत प्रताडित भए । कैयौँ सरकारी र कर्पोरेट कर्मचारी सो अभियोग आयोगसामु उभ्याइए र नोकरीबाट निष्कासन गरिए । यातना र जेल सामान्य विषय बन्यो । आक्रमणको प्रमुख निसाना हलिउड, बौद्धिक जगत्, ट्रेड युनियन, विद्यार्थी आन्दोलन, युद्धविरोधी सक्रियतावादी बने । एउटा व्यक्तिको पूर्वाग्रह सत्ता चेत बन्दाको परिणाम म्याकर्थीको धङधङी रहिन्जेल अर्थात् न्यायमूर्ति वारेनको फैसला आउनुपहिले नै सत्तासँग भिन्न मत राख्ने हजारौँ अमेरिकी सत्ताको सिकार बनिसकेका थिए । जसरी हिटलरको नाजीकाल विवेकशील जर्मनीको इतिहासमै लाजमर्दो समय बन्यो, त्यस्तै शीतयुद्धकाल विवेकशील अमेरिकीलाई घरेलु विषयमा म्याकार्थीकाललाई लाजमर्दो अवस्था सोच्ने गर्छन् । अन्त्यमा : हराएको विश्वास फेरि पाउन परिणाममा देखिनुपर्छ । जसका पूर्वकर्मले आशंका जगाउँछ, गरिमा पुनर्स्थापना गर्ने नयाँ भूमिकामा देखिने पनि उसैको परीक्षा हो । इतिहासले व्यक्तिलाई नायक वा खलनायक के बन्छौ ? भूमिकामा नै देखाऊ भनेर उर्दी दिइरहेको हुन्छ । राजाका बाजा बजेपछि अहंकारका धरहरा ढल्छन् । हरेक सन्धि, सम्झौता र सेटिङलाई कमजोर शक्ति तंग्रिने मौका ठानिन्छ । नत्र, अस्त्रमा खिया लागेपछि मान्छे पछुतोको ऐना हेर्न थाल्छ । विश्वासको धरहरा ठडिन लामो अभ्यासको आवश्यकता हुन्छ । जुन मान्छेको दिल र दिमागमा तुस रहेर बदलाभाव जमेको हुन्छ, उसका कोखामा पनि दाह्रा हुन्छन् । उसले अन्त्यसम्म त्यसलाई धारिलो पारिरहन्छ । हिमाल चढ्न जति मुस्किल परे पनि गुल्टन भने बेर लाग्दैन । नक्कली आफन्तहरू कोटरीबाट सबभन्दा पहिला भाग्छन् । उछित्तो खन्न भने सबभन्दा अगाडि तिनै हुन्छन् । आफैँले बनाएको खाडलमा आफैँ फसिन्छ । चिलीका राष्ट्रपति सल्भाडोर एलेन्डेले नियुक्त गरेका प्रधानसेनापति जनरल अगस्तो पेनेचेले सैन्य कु गरेर उनकै हत्या गरे । जुल्फिकर अली भुट्टोले जियाउल हकलाई प्रधानसेनापति बनाए, हकले नै सत्ता मात्र पल्टाएनन्, भुट्टोलाई फाँसीसमेत दिए । नेपालमा पनि यदि संवैधानिक आयोगका निर्णय र उसले गरेका नियुक्तिलाई अदालतले उल्ट्यायो भने यस अवधिमा सरकार, आयोग र अर्धन्यायिक निकायले गरेका दीर्घकालीन असर पार्ने निर्णयको भविष्य के होला ?

Saturday, June 12, 2021

दिदीको घरमा भाइ पुग्दा...

