Tuesday, November 24, 2020

इतिहासले शिक्षामात्रै दिँदैन्, शिक्षा नलिनेलाई दण्डित पनि गर्छ

(फर्केर हेर्छु,गम्छु र फेरी आफ्नै पुरानालिखतको कथा कहँदैछु । यो लेखको उमेर १३ वर्ष भएछ । यस्ले धेरैलाई पोल्यो, चिथोर्यो। त्यस्का पीडा लेखकले भोग्नै पर्थ्यो, भोग्यो पनि । जनआस्था साप्ताहिकको लागी लेख्नेवेला माओवादी पार्टीमा नै थिँए । घर सांग्लालाई बन सांग्लाले खाईनसकेको, त्यो समय । शब्दमा शक्ति, आर्दशको अपेक्षा, र जनयुद्द ध्वस्त गर्ने अभियान साथसाथ चल्दैथिए । यदुवंशी त घरमै शक्तिले मैमत्त थिए । बढ्दो महत्वकांक्षाको व्यवस्थापन हुँन सक्या थिएन् । नेतृत्वलाई पनि कार्यकर्ताको आर्दश जोगिए आफ्ना फेरिएको वर्गसम्बन्ध, परिवारवाद र भ्रष्टताले जवाफदेही खोज्थ्यो भन्ने त्रास थियो । बोल्दै गरेका, भनिएका कहिएका, कुर्लिएका कुराले जवाफदेहिता माग्थ्यो । अर्कातर्फ खुला परिवेशमा पनि केही कार्यकर्ता र शुभचिन्तकमा भने आलोचनात्मक चेत र आशंका जन्माउदै पनि थियो । त्यसैवखत नेपालगंजको एउटा भेटमा भारतीय सुप्रिमकोर्टका वरिष्ठ वकिल एवं मानवअधिकारकर्मी कोलिन गोञ्जालेसले ०६३ सालमै भनेको कुरा स्मरणमा आँउछ । नेपाली परिर्वतनकारीहरुले यति रगत बगाइसकेकी त्यही रगतले लेखिएको ५-१० पानामा नै संविधान बन्न सक्छ ।समय घर्कंदैजाँदा पराजितशक्ति संगठित बनेर छद्मयुद्ध लड्न सक्छ, संकटले बनेका मित्रशक्ति टाढिन सक्छन । अहिले गोञ्जालेजका शब्द सम्झिरहेको छु । नरेन्द्रजंग पिटर जनमुक्ति सेना ब्यारेकमै थियो । प्रमाणिकिरण चल्दै थिए, भाडाका सेनाजस्तै उनलाई पैसा दिइदैथियो, सहादतको मूल्य र गरिमा १० लाख तोकिँदै थिए । ग्रन्थी रसाँउदै जानेक्रममा स्तरअनुसारका नेतृत्व औकातका पर्दा खुल्दै थिए । जनयुद्दको ट्रेन्च छिचोले पनि मनोयुद्धको एम्बुस छल्न मुस्किल पर्दै थियो । समाजमा पलाएका महान आशा र सपना निराशातिर धकेलिँदै थिए । त्यस्को वेगले तिब्रता पक्रिंदै थियो । सीमा र समस्या रहित स्वयम् पनि थिँईन । हाम्रा स्तरका समस्याले खासै अर्थ राख्दैनथ्यो । त्यसैबेला कतै लेखेँ– धरहरा ढलिरहेको पनि देखिरहेको छु, उठाउन सक्ने सामर्थ्य पनि छैन् अर्को खडा गर्ने औकात पनि छैन् ।’ बुलेटले ढाल्न नसकेका नायकहरु पनि फेरिएका सम्बन्ध, जोडिएका नातापाता र उपभोक्तावाद सामु लम्पसार परेर कर्कलाको डाँठ झै गल्दै थिए । गीत आर्दशका गाँउथे, शब्द पुरानै थिए इतिहासका कुरा गर्थे, कौरवशाली बन्दैगए पनि गौरवशाली भन्थे, थिए ।मिठो मसिनो खाएपछि, शरीर थलथुले भएपछि दिमाग मोटो भएर दृष्टिले दृष्टिकोण ठम्याउन चुक्दै गयो । मन्जुश्रीको सहरमा ठूला बहादुर आए, गए, पचे, पचाईदियो । यहीँ धेरैका हाडखोर गले ।अझ सिंहदरवारको म्याराथुनले त सवैलाई निर्वश्त्र पारिदिँदै गयो । सिंहदरवार तिघ्रा ठटाउँदै खित्खिताउँछ । म पनि १ वर्ष त्यहीं बसेर सिंहदरवारले खित्खिताउँदै इस्…. देखाइदिएको छु, भन्या देख्या-सुन्या छु । इतिहास मुर्दाको कथा र चिहानघारीको यात्रा हुँदो रहेनछ ।