जातका नाममा ‘हत्या’ कहिलेसम्म ?
वि.सं २०७८ कार्तिक १४ आइतबार Sunday, 31 October, 2021 पञ्चायती कालमा चितवनलाई ७६औँ जिल्ला भनिन्थ्यो । राजनीतिक चेतना, यातायातको सुविधा, परिवर्तनवादी मानसिकता, सत्ताप्रतिरोधी भूमिका, शिक्षामा पहुँचका कारण चितवन देशैभर नयाँ चेतको नमुना बन्यो । कांग्रेस र वामपन्थी विचार र सिद्धान्तमा प्रतिबद्ध र जुझारु हुन्थे । दुवैलाई आपसमा भिडाउन सत्ता सक्रिय हुन्थ्यो । ‘उच्च कुलका’ वामपन्थी पनि रूपलाल विश्वकर्मालाई (माने) नेता मान्थे, भान्सा चढाउँथे । आज त्यही चितवनमा वर्चस्वशाली तप्काबाट दलित भीमबहादुर विश्वकर्माको हत्या भयो । हत्यासँगै अनेकौँ तर्क उडिरहेका छन् । विषयलाई बुझेर धारणा बनाउन तथ्य र तर्कभन्दा अहिले आस्थाले धेरै काम गर्दै छ । परिणामलाई हेरेर मात्र घटनालाई कारण नहेरी अथ्र्याउन थालिँँदै छ । ‘दारु पिएका थिए, अलि मनलाग्दी बोले, सम्झाएको मानेनन्, गालामा चड्कन दिएको, पुर्लुक्कै ढले, मरेछन् । हिर्काउनेहरू असाध्य भलादमी र असल मान्छे हुन् । उनीहरूले नै अस्पताल लगे’ यस्ता कुरा आउँदै छन् । सहज तरिकाले नियाल्दा घटना सामान्यजस्तो लागेर मृतक नै दोषी देखिन सक्छ । तर, विषय त्यस्तो होइन । जति घुमाउन खोजे पनि घटना जातकै कारण भएको हो । दलित निषेधित मन्दिरमा विकले बोको चढाउन पाउनुपर्ने माग गर्दै आएका थिए । त्यस दिन पनि जवाफ नकारात्मक आएपछि ‘ठूला’ जातलाई गाली गर्दै हिँडे । ‘सानो जात’ले ‘ठूलो पल्टेर’ चुनौती दिएको उनीहरूलाई सहिनसक्नु भयो । दलित उत्पीडनमा अन्यन्त्रका घटनालाई जसरी सरलीकरण गर्न खोजियो, चितवन घटनाको नियति पनि त्यस्तै हुँदै छ । दलित स्वाभिमान र अपाच्यता : भीम विश्वकर्माले ‘विष्टकुल’सँग झगडा गर्नुका कारण के थिए त ? एकाबिहानै उनलाई कुन तत्वले गाली गर्न उकास्यो ? ‘भीमेहरू’ किन रक्सी खाएर ‘विष्टहरू’लाई गाली गर्छन् ? किन ‘भीमेहरू’ धर्म फेर्छन् ? किन ‘विष्ट’विरुद्ध बोल्ने आँट आएको छ ? किन मन्दिर पस्न खोज्छन् ? किन छोराछोरी पढाउँछन् ? किन हाकिम बन्छन् ? किन यिनीहरूलाई आरक्षण दिने ? किन खलो सोहर्न र सिनु उठाउन ‘भीमेहरू’ अब आउँदैनन् ? यी प्रश्नको उत्तर नखोजी भीमबहादुर विश्वकर्माको हत्याका कारण बुझ्न सकिँदैन । अझ ‘भद्र समाजको’ तर्कभित्रका आशय बुझ्न झनै सकिँदैन । व्यवस्था फेरियो, शासनको चित्र फेरिए पनि सत्ताको चरित्र फेरिएन । १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गर्यो, तर दलितका