विमलले मलाई दिदीको घरमा पुर्‍याइदिए । मलाई दिदीको गाँउ नौलो लाग्यो घर चिन्नै गाह्रो भो । आँगनपुग्ने बाटोभरी दुवो उम्रिएको । मूलबाटोको छेवैमा रहेको घाँसेबाटोले त्यहाँ थोरैमान्छे मात्र जान्छन भन्ने जनाउ दिईरहेको थियो । म धेरै वर्ष पछि त्यो घरमा पुगेको । त्यो विरानो बाटाले नै घर र घरमुलीका कथाव्यथा कहिरेका थिए । मनले सोचेको भएको कुरो , आज तिहार लिएर दिदीको पाहुना बन्दैछु । बुढीदिदीको प्रथम पुस्ताको म माइती । हुक्सेली दुलालका हामी चार सन्तान सानी दिदीले धर्र्ती छोडेको एक दशक पुग्न लागेको भाइ अमेरिका नेपालमा हामी दिदीभाइ । आँगन नपुग्दै गम्न थालेँ । घर अगाडि बडेमाका आँपका रुख हुन्थे । जामुन, अम्वा लटरम्म, भुईकटहर मगमग वास्ना, लोर्खकेको चिरिबिरी, गोठमा गाईभैँसी । खोरभरी बाख्रा, आँगनमा पाठापाठीको छुनुमुनु । भाञ्जाभाञ्जीको खिलखिलाहट । आँगना डिलमा झुल्ने जाई, मखमली र सयपत्रीका फूल । आँखाले सबै खोज्छ, केही भेटिन्न । यताउता नियाल्छु...निरास हुँदै आँगनतिर सुस्ताउदै खुट्टा बढछन्् । शिर कुल्चेर जन्मेकी हुक्सेलीकी छोरी कहाँ होलिन् ! कस्ती भईन होला ! एकाएक आँगनमा टुप्लुक जेठोलाई देखेपछि के सोच्दि हुँन ! के प्रतिकृया दिन्दी हुन् ! एकनास सोचिरहेको छ, झसँग बिँउतिन्छु । घरभित्र खासखुस सुन्छु । के वात मार्दै होलान ? यो बृद्दजोडीको दिन कसरी कट्छ होला ? अझ चाँडपर्व यो घरमा कसरी भित्रिदो हो ? के सपना देख्दा हुँन ? कसरी रुँदा हुँन्, कसरी हाँस्दा हुँन ! सोच्दैछु । एक्कसी दिदी भनेपछि त.......। दिदीभाइ मिलन विमल चलाख र व्यवहारिक छ । मैले थाहै नदिए पनि उस्ले खुसुक्क भन्या हुँनुपर्छ । छक्क पार्न खोज्या थिँए । म पुगेपछि दिदीको घरमा तिहार पुग्यो अरे । जेठो आँउने विश्वास थिएन, म बाँउठ्या मान्छे अरे । दिदी बलिन्द्रधारा भईन् । यमराज र जमूना सम्झिइन अरे । घर सुनसान, धुमधुम्ती बुढाबुढी मात्र । छोराका कुरागर्दै खुशी बेचेर सुख किन्न अम्रिका गा छ भने । दिदी हे, निष्ठुरी...तँ यो घरमा ५६ वर्षपछि तिहारमा पाइलो टेकिस् । सान्दिदी बितिहाली, म कति दिनकी हुँ र ! बाउआमा बितेपछि त पहिलो माइती तैँ होस् क्यार । यमराजले मलाई कहिले लानी हुँन् ! भिनाजुको ८४ पुजाको धोको पुगेको छैन् । उनको एकमात्र छोरा (मेरो भाञ्जा ) बिगार्ने (अधर्मी, बिधर्मी र राजनीतिकचेतको नसा पियाउने ) मै हुँ भन्ने ठहर उनीहरूमा अझै छ । लामो कथाब्यथा सुनाए । भिनाजुले सोधे— बाबु.... एकदिन राजने आउँछ नि है ! मैले उस्को, उस्ले मेरो अनुहार देख्न त पाउला नि हैन् ! भनिदेउन... बाबु, कुन पापीले मेरो टेक्ने लौरो चोर्‍यो ! कुन अपराधीले मेरो खुशी लुट्यो ! छोरो पक्कै आउँने छ उस्को मतिफेर्न पलाञ्चोक भगवतीको भाकल गरेका छौँ । भनन बाबु .....