अहिले इतिहासले– हे, मनुवा…तैंले मलाई फेरी पढ्’ भन्दैछ । रणछोडदासका कुरा गरेर यहाँ समय बरवाद नगरौँ । इमान्दार मान्छे मात्रै नैतिक लडाई लडन र सामाजिक अपिल गर्न सक्दो रहेछ । इतिहासमा गद्दारका नाम लेखिए पनि दासहरूको भने कतै लेखिंदैन । शासक र गद्दारको पहेँलो अक्षर, विद्रोहीको रातो अक्षरले । मैक्सिमिलियन रोब्सपियेर (मई ६,१७५८– जुलाई २८,१७९४) फ्रेन्चक्रान्तिका प्रमुख नायक गिलेटिनमा सेरिए पनि फ्रेन्चक्रान्तिले दिएको वैश्विकशिक्षा भने आधुनिक मानव चिन्तन, राजनीतिक अभ्यास र संस्कृतिको महान सन्देश नै बन्यो र हो । अहिलेको नेपालका पार्टीद्धन्द अवस्थालाई कटाक्ष गर्दै टंक कार्की भन्छन– फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो, प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिंदै थियो, राजा रानी गिलोटिनमा काटी सकिएका थिए, प्रतिक्रान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे, त्यसमा निर्दोषहरु पनि पर्न थाले, अराजकता र आतंकको बिगबिगी मचियो, यो सब काम क्रान्तिका नायक रोबोसपियरेको नेतृत्वमा भई रहेको थियो, क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए, यी दुवै एक अर्काका प्रतिद्वन्दी, रोबोसपियरेले ड्याण्टनलाई पक्रेर मुद्धा चलाए, पुर्पक्षको दौरानमा ड्याण्टनले ललकार्दै प्रतिवाद गरेका थिए – शनि(रोमन पौराणिक कथाका पात्र)ले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ र ? उनलाई फाँसीमा चडाउने उर्दी भयो, बलिवेदीमा लाँदै गर्दा उनी रोबोसपियरेको घरको बगलबाट गुज्रदै थिए, घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, रोबोसपियरे –तिम्रो गति पनि चाडै हाम्रै जस्तो हुनेछ र तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिनेछ, अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ र बलिवेदीमा लग्दै गर्दा ड्याण्टनले जल्लाद चार्ल्स हेनरी सान्सलाई यो पनि भन्न भ्याए–मेरो टाउको जनतालाई देखाउन भने नभुल्नु नि ! यो हेर्नलाई राम्रो छ’ । ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो, पहिले गिरोण्डिनहरुको सफाय गरियो, दोश्रो शिकार ड्याण्टनहरु भए, अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो, यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो, अनि उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समयसम्म ।’ अहिले फेरी हार्वड फास्टको स्पार्टाकस र तिन क्रान्तिका द्रष्टा थामस पेन पढीँ । उनको अमेरिका र विश्व हल्लाउने कमन सेन्स १७७६ फेब्रुवरी १४ को पर्चा पनि । त्यो पर्चा अमेरिकी स्वतन्त्रता संग्रामको आत्मा बन्यो । त्यसका लेखक ३ वटा देशका (अमेरिका, फ्रान्स र बेलायत) क्रान्ति प्रवक्ता हुँन ।