माओवादी एकताका अन्तरनिहित प्रश्न
२०७१ चैत्र ५ बिहीवार
अहिले शान्ति र
सहमतिको विमति यात्रा थालिएको मात्रै हैन,
कांग्रेस/एमालेको बुई चढेको सत्ताले
समग्र शान्ति प्रक्रिया बिथोल्न
शान्ति-सम्झौता उल्ट्याउने अभियानमा
जुटेको छ।
त्यसैको प्रतिकारमा
एकातर्फ अर्को चरणको माओवादी आन्दोलन घोषणा भएको छ भने एकता अभियान पनि
त्यत्तिकै चलेको छ। तर माओवादी एकता प्रसंगका अन्तरनिहित अनेकौं प्रश्न भने
रूपान्तरणसँग जोडिएका छन्।
दृष्टिकोण, आदर्शले निर्देशन
गरेको पार्टी आचरण र जीवन व्यवहारसँग जोडिएका छन्। फर्केर हेरौं, तामझामसहित
जनयुद्धबाट शान्तियुद्धमा माओवादी प्रवेश
गर्यो। 'शान्तिकालको' प्रथम प्रहरमै पंक्तिकारको भेरी/कर्णालीका माओवादी सभासद् कम्युन क्वाटर आश्रयस्थल थियो।
उनीहरूसामु फेरिएको
सन्दर्भमा जनयुद्धको मर्म, सपना, उद्देश्य, भावना, राजनीतिक मार्गचित्रलाई समग्र क्रान्तिको नयाँ 'आर्कका' नौला 'एसाल्ट' बनेर योद्धा हुनुपर्ने जिम्मेवारी थियो।
जनमुक्ति सेनाको
जिम्मा पाएका सभासद् र मूल नेतृत्वसामु चुनौती सामना गर्ने योग्यता, सक्षम र लाल एवं
निपुण हुनुपर्ने हुन्थ्यो। त्यही भूमिका र
आदर्शबाट नै जनयुद्धलाई आम जनताले
बुझ्थे।
सामूहिक भान्सा भए
पनि जनसंस्कृतिको सामूहिकपनामा घुनपुत्लो लाग्न थालिसकेको थियो। कैयन
सांसदले कम्युन प्रणाली सुरुमै स्वीकारेनन् कयौंले निजी चुलो तताउन थालिसकेका
थिए।
निजी चुलोमा निस्कने
पकुवानी बास्नाले भने बन्दकोठा छिचोलेर निजत्व सार्वजनिक
गरिदिन्थ्यो। केही दिनमै सांसद ड्रेस फुकाल्ने लहरै चल्यो।
त्यो पहिरण फेरिएको
मात्र थिएन, विचार र संस्कृति क्रमश: त्याग्ने श्रीगणेश पनि थियो।
वर्ग विभाजन सुरु भएर सामूहिकता आदर्शको विज्ञापनमा मात्र सीमित हुँदै
जाँदा निजी आकांक्षा आँगनले चुलोको अवस्था देखाए झैं माओवादी पार्टीकै
भविष्य पनि अगुवाका चरित्रमा झल्किन्थे। त्यो लक्षण आदर्श क्षयीकरणको एउटा
उदाहरण मात्र थियो।
खुला परिस्थितिमा
आउने बेला माओवादीमा कुनै निश्चित योजना र मूर्त कार्यक्रम नै थिएन, लथालिंग, भताभुंग थियो। अथवा
शान्तियुद्धको कुनै न मार्गचित्र थियो,
न तयारी,
न संगठात्मक व्यवस्थापन। एकाध नेताले जे
गरे पनि, ज भने पनि त्यही हुने अरू फुक्काफाल बेलगाम झै आफैं मैमत्त
अवस्था बन्यो।
वर्ग विभाजन र
क्रान्तिको क्षतिपूर्ति भाव बढेको र परिवारवाद औकातअनुसारका नेतृत्व पंक्तिमा
प्रस्ट देखिन्थे। त्यसैबेला हो 'धरहरा ढलिरहेको हेरिरहन
पनि नसकिने, काँध थापेर थेग्न पनि
नसकिने' आशयको मनोयुद्ध थालनी भइसकेको र माओवादी धरापमा फस्दै
गएको भन्ने एक लेखमा 'चुनौतीका बीचमा नायक'
आफ्ना विचार दर्ज गराएको।
पार्टीमा सांस्कृतिक