तेरो त भाञ्जासँग सधैँ कुरा हुन्छ । सञ्चै त छ !’ मसँग कुनै जवाफ थिएन । मौन, मौन र सन्नाटा... उफ ! उहाँहरु कुरा भन्दापनि अनुहारका भावहरु टटोलदै थिँए । अनुहारमा मेघ आँउछन, जान्छन् । कहिले साउने भेलको झिँगु र डाँफे बनेर सुस्कुराँउछन र फेरी एक्कासी हिँउदे खहरे बन्छन् । मान्छेको आत्मावल आशा र विश्वास हो । विश्वासका आधार त आ-आफ्ना हुन्छन नै । दिदीले तिहारमा भाइ आँउछ भन्ने ढुक्क भएर मसला ल्याउनु भा रेछ । सेल पकाएर मखमली माला उनेर राख्नु भा रहेछ । बाबु साइतमै टिका लाउनुपर्छ । सवै तयार भयो । धेरैदिनपछि आज त तेल लाउनुपर्छ । जिउमा लाउन पर्दैन भनी तालुमा तेल ठोकिदिइन्, कानमा तेल हालिदिईन्, ढाका टोपी लगाइदिईन् । तेलको घेरोहालेर यमराजबाट जोगाइन् । जेजे थाहा थियो, त्योसवै कर्म गरिन् । जानेजति आशिष दिइन् । आशिषलाग्नेमा उनी ढुक्क थिइन् । भाइको सोच र विश्वाससँग कुनै अर्थ र महत्व त्यहाँ थिएन । भावामय क्षणमा उनको भातृ प्रेममा दख्खल दिन चाहिँन । हुँदैन थियो । भावना एउटा शक्ति हो । दिदी आज भाइटिका मनाउन पाँउदा मख्ख थिईन, उनको मख्खताले मपनि खुशी थिँए । गफ सुरु भए । पूर्खाका कुरा मलाईभन्दा दिदीलाइ धेरै थाहा थियो । स्वभाव वासँग ठ्याक्कै मिल्ने । म यि दुवैका स्वाभिमान रअहंकार कहिलेकहीँ छुटयाउनै सक्दिन । गरिवीमा हुर्केको जिन्दगी र अपमानित त्यही समाजलाई धेरैकुरा उनलाई देखाँउनु छ । झरिझट्ट गहाना सँधै लगाइरहन्छिन् । कुनबेला डाँका र गुण्डाले लुट्ने हुँन चिन्तत हुन्छु । आममान्छेजस्तै उनमा पनि जमिन र पैसाप्रति अति लोभ छ । हुँनपनि बृद्दकालको इन्सुरेन्स यो हो नै । सरकारमा भरपर्ने ठाँउ पनि छैन । परदेशी छोरोको भर छैन । भिनाजुको ८४को चिन्ता छ । ८४ धार्मिक चाहानाभन्दा हेपिएको समाजलाई तुजुग देखाउनु र पाटामा भोजगर्नु मूख्य चाहाना हो । समाज पढन श्रुति साहित्य र इतिहास दरविलो सन्दर्भ सामाग्री हो । दुलालवंश र लुईटेलवंशका कुरा चले । भमरकोट, बौवा, हुक्से र फेरी दुलालथोकको हुक्सेली दुलालका कथा सुनाईन् । त्यसमा उनका र मेरा बा, आमा कथाब्यथा इतिहासमात्रै थिएनन् ती हाम्रा समयका इतिहास पनि थिए। हुक्सेलीजेठाले कतीघाटका पानी खाए ? कति अपमानका हन्डर खाए ? कति चुलाका खाना खाए ? बाले सुनाउनु भएका कुरा सर्लक्क राखिन् । लुँइटेलकथा भिनाजुलेभन्दापनि दुलालपुत्रीले नै धेरै थाहा रहेछ, भनिन् । समय घर्केको पत्तै पाइएन । विमल लिन आइपुगे । ढोगीँ, फर्कीँ । मोटरसाईकल ओझेल नपर्दासम्म दुईजोडी निरास आँखाले हामीलाई नियाली रहेका थिए ।

किन वैधानिकताका पर्खाल तोडिन्छन् ?