जुन ८, १८०९मा मरेका पेनले स्वतन्त्र अमेरिकामा भने सार्वजनिक थलोमा चिहान समेत पाएनन् । जन्यू रोसेलको एउटा फार्मको चिहानबाट १० वर्षपछि पनि लास प्रदर्शन गर्न प्रतिक्रान्तिकारी विलियम कावेट नामक क्वेकरले इङलैण्ड लग्यो । प्रर्दशन गर्न भने वेलायतमा दिइएन् । क्रान्ति गर्न जति सजिलो त्यसको ब्यबस्थापन गर्न औधी गाह्रो । फ्रेन्च क्रान्तिका नायक रेब्सपियरको ब्यबस्थापकीय कलाहीनताले गलेटिनमा सेरिनु पर्यो भने कहिलेकाहीं क्रान्तिले माकुराका बच्चाले आमा खाएझै आफ्नै मातालाई आहारा बनाँउदो रहेछ । प्रतिक्रान्तिकारीहरु फेरिंदैनन् समय कुरेका मात्रै हुन्छन । उनीहरुमा घृणा अझ चर्को हुन्छ ।चिहानमा रहेका थामस पेनको लासले समेत सुख पाएन । क्रान्तिको सुखभोग त सामान्यजन गर्ने तर क्रान्ति नायकको अवस्था भने उफ्…. ! नायक ध्वस्त हुँन सक्छन् अपमानित हुँनसक्छन, फेरिएर खलनायक पनि बन्न सक्छन तर महानक्रान्तिका सन्देश भने इतिहासका सुन्दर हस्ताक्षर हुँदै पुस्तान्तरण हुँदैजान्छ । राजनीतिको कुशल ब्यबस्थापन गर्न नसक्ने हे राब्सपियरे तिमी गिलेटिनमा रेटिनै पर्थ्यो । हरेक युगका स्पार्टाकस, राब्सपियरे र थमस पेनको अवस्था यही हुन्छ । इतिहासलाई अहिलेसंग जोडेर हेर्ने हो भने–नलडिएको युद्ध, प्रयोग नगरिएको हतियार र परिक्षण नगरिएको सामर्थ्यबाट बास्तविक शक्तिको अन्दाज हुदैन् ।’ जव मान्छेको आवश्यकता र विचार फेरिन्छ त्यसबेला उस्का बोली, संगत, अर्दश सवै बदिलन्छन नै । के त्यसवेला मौन थिँए त १३ वर्ष पहिलाको आफनै लेखको पुनर्पाठ अहिले आवश्यकता छ । ) चुनौतिका बीचमा नायक (तर प्रकाशितहुँदा ‘महानायकसंग’ विनम्र आग्रह) निराश जनतालाई तिमी आवेग पैदा गर्न सक्छौ, सपना देखाउँदै उत्तेजनामा ल्याउन पनि सक्छौ, विद्रोह भर्दै मानवीय चमत्कारले शक्ति ध्वस्त र नयाँश्रृजना पनि गर्नसक्छौ । तर, देखाईएका सपना, जगाईएका आकांक्षा, शंखनाद गरिएका आर्दश र प्रतिवद्धतामा स्वयं तिमी खरो उत्र्रन सकेनौ भने समय घर्कंदैजाँदा निरर्थक सावित पनि हुँनेछौ । तर, ख्याल् गर– यदि सांच्चै नै तिमी पनि निरर्थक भयौ भने यूगले नै अर्को दुर्घटना व्यहोर्नु पर्ने हुन्छ-नेपाली सन्दर्भमा फेरी केहि समय गतिशीलतामा ब्रेक लाग्न सक्छ । विचारले जन्मेका भावनालाई असंख्य मानिसहरुले एकैचोटि जब सपनामा सजाउन थाल्छन् त्यसैले प्रलयकारी सामाजिक शक्ति जन्माइदिन्छ । भलै त्यो स्वप्नद्रष्टामा तिमीनै पहिलो हौला ! केहि छैन् । यदि त्यो स्वप्नभगं भयो भने र त्यसलाई ध्वस्त पारिरहँदा तिमी स्वयं पनि टुलुटुलु भएर मौन भइदियौ भने अरु त सडक पेटिमा द्रष्टा मात्रै बन्नेछन् तर, त्यो तिम्रो मात्र भाग्य लुटिएको हुनेछैन् तमाम स्वप्न द्रष्टाको लुटिनेछ् । घायल परिवेश जाग्नफेरि अर्को पर्खाइमा रहन पर्ने हुन्छ। लामो काल पनि कुर्न पर्न सक्छ ।