सामन्तवाद हाबी भएकाले विजातिले गरेका आक्रमण सहे पनि आफन्तका सकारात्मक आलोचना
सहने शक्ति थिएन।
माओवादी
हिजो र आज
माओवादी पार्टी
चिनियाँ नेता माओत्सेतुङको नाममा बनेको नेपाली कम्युनिस्ट पार्टी थियो र हो।
आन्दोलनलाई राजनीतिक परिवर्तनपछि पनि सांस्कृतिक परिवर्तन भएन भने
प्रतिक्रान्तिको खतरा रहिरहन्छ भनेर निरन्तर क्रान्तिको पक्षधर भन्ने
मान्यताको।
नेपाली सन्दर्भमा माओवादी हुनुको अर्थ सम्पूर्ण क्रान्ति
अर्थात् राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई मन, वचन र कर्मले स्वीकार्नु, लागिपर्नु र स्वयम् उदाहरण बन्नु हो।
लोककल्याणकारी
राजनीतिक व्यवस्था र राज्यको नीतिनिर्माण तहमा सबैको समान पहुँच र समान
अभिभावकत्व हुनु पनि हो। देशी वा विदेशी हरेकखाले उत्पीडनविरुद्धको-(वर्ण
र वर्ग) स्वाभिमानको संघर्ष नै जनयुद्ध वा
शान्तियुद्ध थियो।
कुनै राजनीतिक पार्टी
र व्यक्ति दर्शनअनुसारको राजनीतिक सिद्धान्त र सोहीअनुसार सपना
बनाउँछ र उद्देश्य, भूमिकालाई त्यसैले निर्धारण गर्छ भने रूपअनुसारको गुण हुन
जान्छ। नाम धारण गरेर मात्र कुनै पनि पार्टी आन्दोलन नरहे त्यो
टे्रडमार्कको रूपमा मात्र रहन पुग्छ।
पार्टी, नेतृत्व
र मनोयुद्ध
नेपालमा भएको
कम्युनिस्ट आन्दोलनको नयाँ उपलब्धिले संसारै चकित बनाएको थियो भने त्यसलाई
ध्वस्त गर्नु कम्युनिस्ट विरोधीलाई अत्यावश्यक थियो।
कम्युनिस्टहरूले सधैं
सत्ताको प्रश्नलाई शुद्धताका नामले या पर सार्थे वा लड्दा-लड्दै सकिन्थे।
तर नेपाली माओवादीले विद्रोहबाट आए पनि सत्ताको प्रश्नलाई अहं बनाएको
थियो भने पुरानै तरिकाले नयाँ चुनौती सामना गर्न पनि सकिँदैनथ्यो। त्यसैले
माओवादीलाई ध्वस्त पनि पुरानै तरिकाले सम्भव थिएन।
जबसम्म सामाजिक अपिल
गर्न सक्ने नैतिक पुँजी नेतृत्वपंक्तिमा रहिरहन्छ तबसम्म विचारले सपना
देखाएर शक्तिमा फेरिँदै सामाजिक तागत राजनीतिक आन्दोलन बनिरहन्छ। त्यस्ता
बेलामा मूल नेतृत्वमाथि दुईतर्फबाट आक्रमण हुन्छन्।
पहिलो उसैलाई विजातीय
संगत घालमेल, सांस्कृतिक आचरणमा निजी एवं विलासिताप्रतिको मोह
जागृत गराउनु हुन्छ भने त्यही अंशमा टेकेर समग्रमा आक्रमण गर्नु दोस्रो
पाटो बन्छ।
दुवै तरिकाले
नेतृत्वमा गरिने आक्रमणले आन्दोलनको मर्ममै प्रहार भएर क्रान्तिको उद्देश्य
नै गलत थियो भन्ने तर्क कोरलिन थालिन्छ। त्यसैअनुरूप कुशल मिडिया
मेनेजमेन्ट गरेर आम जनमतमा घृणास्पद सामूहिक विवेक तयार गरिन्छ भने कार्यकर्ता र शुभचिन्तकमा भ्रम र आशंका तयार पार्दै आक्रोश
भरिन्छ।
त्यसका कच्चा सामग्री
पार्टीभित्रै धुन्धुकारी शक्ति जन्माउनु,
विजातीय तत्त्वको घूसपैठ गराउनु, भोगविलास र
परिवारवादमा नेतृत्वलाई फसाउन