हत्या, बलात्कार र उत्पीडनका घटना भने घटेनन् । घटनाको लामो सूची छ, तर न्यायिक उपचार, अपराधीलाई दण्ड र जागरुक समाजको सक्रियता भने अत्यन्तै कम छ । वर्चस्वशाली तप्का घटनालाई अत्यन्तै सरल तरिकाले व्याख्या गर्छ र पीडककै पक्षमा तर्क कोरल्दै जनमत तयार गर्छ । जब वर्चस्वशाली तप्काको मर्ममा धक्का लाग्छ, तब मृतक नै अपराधी ठहरिन्छ । हरेक भीमबहादुरको हत्या रक्सीले गर्छ । उसले टाउको उठाएर बोल्नु अपराध बन्छ । मान्छेको हत्या सामान्य कुटपिट र भवितव्यमा फेरिन्छ। कानुन पास भएपछि पनि जातका आधारमा गरिने विभेदमा १९ जनाले ज्यान गुमाए । कुटपिटको त संख्या गन्नै सकिन्न । मुसहर पुरुषोत्तम सदा २४ असोजमा पिटाइबाट गम्भीर घाइते भए, भीम विश्वकर्मा बन्न भने परेन । कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण त कोहीले पानी र चुलो छोएको निहुँमा, कोही मन्दिर पसेका कारण हत्या भए । तर, हरेक घटनालाई भेदभाव नभई या त सामान्य अपराध अथवा पीडितलाई नै आफ्नो हत्याको दोषी बनाउने गरिएको छ । जातीय विभेदलाई दण्डित गर्ने कानुन बने पनि प्रहरीले यस्ता उजुरी दर्ता नै गर्न अस्वीकार गर्दै आएको छ भने अदालतमा आवाज कमजोर हुने र आरोपीको पहुँच बलियो हुने हुनाले मिलापत्रमा मुद्दा टुंग्याउने गरिएको छ । मुद्दा चलाइहाले पनि प्रमाण कमजोर बनाउने गरिएको छ । त्यसैले प्रहरीबाट अदालतसम्म पुगे पनि अधिकांश मुद्दामा पीडकले सफाइ पाउँदै आएका छन् । जनयुद्धको पश्चिमको केन्द्र, कालिकोटमा कुनैवेला छुवाछुतको सुइँकोसम्म सुन्न पाइँदैनथ्यो, त्यही नरहरिनाथ–९ की जनप्रतिनिधि मना सार्कीको फेरिएको अवस्थामा धारो छोएको ‘अपराध’मा हत्या भयो । भेरीमा चिच्याइरहेका नवराज विकहरूको कथाव्यथा पुरानो भएको छैन । गन्दै जाँदा यस्तो सूची कति छन् कति ! सांस्कृतिक निरन्तरता र वर्चस्वशाली अहंकार : हरेक उत्पीडन, हत्या र बलत्कारलाई शक्तिशाली तप्काले हल्का तरिकाले, अथवा समान्यीकरण गर्न चाह्यो भने दलित आन्दोलन र नागरिक समाजले पनि विषयको मूल कारण खोतल्न चाहेनन् । अझ राजनीतिक क्षेत्र र समाजशास्त्रीको बहसको विषय नै बनेन । कारणलाई भन्दा पनि मिडियाले वर्चस्वशाली प्रतिनिधित्वका कारण घटनालाई सतही रूपमा लियो । दलित मुक्तिका नाममा धेरै संगठन बनेका छन्, तर तिनको पनि मूल संगठनको राजनीतिक सोचभन्दा फरक हुन सकेन । विषयलाई गम्भीर तरिकाले उठाउने बौद्धिक समाजको अभाव स्पष्ट देखिन्छ । जसले गम्भीर तरिकाले उठाउन