थाकेको मानसिकता र थकाई मारेको सामाजिक आवेगलाई तताउन अरु स्वप्नद्रष्टा जन्मनु पर्छ ।नांगा सत्य-अत्यन्त तीता र टर्रा लाग्न सक्छन् । युगिन आवाज घन्काउदा जियोड्रानो व्रुनो मात्रै हैन, लखन थापा पनि बन्न सक्नु पर्छ, मान्छेले ।जान्न र थाहा पाँउनु कहिलेकाँहि ‘गल्ति’ हुन्छ भने समयपूर्व सत्य बोल्नु ‘अभिसाप’ पनि बन्छ। यदि त्यहि अभिसापको चक्रब्यूह तोडेनौं भने भलै तिमी सुन्दर गीत गाउन त नछोडौंला तर यथास्थितिका पहेरेदारहरुले शक्तिलाई टक्र्याएको सलामी अर्थ खोजिहालौंला भन्ने केहि छैन् । सुविधाका भाषा दुविधामा हुन्छन, शक्ति हत्याउनेहरु स्वयं शक्तिशालीहरुको सामुन्ने बिवेक बन्धक राखेर लम्पसार पर्छन् । त्यसैलाई फेरिएको अर्थ लगाउन थाल्यौ र त्यस्कै आडमा रहन र रमाउन थाल्यौं भने पत्तै नपाई चिप्लिएको कस्ले सम्झाइदेला ! तिम्रो महानता हजारौंको बलिदानको चिहानमा ठडिएको गौरवता हो ।आस्थाको धरहरा हो ।मुर्दाको भाषामा अझ तागत हुन्छ भन्ने कुरा ख्याल राखेनौं भने बुख्याँचाहरुको समालीमा रमेर इतिहासलाई गिज्याउँदै यसलाई ‘मुर्दाहरुका कथा’ त भन्न सकौला, उनिहरुकै भजन किर्तनमा रम्न सिकौंला पनि, तर श्रीमान् ! सफलता र असफलता, नायक र खलनायकको अत्यन्तै पातलो धर्कोको सिमाना हुन्छ भन्ने कुरा चाल नपाउन पनि नसकौंला है ! … विमतिका भावलाई भलै तिमी घुँडा टेकाउदै निषेध गर्न सकौला, आदेशमा दुनियाँ बदल्न पर्छ- हुकुम दिन सकौला तर, नयाँ यथार्तले पुरानो सत्यलाई बिस्थापित गर्ने कुरा पत्तो पाउन सकेनौ भने लम्पटहरुको स्मृतिको महानायक र काल्पनिक मस्तिमा अल्झन लाग्यौ भने महानताको धरहरामा आफै तिमी ओह्रालो लगाउनेमा दरिन सक्छौ है, पत्तै नपाँउन सक्छौ । राजामहाराजा गर्भे जर्नेल हुन्छन् तर नायक भने समय र समाजले मात्रै जन्माउँछ । सामाजिक जटिलताले पैदा गरेका समस्या र त्यसलाई हल गर्ने विधि पहिल्याउदै मौनता भित्रै शक्तिबोध गराउने र त्यसलाई वाणी दिने पहिलो मान्छे नै नायक दरिन्छ । नायक मालिक हैनन् सबैका अगुवा सामाजिक मित्रमात्र हुन् जसले बफादार सेवक नभई इमान्दार सहयात्रीको अपेक्षा गर्छ । यदि तिमी सत्यको पहिलो द्रष्टा र लागूकर्ताको अलौकिक गुणको धनीको जोखना गर्न थाल्छौ भने भलै धेरैका भाग्य विधाता त बनौला तर नायक बनेर हृदयमा राज गर्न भने सक्ने छैनौ । राजा महाराजाको शक्ति परम्परागत सेना हो । आधुनिक राजारजौटाको तागत कर्पोरेट धन दौलत हो । यी भोका पेटलाई जता पनि डो¥याउन सकिन्छ भन्ने मान्यता राख्छन् । न त उनीहरु हस्तक्षेपको भाषाले पैदा गरेको विद्रोही चेतको शक्ति र अण्डर करेन्ट नै थाहा पाउँछन् न त ख्याल नै गर्छन् । विद्रोहको संश्लेसित तागतको नाम हो – नयाँ यूगको नयाँ नायक । तर, तिमी यसै मर्मलाई वास्ता गर्दैनौं भने क्षणिक शक्तिशाली त दे¥यौउला तर विद्रोह कसैको आदेश भने कुरिरँहदैन र आफ्नो मालिक बन्ने लालपूर्जा पनि कसैलाई अर्पंदैन। जस्ले उस्लाई वास्ता गर्दैन ऊ पनि कसैलाई पर्खनेवाला छैन् र सोधखोज गर्ने वाला पनि छैन ।