माओवादीमा पनि आवश्यकता पथ्र्यो। समग्र
पार्टीमा क्रान्तिको क्षतिपूर्ति
भाव जन्माउनु पर्दथ्यो।
तबमात्र दोष अर्कालाई
देखाएर आफू पानीमाथिको ओभानु देखिने फुटका बेला बहाना मिल्छ भने
जिम्मेवारी नलिई श्रेयको हकदार दाबी पनि गरिरहने मौका मिल्छ।
स्वार्थका ग्रन्थि
रसाएपछि आदर्श छुमन्तर भएर अल्पिन्छन् भने अरूलाई जबसम्म भ्रष्ट पार्न
सकिँदैन तबसम्म न आफ्नो भ्रष्टताको औचित्य साबित गर्न सकिन्छ न त्यसको
राजनीतिक संरक्षण नै हुन सक्छ भन्ने कुरा खुसुक्क छिराइयो र भाइरस झैं माओवादीमा
फैलाइयो। विद्रोहका आदर्शको पुँजीकरण हुन नसक्नु नै जनयुद्ध छिचोले पनि
मनोयुद्ध छिचल्न नसक्नाका कारण बने।
फेरिएको
वर्ग संघर्षको रूप
वर्ग संघर्ष अति
निर्मम हुन्छ। प्रत्यक्ष द्वन्द्वकालभन्दा पनि शान्तियुद्धमा शासक
वर्गको एकातर्फ कलामय वीभत्सतापूर्ण खेल खेल्छन्। पुँजी, प्रविधि, कला र मिडियाको
लगनगाँठो कसिएपछि सामूहिक विवेकमाथि
नियन्त्रण मात्रै हैन, खेलबाड पनि सुरु
हुन्छ।
विचारहीन राजनीतिक
अभ्यासले गम्भीर कुरा सोच्न वा कार्य,
कारण र परिणाम खोतल्न दिँदैन।
महत्त्वाकांक्षा, असन्तोष र आग्रह फैलाएर मूल कुरालाई अन्यन्त्र मोडिन्छ।
वर्ग संघर्षको शाश्वत
नियम भनेकै 'सर्पले माया गरेर म्वाई खाए पनि विषै लाग्ने, रिसाएर डसे पनि विषै
लाग्ने' भन्ने कुरा फेरिएका सन्दर्भमा माओवादीले पनि बुझ्न
चाहेन, सकेन।
समाज फेर्न गएकाहरू
कयौं प्राणी आफैं फेरिए र वर्ग रूपान्तरण भए। संक्रमणकालमा
दुस्मनको धरापमा त माओवादी फस्यो, फुट्यो नै, आफैंले ती
धरापका सामग्री पनि दुस्मनलाई जोगाड
गरिदियो।
'तिमी तिम्रो तरिकाले लड,
हामी हाम्रो तरिकाले लड्छौं, भिड्छौं' भन्ने गुरुमन्त्र बिर्सन जाँदा माओवादी भूमिका र चरित्र पनि विजातीय
बन्न पुग्यो।
एकता
अभियानमा माओवादी
समस्याको मुसलधारे
झरी नै परेपछि, टुटफुट र भद्दा गाली रित्तिएपछि मात्र माओवादीमा अहिले फेरि
एकता अभियानका चेत खुलेका छन्। यो एकता हो कि पुनर्गठन हो? कुम जोडिएर मित लगाउन
त सकिन्छ, कुटेको पार्टी,
एकता गर्न गाह्रो पर्छ।
त्यससँग जोडिएका पक्ष
र विपक्षमा अनेकौं प्रश्न, तर्क र जिज्ञासा उठ्छन्। हरेक पार्टी एकता वा
पुनर्गठित हुनु त औधी राम्रो कुरा हो,
तर एकीकरण भावनाको कुरा वा
दुस्मनले पैदा गरेको बाध्यताको निकास मात्र बन्दैन।
एकता
र संघर्ष कहिल्यै पनि
निरपेक्ष वा भावनामा बगेर मात्र हुँदैन।
संघर्ष गर्दा कहिल्यै एकता पनि
गर्नुपर्छ भनेर नसोच्नु, एकता
गर्ने नाममा विगतमा शत्रुतापूर्ण संघर्षले आन्दोलनमा
भएका घाटा बिर्सनु भनेको इतिहासले दिने शिक्षा बिर्सनु हो।
यसले अनेकौं प्रश्नको
उत्तर खोज्छ नै। एकता किन र केका लागि?