चाहन्छन्, त्यसलई वर्चस्वशाली तप्का युरो, डलर, ख्रिस्तानीका अरोपमा खेद्छन् । तर, एनजिओवादीलाई यस्ता विषय राम्रै उद्यम बनेका हुन्छन् । दाम्लोले बाँधिएपछि ‘स्पष्टवादीहरू’ पनि सेल्फ सेन्सरसिपमा हुन्छन् । लोकप्रियतावादीहरू भिड र दाताले के भन्लान् भनेर, पार्टी ‘कायकर्ता’हरू नेताले के भन्लान् भनेर अदृश्य दाम्लामा बाँधिएका हुँदा सामान्यजनले थाहा पाउने भनेको उनीहरूको निर्णय लिने, देखिने र उभिने वेलामा मात्र हो । हाम्रो समाज अझै पनि अन्धविश्वासमा छ, विभेदको संस्कृति मान्छ । ती मनस्थिति तोड्न कानुन बनाएर मात्रै पुग्दैन । समाजको सोच बदल्नु जरुरी हुन्छ । वर्चस्वशाली समूहले नबुझेका विषय : क) मनुस्मृतिले हाम्रो दिमागको हार्डवेयरमा उँच–नीच जाति भनेर जबर्जस्ती लादिदिएको छ । तब उच्च जातिले दलितलाई हेप्नु, दबाउनु, बलात्कार गर्नुमा विशेष अधिकार ठान्छ भने सामान्य प्रतिकार पनि हत्यामा फेरिन्छ । ख) दलित,उत्पीडित समूहमा आएको चेतना र प्रतिरोधी भावना, आर्थिक सम्पन्नता, शिक्षा र सूचनामा पहुँच, स्वाभिमानको अवस्था ‘विष्टकुल’ बुझ्नै सक्दैन । वर्चस्वशाली तप्कामा रहेको अहंकारले नयाँ झडप निम्त्याएको हो । ग) पहिला हत्या, बलात्कार, उत्पीडन, दबाइन्थे । आवाज पाउँदैनथ्यो, आन्दोलन बन्न पाउँदैनथ्यो । अझ बलात्कारका घटना त पारिवारिक इज्जतसँग जोडिन्थे । अब हातहातमा मोबाइल र भिडियोको सुविधाले घटना तुरुन्त सार्वजनिक हुन थाले । मिडिया शक्ति र सत्ताको नियन्त्रणबाहिर पुग्यो । घ) दलित चेतना र क्षमता बढेसँगै सत्ता वर्चस्वशालीकै नियन्त्रणमा रहे पनि जनदबाब थेग्न नसक्ने अवस्था पुग्यो । ङ) वर्चस्वशाली समूहभित्रकै उदार र क्रान्तिकारी तप्काले उल्पीडित र दलित आन्दोलनमा साहानुभूति मात्रै होइन, प्रत्यक्ष संर्घषमा सहभागी हुन थाले । यसले हिम्मत, संघर्ष, सहनशीलता र सरोकारको जनपक्षीय नयाँ तर्क निर्माण भए । दलित आत्मबल : बेलायतको रडिङ विश्वविद्यालयबाट द्वन्द्वमा विध्यावारिधि गरेका डा. हरि तिमल्सिना भन्छन्– माओवादी जनयुद्धले सामाजिक हस्तक्षेप गरी महिला, दलित, जनजाति, सबैमा चेतना मात्रै होइन, प्रतिरोधी भाव, पहिचान र स्वभिमान पनि जगाइदियो । हरेक मानिसका सुषुप्त र जागृत चेतना हुन्छन्, सुषुप्त चेतनाले जागृत रूप लिएपछि त्यो स्वाभिमानमा व्यक्तिन्छ । त्यसपछि कारण खोज्न थाल्छ । ती कारण धर्म,समाज,राजनीति वा आर्थिक अवस्थामा खोजिन्छन् । खोजेपछि जे पनि पाइन्छ । अर्काेतर्फ ज्ञान र