यहि हेक्का राख्न बिर्सिदैनन् नयाँ यूगका नयाँ नायकले । समय आउँछ जान्छ, कसैलाई मौका दिएर कुरेर बस्दैन् । यदि तिमी त्यही मौका चिन्दैनौ र तातेको फलाममा घन ठोक्न चुक्छौ भने न त तिमीलाई माया गरेर पर्खेर बस्छ न त विजय तिम्रो चरण चुम्ने धैर्य नै राख्छ । रात रहे अग्राख पलाउँछ ।सामान्य मान्छेले गरेका भूलहरु छम्य हुन्छन् तर ख्याल गर ! नायकले गरेका भूलको यूगले नै मूल्य चुकाउनु’ पर्ने हुन्छ । के अहिले त्यस्तै भईराखेको छैन र ! टेकोले ठडिएर अग्ला भएकाहरु, आर्शिवादबाट ठूले कहलिएकाहरु, तथास्तुले योग्य दरिएकाहरु न त यूगको परिभाषा लगाउनै सक्छन् न त त्यस चूनौतीको सामना गर्न नै । संयोगले महानतालाई स्वीकारेर अनुकूलताका बहादुरहरु, अवसर नपाउँदा आर्दशका लप्फाजी छाँट्नेहरु नै मौका पाउँनेवित्तिकै नाङ्गा हुने गर्छन् । खहरे हुन् …खहरे । भेल हुन् …तीनीहरु। खहरे या त सुक्छ या त नदीमै मिल्छ. वा विलाउँछ । तर जति बेलासम्म गड्गडाउँछ त्यसवेलासम्म उस्ले सत्यनाश मच्चाइसकेको भने हुन्छ । यदि त्यस्लाई नियाल्न सकेनौं भने सुन्निएर मोटाएको मान्न त सकौंला, तर ख्याल राख्… प्रतिकूलताका ती सहयोगी र सहयात्री भने नहुन सक्छन् । शक्तिशालीसँग जुका झैं टाँसिनेहरु शक्तिहीन हुँनेवित्तिकै बुलेटविहिन बन्दुक सोच्नेमा सबैभन्दाअगाडी हुन्छन् । भावनाले विषयमा प्रवेश गराउँछ । विषयवस्तु विचारमा फेरिँदै आवेग तयार भएपछि त्यो शक्तिमा फेरिन्छ । विचारले आवेग, उद्वेलन तवमात्र पाँउछ जव त्यो भावनात्मक हुन्छ । हार्दिकतापूर्ण भावनाले सहयोद्धा, सहयात्री, सहस्वप्नद्रष्टा जन्माउँछ ।जव भावनाहीन विचारलाई मात्र महत्व दिईन्छ तव विचारको स्वीकारोक्ति या त आदेश पालकको रुपमा हुन्छ या त नाफा र घाटाको रुपमा तौलिइन्छ ।तर ख्याल गर….. विचारको शास्त्रीय व्याख्या त महापण्डितहरुले पनि ‘सुन्दर’ तरिकाले गर्छन् तर जव त्यसलाई दृढतापूर्वक आत्मासात र कृयान्वयन भनेको भावानात्मक हार्दिकता स्वीकारेकाले मात्र गर्न सक्छन् भन्ने कूरा । चुनौतीलाई स्वीकार्नु, उपलब्धीको रक्षा गर्नु र संभावनाको खोजी गर्न हामफाल्नै पर्छ । ठूला कुरा पाउन अंशलाई छोड्नै पर्छ । तर ख्याल गर श्रीश्रीश्री कहिलेकाँही अंशले नै समग्रको निर्क्योल पनि गर्न सक्दछ । दायित्वको लडाईमा अस्तित्वको खोजी गर्नेलाई घृणा गर्नै पर्छ । के हाम्रो यूग त्यसकोलागी तयार छ ? पार्न प्रयात्न छ ? सम्झौता भनेको असहमति भित्रका सहमति मात्र हुन् तर सहमतिका नाममा पैदा हुने भ्रमलाई तोड्न सकिएन भने यसले जन्माउने इच्छा शक्तिको ह्रासलाई बुझ्न सकिएन भने ख्याल गर-घोषित लक्ष्य र संभावनाका अवसर गुम्न सक्दछन् । अहंकारले निषेध मनोविज्ञान