‘हेर, नेपालीबाबु ! कलेज पढेर शिक्षाको डिग्री पाउन सकिन्छ, तर बुद्धि तिखार्न जुलुसमै जानुपर्छ। सबै कुराको मूलमन्त्र राजनीति हो। आज गान्धी मैदानको जुलुस हेर्न जाऊ, आमसभा सुन। नारा सुन। मान्छेलाई हेर। ओठमाथि रौँ उम्रिएर कोही पनि युवा हुँदैन, जीवन र जगत् बुझ्न जिज्ञासा र आलोचनात्मक चेत हुनुपर्छ,’ ४७ वर्षपहिला कदमकुवा, पटनाको क्वार्टरमा प्रोफेसर हिलारियन पिटर दासले भनेको कुरा अहिले झलझली सम्झन्छु। बहादुर र कान्छाको हन्डर र ठक्कर खाँदै उनको शरणस्थलीमा पुगेको थिएँ। झारखण्डका आदिवासी ख्रिस्तान कुलका ती प्रोफेसर राजनीतिमा सक्रिय र संगठित कम्युनिस्ट रहेछन्। खुला जेल पञ्चायतीकालमा वैधानिकताका पर्खाल भत्काएर सीमा काट्नु रहर थिएन। ‘लाहुरे’ ठिटोलाई गान्धी मैदानको त्यो जनसागर हेर्दा भने आफू कुन संसारमा छु भन्ने लाग्यो। भारतको सबभन्दा ठूलो सार्वजनिक मैदानमा गुञ्जिएका ‘जेपी बाबु हमारा है, सम्पूर्ण क्रान्ति नारा है’ ‘हम लोग हैं ऐसे दिवाने, दुनियाँ को बदल कर मानेंगे’ भन्ने नाराले टाउकोमा एकाएक करेन्ट लाग्यो। साँझ पिटरसाबले के देख्यौ ? सोधे। खररर मस्तिकलाई सर्लक्कै निकालेर सामने राखिदिए। सम्पूर्ण क्रान्तिका नाराले बिहार, गुजरात घन्किरहेको थियो। बंगालमा नक्सल विद्रोेहका ज्वाला दन्किरहेका थिए। वैधानिकताका पर्खाल नागरिक तोड्दै थिए। कोर्सबाहिरका पुस्तकको लत लागिसक्या थियो। फुर्सद हुनेबित्तिकै अनेकौँ जिज्ञासा लिएर प्रो. दास नजिक पुग्थेँ। अभाव, तनाव र अपमानमा पाएको प्रेम र नेपालीबाबुको सम्मानले अनौठो ऊर्जा बढाएको थियो। दिल र दिमागमा मडारिएका कुरा सोध्न कुनै हिचकिचाहट थिएन। जान्ने र बुझ्ने अनौठो भोकले पुराना विश्वास टुट्दै गए। मान्छेलाई नयाँमान्छेमा फेर्ने सपना र जिज्ञासा नै रहेछन्। एकाएक प्रो. दास पनि २६ जुनमै अलप भए। सिरानीमा एउटा पत्र र तीन सय १५ रूपैयाँ छाडेका रहेछन्। पत्रमा- ‘नेपालीबाबु, अब भेट हुन मुस्किल पर्ला, थप कुरा हेनरीले (हेनरी सेराफिम) बताउने छन्, क्वार्टर तुरुन्तै छाड्नु।’ बुझ्न सकिनँ। एक साँझ प्रोफेसरले भने, समय तिम्रो हो, तिमीहरू युवाकै हो। देशका सीमाले मानव जातिलाई टाढा बनाउँदैन भन्दै फ्रान्समा चलिरहेको विद्यार्थी आन्दोलन, भियतनामको मुक्ति संघर्ष, भारतको नक्सल विद्रोह र जेपी मोभमेन्टको चर्चा गर्दैगर्दा म भने आफ्नै सपनीको तस्बिर खिच्दै थिएँ। ‘विनाज्ञानको मान्छे अपुरो हुन्छ, ज्ञानप्राप्तिको भोकले नै जिज्ञासा बढाउँछ र थप रहस्य खोज्न हौस्याउँछ। त्यसैले अन्यायविरुद्ध लड्नका लागि अन्यायका चरित्र, त्यसका अन्तर्विरोध र लडाइँका रणनीति बुझ्न जरुरी हुन्छ। माक्र्सवाद दुनियाँलाई बुझ्ने विज्ञान हो। आफैँलाई र संसार बुझ्ने र फेर्ने हतियार’ प्रो. दासले त्यो भनिरहँदा म पनि विषयलाई अधकल्चो बुझ्ने भइसकेको थिएँ। जिज्ञासा बढ्दै जाँदा हरेक घटना किन र कसरी भए, त्यस पछाडिका कारण के हुन्छन् भन्ने खोज्न थालिसकेको थिएँ। मेरै समस्या र उपचार पनि त्यही भेटाउँदै गइयो। ५ जुन १९७४ गान्धी मैदानको सम्पूर्ण क्रान्ति जुलुसको हथौडाले मेरो दिमागमा अनौठो चोटिलो प्रहार गर्‍यो। क्रान्ति र सम्पूर्ण क्रान्तिको अर्थ र परिभाषा प्रो. दाससँग सोधेँ। प्रो. दास : क्रान्ति भनेको हरेक पुराना राज्य व्यवस्थालाई रूपमा मात्रै होइन गुणमै फेर्ने कर्म हो। क्रान्तिमा पुग्ने वा व्यवस्थामा सुधार वा असन्तोषका रूप आन्दोलन हुन्छन्। राजनीतिक र सामाजिक विद्रोह नियाल्न तिमीले नक्सल विद्रोह बुझ्नुपर्छ। कथा मात्रै होइन, तिमीले दर्शन र विज्ञानका विभिन्न शाखा अध्ययन गर्नुपर्छ। मानव सभ्यताको विकासमा संघर्षको भूमिका र वैधानिकताका पर्खाल कसरी ढलाइए भनेर इतिहासलाई इतिहासको अध्यता बनेर पढ। जयप्रकाश नारायणको (जेपी) सम्पूर्ण क्रान्तिको अर्थ गान्धीवादी तरिकाले सात विषयमा केन्द्रित छन्। अर्थात् सात विषय सामेल छन्– राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षणिक र आध्यात्मिक क्रान्ति। नक्सल विद्रोह र जेपी मोभमेन्ट दुवैले भारतीय समाजको गतिलाई नयाँ दिशामा मोडिदिँदै छ। क्रान्तिका हावा कुनै देशका सिमानामा मात्रै सीमित हुँदैनन्। हेर, नेपाली बाबु ! क्रान्ति आयात, निर्यातको वस्तु पनि होइन, उसका आफ्नै खुट्टा हुन्छन्। तिम्रो देशमा पनि यसका (नक्सल विद्रोह र जेपीको सम्पूर्ण क्रान्ति) लप्का पुग्नेछन्।’ ‘सर ! तपाईंको समर्थन नक्सल विद्रोह र जेपीको सम्पूर्ण क्रान्ति कसलाई छ त !’ – समयमा सबै थाहा पाउनेछौ। समयका पांग्रा छिटोछिटो घुमे। सद्गुरु प्रो. दास सडक र भित्ताका स्वर शब्दलाई सँुघ्न सक्थे। जीवन र जगत् राम्रै बुझेकाले युवामा भविष्य देख्थे। क्वार्टर आउने धेरैजसो नवयुवा हुन्थे। तिनीहरूले मलाई कहिल्यै बहादुर र कान्छा भनेनन्। कतिपय छलफलमा सामेल समेत गराउँथे। वैधानिकताका पर्खाल जब तोडिन्छन् जसरी हरेक क्रान्ति, विद्रोह, परिवर्तन र आन्दोलनले कानुनका घेरा तोडेजस्तै जेपीको सम्पूर्ण क्रान्तिले पनि वैधानिकता तोडेकै थियो। हरेक शासक तानाशाहमा फेरिन पनि कानुनमार्फत नै आफ्ना योजना पूरा गर्छन्। तर, इलाहावाद हाईकोर्टका न्यायाधीश जगमोहन सिन्हाको १४ जुन, १९७५ को फैसला अपवाद भयो। प्रधानमन्त्री इन्दिरा गान्धीले रायवरेली चुनावमा नियम तोडेको कसुर अदालतले ठह¥यायो। जस्टिस सिन्हाले अदालत सबैको समान व्यवहार गर्छ, जर्जबाहेक कसैको आगमनमा सम्मान दिन उठ्नुपर्दैन भन्ने आदेश दिए। प्रधानमन्त्री इन्दिरा गान्धी बयान दिन अदालत प्रवेश गर्दा कोही पनि उठेनन्। फैसला सुकेका पत्करमा सल्केको आगोझैँ फैलियो। जस्टिस सिन्हालाई प्रभावित पार्ने अनेकौँ प्रयास भएका रहेछन्। संसारमै बहालवाला प्रधानमन्त्रीलाई अदालतबाट त्यस्तो फैसला भएका थिएनन्। अहंकारग्रसित शासकहरू आफूमाथि परेको संकटलाई देशैमाथिको संकट भन्ने गर्छन्। २५ जुनमा दिल्लीमा जेपीको ठूलो विरोधसभा भयो। पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउने र सिक्किमलाई भारतीय संघमा गाभेर नायिका बनेकी मैमत्त प्रधानमन्त्री इन्दिरा गान्धीलाई सडकले चुनौती दिइरहेको थियो। त्यसै राति प्रधामन्त्री गान्धीको रबरस्टाम्प राष्ट्रपति फकरुद्दिन अली अहमदले रातको पौने १२ मा आपतकाल घोषणाको अध्यादेशमा हस्ताक्षर गरे। २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म २१ महिना आपतकाल रह्यो। एकाएक प्रो. दास पनि २६ जुनमै अलप भए। सिरानीमा एउटा पत्र र तीन सय १५ रूपैयाँ छाडेका रहेछन्। पत्रमा- ‘नेपालीबाबु, अब भेट हुन मुस्किल पर्ला, थप कुरा हेनरीले (हेनरी सेराफिम) बताउने छन्, क्वार्टर तुरुन्तै छाड्नु।’ बुझ्न सकिनँ। तत्काल सेराफिम साहबको क्वार्टरमा गएँ। उनी धार्मिक, आदिवासी कहलिएका ख्रिस्तान थिए। इलाहावादको खबरले चौतर्फी कुतूहलता र भयको अवस्था थियो। प्रो. दासको पत्र देखाएँ। हेनरी- नेपाली बाबु, प्रोफेसरले जे भने त्यही गर। उनी नक्सल हुन्। गिरफ्तार पर्नु पहिल्यै भूमिगत भए।’ दिउँसै प्रोफेसरको बन्द क्वार्टरमा एक हुल सिपाही आए, खालि हात फर्के। २६ जुनको रात कदम कुवामै हेनरी सरको क्वार्टरमा बसेँ। उनले ५० रूपैयाँ दिए। नाटकीय तरिकाले अल्पिएका अभिभावक सदगुरु प्रो. दासलाई सम्झँदै एउटा आप्रवासी ठिटो अनौठो तरिकाले सिनेमाझैँ फेरिँदै गएका घटनाक्रम नियाल्दै थियो। प्रो. दास भन्थे : ‘सडकका चिच्याहट र भित्ताका आवाज सुन्न सक्ने भएपछि तिमी नौलो मान्छेमा फेरिन्छौ, तब भीडबाट जोगिएर एक्लै पनि हिँड्ने आँट आउन सक्छ। समाजको अगाडि बढेको चेतनाका नाडी छाम्न कर्ममा उत्रिन सक्छौ। वैधानिकताका पर्खाल भत्काउन शक्ति पाउने छौ।’ त्यो भनाइले हिम्मत बढायो। संसारमा कोही पनि एक्लो हुँदैन, बाँच्ने कला भने सिक्नैपर्छ। भोलिपल्ट नै महेन्दु्रघाटबाट पहेलाजाघाटको स्टिम्भर पक्रेँ। फर्कें, उत्तर आफ्नैै देशतिर। तब मसाग पाँच सय ६७ रूपैयाँ थियो। वीरगन्ज पुग्दा दुई रूपैयाँ रहेको ठिटोसँग त्यत्रो पैसा हुनु ठूलै कुरा थियो। हाजिपुरको रेल–वे पर्खालमा देखियो, नक्सलवाद– लालसलाम। तब फेरिए, जिन्दगीका कथा। एउटा पत्र सद्गुरुका नाममा सद्गुरु, प्रो. दास नेपाली धर्तीबाट लालसलाम तपाईंको चिठी हेरेँ, पैसा पाएँ। निर्देशन अनुसार सेराफिम सरको क्वार्टर गएँ। तपाईंजस्तै उहाँ पनि संस्कारित मान्छे हुनुहुदो रहेछ। तपाईं कम्युनिस्ट, त्यसमा पनि अधर्मी नक्सल हुनुभएकाले एक विश्वासी नजरमा केही गुनासा रहेछन्। तपाईंको मानवकेन्द्रित सोच र प्राज्ञिक जीवनको भने प्रशंसक हुनुहुदो रहेछ। अलप नभएको भए अरू राजनीतिज्ञ, फरक सोचका विद्वान्झैँ तपाईं पनि गिरफ्तार पर्नु हुने थियो अरे। नभन्दै बिहान ९ बजेतिर एक हुल सिपाही आएको हामीले देख्यौँ। लामो समयसम्म यहाँबाट पाएको प्रेमिल संरक्षण कहिल्यै भुल्ने छैन, सर। यहाँको मूल शिक्षा : सम्मानित जीवन जिउन जीवन आदर्शसँग कहिल्यै सम्झौता होइन आवश्यकतामा संघर्ष पनि गर्नुपर्छ। हरेक सोच र भूमिकाको केन्द्रमा मान्छे राख्नुपर्छ। जिज्ञासाले ज्ञानका ढोका खोल्छन्। नित्य नयाँ बन्न हरदम विद्यार्थी बनिरहने कोसिस गर’ भन्ने कुरा। हो सर, अहिले पनि आत्मसात गर्दै छु। त्यसैलाई मार्गदिशा बनाएको छु। माफ गर्नुस्, सर ! तपाईंलाई सधैँ मन र मस्तिकमा राख्न, आपतविपत, अभाव तनावमा ऊर्जा पाउन हजुरको नाम उपनाममा जोडेँ। सोच्दछ दिमागले दुःख पाउँछ शरीरले। तर हरेक दुःखकष्टलाई हजुरले दिएका शिक्षादिक्षालाई आफैँलाई