पुनर्गठनको धरातल के हो र कुन
आवश्यकताले भएको हो? किन पहिला फुट्यो?
फुट्ने बेलाका विचार, चरित्र, कार्यक्रम, मान्यतामा अहिले
सच्याइए वा फेरबदल भए? जुन-जुन कारण देखाएर विभाजन भएका थिए, ती अब सुधार वा रूपान्तरण, आत्मसातीकरण भएकै हो त !
एकता र संघर्ष
कहिल्यै पनि निरपेक्ष वा भावनामा बगेर मात्र हुँदैन। संघर्ष गर्दा कहिल्यै
एकता पनि गर्नुपर्छ भनेर नसोच्नु, एकता गर्ने नाममा
विगतमा शत्रुतापूर्ण संघर्षले आन्दोलनमा
भएका घाटा बिर्सनु भनेको इतिहासले
दिने शिक्षा बिर्सनु हो।
एकता प्रिय शब्द हो
भने फुट र संघर्ष प्रिय विषय त हैन नै। तर अप्रिय भए पनि किन पार्टीहरूमा
चिरा पर्छन् त? एकताले सकारात्मक परिणाम ल्याएमा क्रान्तिकारी
पंक्तिमा फेरि एकपटक उत्साह त जगाउनेछ,
तर भत्किएका विश्वास फेरि पलाउन भने चानचुने परीक्षा दिएर पुग्दैन।
अहिले एजेन्डा
अपहरणमा परेका छन्, क्रान्ति अपहरणमा परेको छ। टाउको जोडेर वा स्वार्थमिलाप
एकताले मात्र शक्ति आर्जन गर्न सक्दैन,
गरे पनि आशंका छिचल्न नसक्ने हुँदा
रक्षा हुँदैन।
के माओवादीभित्र
आफ्ना सीमा, समस्या र कमजोरी चिन्ने आत्मबल बढेको छ त? के त्यसका लागि अब
नेतृत्वपंक्ति बल्दो आगोको भुंग्रोमा खल्ली खान तयार छ भन्ने पनि हुन जान्छ।
माओवादी एकीकृत भएर मात्रै पुग्दैन,
शुद्धीकृत पनि हुनुपर्छ।
त्यो शुद्धीकरण भनेको
विचारले दिशानिर्देश गरेको संस्कृति र राजनीतिक आचरण अर्थात्
रूपान्तरण हो। रूपान्तरण कसैको न निर्देशन हो,
न नाटक,
आत्मस्वीकारको जीवन व्यवहार हो।
व्यवहार जहिले पनि
दृष्टिकोण र नीतिको अधीनस्थ हुन्छ। एकताको भावनाका गफ चलिरहँदा रूपान्तरण
ओझेल पर्छ भने त्यो एकता कुनै अर्थ रहने छैन।
- See more at:
http://annapurnapost.com/News.aspx/story/8985#sthash.TKpJwYSK.dpuf