जन्माउँदछ । समाज विज्ञानमा निषेध सोचले फाँसीबादको जन्म हुन्छ । आदेश दिने र आदेशपालकभन्दा तेस्रो पक्षको अस्तित्व अस्वीकार गर्छ । सोच्ने र श्रृजना गर्ने या त सुत्रमा आदेश दिन्छ या त प्रतिबन्ध लगाउँछ । नत्र विमतिका कित्तामा धकेलिदिन्छ। तर, ख्याल गर-सोचले आदेश कुरिरहँदैन् । हरेक नयाँ कुरालाई यथास्थितिको लागि अराजकता बन्ने गर्छ भने अभिव्यक्ति हुँदा आतंक बन्ने गर्छ।नयाँ युगका नयाँ नायक यथास्थितिको चक्रब्यूह तोड्दै निष्कर्ष उन्मुख अग्रगमनको पर्खाइ नेपाली समाजको आजको आशा, विश्वास र भरोसा हो । निराशा विरुद्ध जागृत आशावादको तिमीसँग विश्वास थियो । इतिहासलाई के तिमीले तिमीमाथिको विश्वास र भरोसाको जवाफ नदिईरहन उम्कन सकौला ? https://jyotinews.com/2020/11/20/history/?fbclid=IwAR0QZXTQnSJNY4-ihgrxwtC7qbvz1k_QCe1f9cvv5PwZAZdTLeQ857UpUH0#.X7hj6jtbP9c.facebook

पुस्तक संवाद

१. पुस्तक किन पढ्ने ? अध्ययनको महत्वबारे तपाईंंंको विचार के छ ? पुस्तक किन पढ्ने ? भन्ने प्रश्नको एक वाक्यमा सिधा उत्तर –मानव मस्तिकको क्षेत्रफल फैलाएर ज्ञान र सूचनामा वैश्विक पहुँँच बढाउदै नयाँ धारण निर्माण गर्दै नयाँ भूमिकामा जीवनलाई उतार्नु हो । पुस्तकले हामीलाई दर्बिलो चेतना, बौद्दिक स्तर र सास्कृतिक धरातल निर्माण गर्न पुराना चेत भत्ककाउदै नयाँ मान्छे बनाईरहेको हुन्छ । एउटा नेत्रहीनलाई आँखा र बहिरालाई कानको जति महत्व हुन्छ, त्यस्तै नवीन धारणा, नयाँ सोज बनाउन पुस्तकले चेतना र विचार अर्जाप्छ । आलोचनात्मक चेत पैदा गराँउछ । बनेका आस्थालाई परिक्षालिँदै जिज्ञासु पाठकले आफैँसंग प्रश्न गर्न थाल्छन् । चेतनाको विकास र विचारको छनोट ऊ बाँचेको परिवेश, सामाजिक संबन्ध, उत्पादनका साधन, श्रोत र स्वामित्वमा उसको उपस्थिति कहाँ हुन्छ ? त्यसले निर्धारण गर्छ । जव ऊ नयाँ विषयको अध्ययन गर्न थाल्छ तव नयाँ ज्ञान, नया सूचना, नयाँ दर्शनको क्षेत्रमा प्रवेश गर्छ । ऊभित्र एउटा नयाँ मान्छेको जन्म भैरहेको हुन्छ । दृष्टिमा दृष्टिकोण भरिन्छन् । त्यसले जव आफैँलाई समीक्षा गरिसक्छ तव पुराना आस्था, मान्यता र भूमिकाको संघांर काटन पुग्छ । नयाँ सोच, मान्यता, भूमिकाको सकृय हुँन जोखिम उठाउने आँट पैदा हुन्छ । अध्ययनले नयाँ समाज निमार्ण गर्ने, आविस्कार गर्ने र जोखिम उठाउने आत्माबल र इक्षाशक्ति दिन्छ । २. पुस्तकबिनाको जीवन कस्तो जीवन ? एउटा रोवोट (कृतिम मानव) जस्तो होला । जे त्यसमा फिट गरिएको हुन्छ, त्यसै अनुसार चल्ने । अथवा पुरानै आस्थाको मलामी जाँने र त्यसैको सती जाँने । सुन्दर र उन्नत जीवनको कल्पनै गर्न सकिँदैन् । एकधरी मान्छे भन्छन नी– जे भएको थियो, त्यो पनि टिक भएको थियो, जे भैरहेको छ, त्यो पनि ठिकै भैराछ, जे हुँनेछ त्यो पनि ठिकै हुँनेछ, त्यो पुस्तक बिनाको जिन्दगीको नजिर हो । यस्तालाई