सूचनाको क्षेत्रफल फैलिँदा भारतमा भएका दलित आन्दोलनका महान् पुरुष रामास्वामी पेरियार, संविधान निर्माता अम्बेडकर, काशीरामजस्ताको प्रेरणाले थप यहाँ पनि आत्मबल बढेर मनुवादको समाजमा पारेको असर र त्यसलाई वर्चस्वशाली तप्काले सहन नगरेको उनको ठम्याइ छ । दलित मुक्ति र स्वाभिमान कायम गर्ने उपायमा दैलेखका विनोद नेपालीको विचारमा दलितले शिक्षामा पहुँच र आर्थिक उन्नतिमै जोड दिएर समाजमा स्थान बनाउनुपर्ने हुन्छ । त्यसका लागि दलित समुदायबाट विशिष्ट स्थानमा पुगेकाहरू प्रेरणाका स्रोत बन्न सक्छन् भने ‘मानव’ बनेका ‘विष्टकुल’काले पनि उत्प्रेरणा र अभिभावकत्व दिन सक्छन् । तर, त्यहाँ दया नभई वर्षौंदेखि पुर्खाले गरेका अपराधको क्षतिपूर्ति भाव भने हुन आवश्यक हुन्छ । अहिले दलित दया नभई अधिकारका लागि प्रेरणा, उत्प्रेरक र अभिभावकत्व खोजिरहेका छन् । तराई मधेसका दलित अभियन्ता एव स्तम्भकार राजेश विद्रोही पनि दलितको पीडा पहाड, मधेस सबैतिर एकैनासे हो, त्यो सांस्कृतिक उच्चताबोध र हीनताबोधको सोचमा आधारित छ भन्छन् । अन्तमा, जहाँतहीँ दलित उत्पीडन र हत्या हेपेरै गरेको देखिन्छ । त्यो सामाजिक उत्पीडक र उत्पीडित वर्गबीचको दोहोरो मनोवैज्ञानिक द्वन्द्वका रूपमा देखिएको छ । जब स्वाभिमान आन्दोलन बनेर कुर्लन्छ, तब मर्यादाका बाँध भत्कन्छन् । मरेका भीमले बाँचेका भीमलाई प्रश्न छोडे– अब अर्को पालो कहाँको, कुन भीमबहादुरको हो ?’ भीम जातिकै कारणले हत्या हुनेको पछिल्ला कडी हुन् ! पाखण्डी समाजमा हितअनुसार सुविधाका तर्क हुन्छन् । जब वर्चस्वशाली तप्काको मर्ममा धक्का लाग्छ, तब मृतक नै अपराधी ठहरिन्छ । हरेक भीमबहादुरको हत्या रक्सीले गर्छ । उसले टाउको उठाएर बोल्नु अपराध बन्छ । मान्छेको हत्या सामान्य कुटपिट र भवितव्यमा फेरिन्छ । आरोपीका दयाका कथ्य प्रचार गरिन्छन् । त्यसलाई सत्ताका हरेक अंग मिडिया, पुलिस, न्याय र भद्रभलादमीको एउटा सिन्डिकेट तयार भएर हत्यालाई मृत्युमा फेर्ने तर्क गढिन्छन् । तर, एउटै घटनाले धेरैलाई निर्वस्त्र गरिदिन्छ । हाम्रो समाजमा आज पनि जातीय विभेद छँदै छ । तर, जातीय कारणले त्यो घटना भएको होइन भने त्यसलाई जे हो, त्यही रूपमा बुझ्ने इमान र हिम्मत हुनुपर्छ । परिणामलाई हेरेर मात्र सत्यमा पुग्न सकिँदैन । त्यसका पृष्ठभूमि कारक पक्ष हुन्छन् । दलित मन्दिर पस्न पाउनुर्पछ भन्दा किन मारिन्छन् ? बनाउँदा शिल्पी चाहिने उसैले पूजा गर्न खोज्दा मारिनुपर्ने किन हुन्छ ?