अर्जाप्ने औजारको रूपमा बुझेको छु। सरका भनाइ सम्झन्छु- समाज अगाडि बढाउन वैधानिकताका पर्खाल भत्काउनैपर्ने हुन्छन्। तब डराउने मान्छेको डर, डरदेखि हराएर वर्चस्वशाली तप्काको डर सुरु हुन्छ। डरले सत्तालाई आक्रामक बनाउँछ। बहसलाई अन्यन्त्र मोड्न अर्को विषय उराल्छ। डरपोकले कसैलाई विश्वास गर्दैन, षड्यन्त्रमा भर पर्छ। संघर्षका चरित्र फेरिएपछि नायक र खलनायकका परिभाषा पनि फेरिन्छन्। सत्ताको भूमिका र संघर्षका रूपसँगै राग दरबारीका साहित्य, कला, पत्रकारिताका भाषा पनि फेरिन्छन्। सत्ता र शक्ति तीव्र निन्दा र आक्रमणले मात्र सुरक्षित ठान्छ।’ ओहो सर, ४७ वर्ष पो बितेछन्। तर मेरो दिमागको हाडड्राइभमा भने एकएक कुरा प्रोगाम्ड छन्। ‘ज्ञान र सूचनाको क्षेत्रफल कमजोर भएपछि विचारले ऊर्जा पाउँदैन, सत्यबोध कमजोर हुन्छ। विषयलाई कुन नजर र कुन उचाइबाट हेर्ने कुराले सत्यबोध गराउँछ। सत्ता यथास्थिति बचाउन चाहन्छ भने समाज परिवर्तन चाहन्छ, तब द्वन्द्व सुरु हुन्छन्। सत्ताका पहरेदार कालाकोटे (न्यायालय) र खैराकोटे (सेना) जर्नेल हुन्छन्। जब आत्तिएको शासक मात्तिन थाल्छ र ऐनकानुन संविधान औँलामा नचाउन थाल्छ। इलाहावाद हाईकोर्ट र जस्टिस सिन्हा अपवाद भए। सत्ताले अदालतलाई इसारामा चलाउँछ। हो, त्यसै वेला वैधानिकताका पर्खाल तोडिन्छन्, भत्कन्छन्। अवस्था अस्तव्यस्त हुन्छ। नागरिक प्रतिरोधमा उत्रिन्छन्। डर पनि डराएर भाग्न थालेपछि कानुनका ठेली पल्टाएर बहस हुन छाड्दै सडक चिच्याउन थाल्छ। त्यो अवस्था इतिहासले कोल्टे फेर्ने समय हो। भ्रम, भय र पाखण्ड तानाशाही शासकका हतियार हुन भने भक्तहरू अज्ञानी मात्रै हुँदैनन् मूर्ख पनि हुन्छन्। गलत बाटोबाट गन्तव्यमा पुग्न सकिँदैन। विश्लेषण सही भए पनि संश्लेषण ठीक भएन भने सही प्रेस्क्रिप्सन बेगरको ट्रिटमेन्टजस्तै हुन्छ। इतिहासको विशेषता भनेकै सबै कुरा सम्झनामै रहनु। हो, सर ! तपाईंका भनाइमा जोडदार जीवनदर्शन थिए। अहिले हामी नेपालमा त्यही अवस्थामा गुज्रिरहेका छौँ। सरजी ! पटना छाडेपछि म रक्सौल पुगेँ। जिन्दगीका नयाँ कथाव्यथा सुरु भए। तपाईंका भनाइ उपदेशका रूपमा लिएको छु। ४७ वर्ष पहिले नै नेपालको अवस्था कसरी बुझ्नुभयो ? कालखण्ड, पात्र र भूमि फरक भए पनि सत्ता चरित्र, प्रवृत्ति संसार एकै हुँदा रहेछन्। यहाँको नेपालीबाबु