नयाँ विषयले टोक्छ, नयाँ विषय स्वीर्कान सक्दैन् तर परिस्थिति भने उस्को नियन्त्रणमा हुँदैन्, नयाँ विषय स्वीर्कान विवश बनाँउछ । ३. नेपाली समाजमा पठन संस्कृति कस्तो छ ? समाजको पठन संस्कृतिको स्तर घटदो छ । अझ दर्शन, विचार र गम्भीर साहित्यको क्षेत्रमा । जति राजनीतिक प्रतिवन्धीतकालमा पठन संस्कृति थियो, अहिले कम देख्छु । पहिला गम्भीर साहित्यका पुस्तक पसल राजधानी लगायत ठूलाबजार मात्रै हैन् सासाना बजारमा पनि देखिन्थे, अहिले ती देखिँदैनन् त्यसले पनि पठन सस्कृतिको अवस्था झल्काउछ । साहित्य र दर्शनका क्षेत्रमा सोभियत रुसको विघटनअघि अथवा चीनको पहिलाको अवस्थामा छयासछयास्ती सस्ता पुस्तक हुन्थे । भारतीय वाम सकृयतावादीहरुको पनि सस्तामूल्यका पुस्तक प्रकाशन गर्ने गर्थे । अर्कोतर्फ पुस्तकालय भनेको कुनै पनि सहर, वस्ती र समाजको गहना हुन्थ्यो । त्यसले सामान्यजनको ज्ञानमाथीको पहुँचलाई सहयोग गथ्र्यो । तर उपभोक्तावाद सामाजमा संस्कृति बन्दैजाँदा त्यो अवस्था अब रहेन । ज्ञान र सूचनाका गम्भीर पाठकहरुले त कसैगरी सो अभाव टारेका पनि छन । ४. तपाईंको पुस्तकालयमा सङ्गृहीत पुस्तकको सङ्ख्या कति होलान् ? काठमान्डुको डेरा बसाई र सराई पुस्तक संकलन ज्यादै समस्या पर्दो रहेछ । म आस्थाको एउटा अभियन्ता । भूमिगतहुँनुभन्दा पहिला नेपालगंजको जय दशरथ पुस्तकालयलाई आफूसंग रहेका पुस्तक दिएको थिँए । घरमा रहेको माहाभारत, रजनीस, बाइबल र कुरान जस्ता पुस्तक समेत पनि सेनाले लगेछ भने अरु के राख्थ्यो । फिर्ता हुँने कुरै रहेन् । संख्याकै रुपमा केलाई विज्ञापन गर्नु प¥यो र ! त्यपछिका धेरै पुस्तक नेपालगञ्जमै छन्, केही काठमान्डु डेरामा । ०६३ पछिका संग्रहित पुस्तकको एउटा हिस्सा राजनीतिक पुस्तकहरु छन् । जव लेखकहरु नै सो आर्दशमा नरहेकाले अव केही त्यस्ता पुस्तकप्रति घृणा जागेको छ । अब कवाडीलाइ दिने की तिनै लेखकलाई नै फिर्ता गर्न घरघर पु¥याउने पनि भा छ । नेपाली वा अन्यभाषका मनोयुद्दमै केन्द्रित साहित्य वा अन्य विधाका पुस्तक भने पाएजति संकलन गरेको छ । नवधनाढ्य एउटा तप्कामा किताव किनेर सजाउँने फेसन पनि बढेको देख्छु । ५. कुन कुन भाषामा लेखिएका पुस्तक अध्ययन गर्नुहुन्छ ? नेपाली र हिन्दी प्रमुख हुँन, गम्भीर खाले पुस्तकहरु अनुवादमा भर पर्नु पर्छ । अन्यभाषाको पहुँच फितलो छ । अहिले अनुवाद इन्टरनेटमै आफैँले गर्न पनि सजिलो भएको छ । चर्चामा आएका वा अन्य साथीले सिफारिस गरेका ट्रासलेट कीको सहयोगले पनि पढछु । ६. पुस्तकमा मासिक खर्च कति हुन्छ ? अहिले पढने तरिका फेरिएका छन् । बाहिरी मुलुकका पुस्तक र गम्भीर म्यागजीनहरु सकेसम्म इन्टरनेटमा पढछु । मेरो कमाईको सिमितता छ । तर कमाईको २५देखी ३० प्रतिशतसम्म खर्च गर्छु । भारत वा अन्य मुलुकमा रहेका मित्रहरुले उपहार पनि पुस्तकनै ल्याइदिनु हुन्छ । बरु नेपाल आउनु पहिला पुस्तकका नाम, लेखक र प्रकाशक सोध्नुहुन्छ । ७. अध्ययनका लागि समय व्यवस्थापन कसरी गर्नुहुन्छ ? मेरा जीवनर्चया पनि फेरिएका छन । अहिले अन्य कामबाट फुर्सदमा छु । स्तम्भ लेखनभन्दा अन्य समय खाली समय हो । विहानी पख चाँडै उठछु । नेटमा पढने कि पुस्तकमा पढने भनेर पढने लिस्ट छान्छु, । स्तम्भकार पनि भएकाले राष्ट्रिय वा अन्तराष्ट्रिय महत्वका सूचनाबाट अपडेट हुँनै प¥यो । नेपाली गम्भीर लेखकका बजार आएका पुस्तकले चर्चा पाएकै हुन्छ, । पढने समय विहान सवेरै वा दिँउसो खाना खाएपछि आरामपस्चात हो । अलिक रसिक मान्छे, रात्रीयाममा भने प्रायजसो अध्ययन हुँदैन् । ८. तपाईंको जीवनमा सबैभन्दा बढी प्रभाव परेका कुनै पाँच पुस्तकको नाम लिनुपर्दा ? सानैमा बाबाआमालाइ सुनाउनुपर्दा माहाभारत पढेको हुँ । तत्कालीन समयको वैद्दिक साहित्यले छोयो नै । म वैचारिक आन्दोलनमा प्रवेश गर्न पनि पहिलो त आफनै अवस्था, दोस्रो विश्वमा भएका हलचल र आन्दोलन र तेस्रो त पुस्तक नै हो । जहाँसम्म ५ पुस्तक भन्नु भयो त्यसमा पहिलो कोटीमा कम्युनिष्ट घोषणपत्र, हार्वड फास्टको आदी विद्रोही टम पेन, मेरी टयालरको भारतीय जेलो में पाँच साल, राहुल संंकृत्यायनको भागो नही दुनिया बदलो र भोल्गा से गंगा । नेपाली लेखकहरु पनि धेरै हुँनुहुन्छ । ९. हालै पढिरहेका पुस्तक ? नयन राज पाण्डेद्धारा जनयुद्दकालमा लेखिएको ‘निदाँए जगदम्मे कथा संग्रह फेरी पढदैछु भने पुस्तक लेखनमै कम्युनिष्ट आन्दोलन र किसान आन्दोलनका सन्र्दभ सामाग्री पनि पढदैछु । पढन छुटयाएका सामाग्रीमा मनोयुद्दका सामाग्री हुँन भने भर्खरै जापाटिष्टा मोभमेन्टका जान हालवेको चित्कार सकेँ । १०. कस्तो खालका पुस्तक बजारमा उपलब्ध भइदिए हुन्थ्यो जस्तो लाग्छ ? जुन पुस्तकले पाठकलाई विज्ञानको नजरबाट जीवन र जगतलाई हेर्न, बुझन प्रेरित गरोस् सामाजिक परिवर्तनमा रमिते र तमासे मात्रै नबनाएर भूमिकामै उतारोस् त्यस्तो पुस्तक पाइयोस् । मानवसभ्यताको विकाशक्रममा ज्ञानका क्षेत्रफल फैलाउन मद्दत गरोस् । पाठकमा आलोचनात्मक चेत भरोस भने सामाजिक दायित्व वोध गराओस् भन्ने साहित्य, विचार र इतिहासका पुस्तक देखियून भन्ने चाहाना हुन्छ । हामी विश्वमा भैरहेका हलचललाई गम्भीर साहित्य, दर्शन, अर्थतन्त्र र विज्ञानका विविध क्षेत्रका अनुवाद साहित्य पनि हुँन भन्ने लाग्छ । एकातर्फ इतिहास र विज्ञान पढने अर्कातर्फ विज्ञाननै विरोधी आचरणका नपुंगसक पाठक बनाउने पुस्तकलाई भने घृणा गर्छु । तर, के गर्नु हुन्छ ? बजारलाई उपभोक्ता चाहिएको छ, त्यसै अनुकूलको ग्राहक चाएिको छ । धेरै ग्राहक गम्भीर पुस्तकबाट गुज्रिन चाहाँदैनन् भने अध्ययन गर्न प्रोत्साहन गर्ने संगठित शक्ति पनि कमजोर छ । जिज्ञाशालाई पनि उपभोक्तावादी संस्कृतिले पचाउदै गएको छ नी । (आजको ंश्लेषण् वर्ष २ अंक ९ २०७७मा प्रकाशित)